अभावमा अवसर देख्नेहरु

राजनीतिक अन्योल र सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको समयमा स्थापित भएको एउटा कम्पनी हो, आईएमई ग्रुप । सन् २००१ मा स्थापित आईएमई ग्रुप नेपालको सबैभन्दा तीव्र गतिमा अगाडि बढेको कम्पनी पनि हो । ग्रुपले आफ्ना मातहातका कम्पनीमा ११ अर्बभन्दा बढी लगानी गरेको छ । बलियो रुपमा स्थापित भएको अर्काे कम्पनी हो, प्रभु ग्रुप । बैङ्किङ र रेमिट्यान्समा आफूलाई स्थापित गरेपछि व्यापारलाई विविधीकरण गरेको ग्रुपले अहिले सूचनाप्रविधि, हवाई उड्डयन, इन्स्योरेन्स, ब्रोडकास्टिङ, अनलाइन पेमेन्ट, हाइड्रोपावरलगायत दुई दर्जन कम्पनी सञ्चालनमा ल्याएको छ ।

विगत तीन दशकको अवधिमा विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमको ‘डुइङ बिजनेस’को रिपोर्टले नेपालको स्थान ओरालो देखाइरह्यो । तीन दशक देशमा अन्योल र अप्ठ्यारो वातावरणमा बित्यो । यो अवधिमा ठूला राजनीतिक उतारचढाव, चरम लोडसेडिङ र माओवादी द्वन्द्वले देशका हरेक क्षेत्र थला परे । तर अभावमा पनि अवसर देख्ने केही त्यस्ता कम्पनी यही अवधिमा उदाए र स्थापितसमेत भए ।

व्यावसायिक वातावरणको ‘अवस्था’ जे–जस्तो भए पनि नेपालमा ‘फास्ट ग्रोइङ’ कम्पनीका रुपमा दर्जनभन्दा बढी कम्पनीले ‘कमाल’ देखाइरहेका छन् । अहिलेको त अवस्थै फरक छ । माओवादी मूलधारको राजनीतिमा आएर पटकपटक सरकार चलाइसक्यो, मजदुर आन्दोलन मत्थर जस्तै छ, लोडसेडिङ हट्यो, स्थिर सरकारको शासन छ । तर प्रतिकूल समयमा कम्पनीको सुरुआत गरेर प्रतिकूलतामै स्थापित भएका थुप्रै कम्पनीले नेपालमा व्यावसायिक वातावरणलाई जोगाइराखेको देखिन्छ ।

पहिलो पुस्ताले नै सम्हालेर नेपालमा स्थापित कम्पनीका रुपमा अगाडि लैजाने दर्जनभन्दा बढी कम्पनीले लगानीका लागि हरेक समय उचित हुन्छ भन्ने नजिर नै बनाए । नेपालबाहिर पनि थु्रपै नेपालीले व्यवसाय गरिरहेका छन्, जो पहिलो पुस्ताका रुपमा व्यवसायमा स्थापित छन् । तर, नेपालकै वातावरणमा पहिलो पुस्ताका रुपमा रहेर नयाँ अवधारणा तथा तीव्र गतिमा अगाडि बढ्ने केही त्यस्ता कम्पनीले नयाँ स्टार्टअप कम्पनीलाई पनि प्रेरणा दिइरहेका छन् ।

राजनीतिक अन्योल र सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको समयमा स्थापित भएको एउटा कम्पनी हो, आईएमई ग्रुप । सन् २००१ मा स्थापित आईएमई ग्रुप नेपालको सबैभन्दा तीव्र गतिमा अगाडि बढेको कम्पनी पनि हो । ग्रुपले आफ्ना मातहातका कम्पनीमा ११ अर्बभन्दा बढी लगानी गरेको छ । रेमिट्यान्स, बैङ्किङ, इन्स्योरेन्स, हाइड्रोपावर, अटोमोबाइल्स, पर्यटन, सञ्चार क्षेत्र, प्रविधिमा दुई दर्जन कम्पनी रहेको यो ग्रुपअन्तर्गत ४ हजार जनाले रोजगारी पाएका छन् ।

