अख्तियारले फाइल रोक्दा टेलिकमको फोरजी विस्तारमा ढिलाइ

राष्ट्रिय सभा सदस्यहरूले उठाएको प्रश्नमा जवाफ दिँदै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अख्तियारले फाइल रोक्दा प्रक्रिया दिनप्रतिदिन लामो हुँदै गएको बताएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल रोक्दा नेपाल टेलिकमको फोरजी विस्तारमा ढिलाइ भएको छ । राष्ट्रिय सभा सदस्यहरूले उठाएको प्रश्नमा जवाफ दिँदै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अख्तियारले फाइल रोक्दा प्रक्रिया दिनप्रतिदिन लामो हुँदै गएको बताएका हुन् ।

निजी क्षेत्रको सेवाप्रदायक एनसेलले देशका २८ सहरमा फोरजी सेवा विस्तार गरिसक्दा पनि सरकारी स्वामित्वको टेलिकम अहिले जम्मा २ सहरमा सिमित रहेको भन्दै सभामा सदस्यहरुले प्रश्न उठाएका थिए । मन्त्री बाँस्कोटाले अख्तियारले छानविनको नाममा टेन्डर प्रक्रिया नै रोकेर राख्दा समय झनै लम्बिँदै गएको बताए ।

टेलिकमले देशभर एकैपटक फोरजी विस्तार गर्न आव्हान भएको टेन्डर गएको पुसमा खोलिएको थियो। तर उक्त टेन्डरको मूल्याङ्कन प्रक्रिया रोकिएको छ । अख्तियारले फाइल लिएर रोकेपछि वैशाखमै टेन्डर अवार्ड गर्ने योजनामा रहेको टेलिकमले उक्त काम गर्न सकेको छैन ।