एनसेलको सापटी योजनामा करोडौं ठगिँदै

४० रुपैयाँ सापटी लिँदा दुई रुपैयाँ ब्याज लिनुपर्नेमा चार रुपैयाँ लिने गरेको उपभोक्ताको अाराेप छ । यसरी सापटीको नाममा एनसेलले लिने चार रुपैयाँका दरले दैनिक लाखौँ ग्राहकबाट करोडौँ वैधानिक रूपमा ठगी गरिरहेको दाबी उपभोक्ताको छ ।

एनसेलले सापटी योजना भन्दै करोडौं नेपालीलाई ठग्ने गरेको पाइएको छ । आपातकालीन अवस्थामा दिइने सापटीमा अनियमितता भएको सेवाग्राहीहरुको गुनासो छ । ४० रुपैयाँ सापटी लिँदा दुई रुपैयाँ ब्याज लिनुपर्नेमा चार रुपैयाँ लिने गरेको उपभोक्ताको अाराेप छ । यसरी सापटीको नाममा एनसेलले लिने चार रुपैयाँका दरले दैनिक लाखौँ ग्राहकबाट करोडौँ वैधानिक रूपमा ठगी गरिरहेको दाबी उपभोक्ताको छ ।

एन्सेलले सापटी दिएबापत दुई रुपैयाँ ब्याज लिनु पर्ने दूरसञ्चार प्राधिकरणले जनाएको छ । तर, यसरी सापटी लिएका ग्राहकले पचास रुपैयाँको रिचार्ज गर्दा चार रुपैयाँ काटिएर ६ रुपैयाँ मात्र ब्यालेन्स रहने गरेको बताउँछन् । नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालका अनुसार सापटी दिएबापत दुई रुपैयाँ मात्र काट्नु पर्ने बताउँछन् । उनका अनुसार थप दुई रुपैयाँ काट्ने गरेको गुनासो आएकाले छानबिन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । प्राधिकरणका अनुसार नेपाल टेलिकमले यस्तो सापटी सेवा बिना ब्याज दिने गरेको छ ।

दूरसञ्चार प्राधिकरणको तथ्याङ्कमा एन्सेलका प्रयोगकर्ता एक करोड ४३ लाख छन् । यस तथ्याङ्कलाई नै आधार मान्ने हो भने करिब तीन करोेडभन्दा बढी रकम सापटीबापतको ब्याजबाट ठगी भएकाे देखिन्छ ।

गत केही हप्ता अगाडि दूरसञ्चार प्राधिकरणमा सिन्धुलीका वाईआर पौडेलले एन्सेलको सापटीको नाममा ठगी गरेको भन्दै उजुरी समेत दर्ता गराएका थिए । प्राधिकरणमा सापटी, अनलिमिटेड डाटा, तथा भ्वाइसप्याकमा अनियमितता भएको भन्दै महिनै पिच्छे उजुरी बढ्दै गएको प्राधिकरणले जनाएको छ ।

एनसेलको अनलिमिटेड इन्टरनेट डाटा तथा भ्वाइसप्याकमा पनि अनियमितता
नेपाल दूरसञ्चार प्राधिकरणमा भ्वाइसप्याक, निःशुल्क डाटाप्याक, लगायत विभिन्न अफरका नाममा ठगिएको सम्बन्धमा दर्जनौं उजुरी छन् । यस किसिमका उजुरी आउँदा पनि नियामक निकाय चुपचाप बसिरहेको गुनासो उपभोक्ताहरुको छ । प्राधिकरणमा उजुरी दिएको झन्डै दुई महिना बितिसक्दा पनि कुनै प्रतिक्रिया नपाएको जनसरकोकार केन्द्रका अध्यक्ष रामबहादुर गुरुङ बताउँछन् । एनसेलको दैनिक, त्रिदैनिक, साप्ताहिक, मासिक तथा रात्रिकालीनलगायतका डाटा अफरहरूमा ठगी भइरहेको उपभोक्ताको गुनासो बढ्दै गएको प्राधिकरणको भनाइ छ ।

एनसेल मार्फत विभिन्न सरकारी तथा गैरसरकारी निकायका टोलफ्री नम्बर तथा ट्राफिक इमर्जेन्सीमा कल नलाग्ने समस्या रहेको गुरुङको दाबी छ । सोही अनुरुप कारबाहीको माग गरेपनि उनको गुनासो अहिलेसम्म सुनुवाइ भएको छैन । यस्ता समस्या हिजो आज हरेक उपभोक्ताले भोग्ने गरेका छन् ।