चन्द्र ढकाल र उनका भाइ हेमराज ढकालले सुरु गरेको व्यवसायमा उनीहरु नै पहिलो पुस्ता हुन् । कृषक परिवारका छोराले डेढ दशकमै नेपालको सबैभन्दा तीव्र गतिमा अगाडि बढेको कम्पनीलाई स्थापित बनाएका हुन् । ‘जागिरमा थिएँ, सामान्य व्यापार सुरु गर्न जागिर छोडेँ । त्यसपछि सन् २००१ मा नेपाल र मलेसियालाई लक्ष्य गरेर आईएमई रेमिट्यान्स सुरु गरेका हौं,’ ग्रुपका अध्यक्ष चन्द्र ढकालले भने । परिवारमा हाम्रो पुस्ताले नै बिजनेस सुरु गरेको हो, जति म लागेँ, त्यही बराबर भाइ पनि साथमा भएका कारण डेढ दशकमै ग्रुप यो अवस्थामा आएको हो ।’

कुनै पनि व्यवसाय सुरु गर्दा समयले भूमिका खेलिरहेको हुन्छ । समय हेरेर व्यवसाय गर्नेहरु स्थापित भएका छन् । उतारचढावमा पनि योजना बनाउने धेरै गु्रप अहिले नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगिरहेका छन् ।

यस्तै बलियो रुपमा स्थापित भएको अर्काे कम्पनी हो, प्रभु ग्रुप । बैङ्किङ र रेमिट्यान्समा आफूलाई स्थापित गरेपछि व्यापारलाई विविधीकरण गरेको ग्रुपले अहिले सूचनाप्रविधि, हवाई उड्डयन, इन्स्योरेन्स, ब्रोडकास्टिङ, अनलाइन पेमेन्ट, हाइड्रोपावरलगायत दुई दर्जन कम्पनी सञ्चालनमा ल्याएको छ । ग्रुपले विभिन्न क्षेत्रमा १० अर्ब लगानी गरिसकेको छ । ग्रुपको लगानी रहेका कम्पनीहरुमा ३ हजारभन्दा बढिले रोजगारी पाएका छन् ।

प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन हुन् । उनले पनि पारिवारिक विरासतबिनै आफ्नो व्यापारको साम्राज्यलाई फैलाइरहेका छन् । ‘खासमा मेरो पहिलो व्यवसाय इँटा उद्योग थियो,’ भट्टचनले क्यापिटलसँग भने । सन् १९९० देखि प्रभु ट्राभल खोलेपछि व्यापारमा अझ बढी सक्रिय भएका भट्टचनले सन् २००१ मा प्रभु फाइनान्स र २००२ मा रेमिट्यान्समा स्थापना गरे । रेमिट्यान्स व्यवसायमा संस्थागत रुपमा हात हालेपछि भट्टचनको व्यापारको स्वरुप अहिलेको अवस्थामा फैलिएको हो ।

‘व्यापार मैले पारिवारिक विरासतमा पाएको होइन, जे गरें, जति गरें, म आफैले दुःख गरेर स्थापित गरेँ,’ उनले भने । प्रभु रेमिट्यान्स संसारभर फैलिँदै गएको छ, नेपालको घरघरभित्र रेमिट्यान्सको हिस्सा बनेर पनि पसिरहेको छ । डिसहोममा समेत लगानी गरेका प्रभु ग्रुप नयाँ प्रविधिमा प्रभु टेलिभिजनमार्फत नयाँ अवधारणामा फेरि घरघरभित्र पस्दै छ ।

नेपालको एयरलाइन्स क्षेत्रको स्थापित र अग्रणी एयरलाइन्स हो, बुद्ध एयर । सन् १९९६ मा दर्ता भएर १९९७ को अक्टोबरमा उडान सुरु गरेको बुद्धले दुई दशकमै नेपालको उड्डयन क्षेत्रमा नयाँ आयाम थप्यो । एयरलाइन्स क्षेत्रमा पुराना कम्पनीहरु कमजोर बन्दै गएका बेला उदाएको बुद्ध एयरले आफ्नो व्यावसायिक उडानबाट क्रान्ति गर्न सफल भयो । बुद्ध एयरमा संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत भए पनि एयरलाइन्स चलाउने योजना र नेतृत्व उनका छोरा वीरेन्द्रबहादुर बस्नेतले गरेका छन् । सुरेन्द्रबहादुर लामो समयसम्म जागिरमा थिए । परिवारमा पहिलो पुस्ताको रुपमा व्यवसाय गरेका वीरेन्द्रबहादुरले बुद्ध एयरमार्फत नेपालका विभिन्न गन्तव्यसँगै भारतमा पनि यसलाई जोडिरहेका छन् । नेपालको उडड्यन व्यवसायमा ६० प्रतिशत बजार हिस्सा ओगटेको बुद्धसँग अहिले १० ओटा जहाज छन् ।

यती एयरलान्स पनि पहिलो पुस्ताका व्यवसायीले नेपालमा स्थापित गरेको कम्पनी हो । पर्यटन क्षेत्रमा रहेका लाक्पा सोनाम शेर्पा र आङछिरिङ शेर्पा दुई भाइले पर्यटन र उड्डयन व्यवसायमा आफूलाई स्थापित गरेका छन् । सन् १९९८ मा स्थापना भएको यती नेपालको दोस्रो ठूलो उडड्यन कम्पनी हो । यतीले तारा एयरलाइन्स पनि सञ्चालन गरिरहेको छ । यो ग्रुपले नेपालमा आधा दर्जन अन्तर्राष्ट्रिय एयरलाइन्सको जीएसएमार्फत पनि सेवा दिइरहेको छ । हिमालयन एयरलाइन्समा पनि लगानी रहेको यो ग्रुपको गोकर्ण फरेस्ट रिसोर्टदेखि लिएर लुक्लामा आधा दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् ।

पहिलो पुस्तामा सफल व्यवसाय सञ्चालन गर्नेमा भाटभटेनी समूह पनि पर्छ । मीनबहादुर गुरुङले स्थापना गरेको भाटभटेनी नेपालको चेन सुपरस्टोरमा अग्रणी छ । १ सय २० स्क्वायर फिटबाट आफ्नो व्यापार थालेका गुरुङले अहिले भाटभटेनीको १४ ओटा स्टोर्स स्थापना गरिसकेका छन् । भाटभटेनीको स्टोर्समा मात्र ५ हजार जनाले रोजगारी पाएका छन् । बैङ्कको जागिर छोेडेर सानो किराना पसल सुरु गरेका गुरुङले सन् १९९२ मा कोल्ड स्टोर्स स्थापना गरेर व्यवसायलाई अघि बढाएका थिए ।

चन्द्रागिरि केबलकार, मिस्त्रीखोला हाइड्रोपावर, काठमाडौं स्टिल्सलगायतमा लगानी गरेको भाटभटेनी समूहले भाटभटेनी सुपरस्टोरर्सबाट दैनिक करिब साढे ३ करोडबराबरको व्यापार गर्ने गरेको छ ।

लिटिल एन्जल्स स्कुलका संस्थापक उमेश श्रेष्ठ पनि पहिलो पुस्तामा स्थापित व्यवसायी हुन् । भोजपुरबाट खाली हात काठमाडौं आएका श्रेष्ठले नेपालको निजी स्कुलमा ठूलो लगानी गरिरहेका छन् । ललितपुरको हात्तीवनमा ३ सय ५० रोपनीभन्दा बढी जग्गामा फैलिएको स्कुललाई देशकै अग्रणी निजीक्षेत्रको स्कुलमा श्रेष्ठले उभ्याएका छन् । त्यति मात्र होइन, राजधानीका कतिपय पुराना (पछिल्लो समय डुब्दै गएका) विद्यालयलाई नयाँ ढङ्गले उकास्ने काममा पनि यिनले हात हालेका छन् । श्रेष्ठले पाँचथर पावर कम्पनी, खलङ्गाड हाइड्रोपावर प्रोजेक्ट र सानीगाड हाइड्रोपावरमा लगानी गरेका छन् । प्राइम, मेगा, सेन्चुरी बैङ्कलगायतमा पनि श्रेष्ठको लगानी छ । उनले कृषिक्षेत्रमा पनि लगानी गरिरहेका छन् । ठूलो लगानी गरेर फ्लोरिकल्चर, कागती खेतीजस्ता काममा पनि उनी अगाडि बढिरहेका छन् ।

स्थापना भएको २४ वर्षमा १२ भन्दा बढी कम्पनी सञ्चालन गरेर तीव्र गतिमा अगाडि बढेको अर्काे कम्पनी हो, आईएमएस समूह । व्यवसायमा पहिलो पुस्ताकै रुपमा ग्रुप स्थापना गरेर आईएमएसका अध्यक्ष दीपक मल्होत्राले नेपालमा मोबाइल फोन सेट आयात गरेर बिक्री थालेका थिए । यसअघि विदेशबाट स्पेयर पार्ट्सलाई झिकाएर व्यापार थालेका उनले पछिल्लो पटक तीव्र रुपमा व्यवसायलाई विविधीकरण गरेका छन् । मोबाइल व्यवसायलाई निरन्तरता दिँदै मल्होत्राले अहिले होटल, हाउजिङ, टेलिकम, हाइड्रोपावर, स्टिल उद्योगमा लगानी बढाइरहेका छन् । सबै उद्योग र व्यवसायमा गरेर आईएमएस समूहले ७ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ । सन् १९९६ देखि नेपालमा मोबाइल आयात गरेका मल्होत्राले सन् २००१ देखि नेपालमा सामसुङ मोबाइलको आधिकारिक बिक्रेताको रुपमा सामसुङलाई भित्र्याएका थिए ।

परिवारमा अधिकांश सदस्य जागिरे भए पनि पहिलो पटक व्यवसायमा होमिने व्यक्ति विजय राजभण्डारी पनि हुन् । नेपालको अपार्टमेन्ट, कोलोनी निर्माणमा आफूलाई स्थापित गरेको सीई कन्स्ट्रक्सनका अध्यक्ष राजभण्डारीले सन् १९९२ मा सीई कम्पनी स्थापना गरेका थिए । ‘घ’ वर्गको कन्ट्र्याक्टरका रुपमा तीन लाख लगानी गरेर व्यवसाय सुरु गरेका उनले अहिले कन्स्ट्रक्सन व्यवसायमा आफ्नो कम्पनीलाई ‘क’ वर्गको मात्र होइन, अग्रणी नै बनाएका छन् । सीईले अहिले दर्जनभन्दा बढी परियोजनामा काम गरिरहेको छ भने ४ हजार जनाले यसमा रोजगारी पाएका छन् । सीईले आफ्ना परियोजनामा ८ अर्बभन्दा बढि लगानी गरिसकेको छ ।

पहिलो पुस्ताको व्यवसायमा स्थापित हुने कम्पनीमा सिभिल ग्रुप पनि हो । यो ग्रुपले दुई दशकमै हाउजिङ व्यवसायमा उचाइ लिएको हो । यसका अध्यक्ष इच्छाराज तामाङले आफ्नो व्यवसायलाई यही अवधिमा फराकिलो बनाएका छन् । रियल इस्टेट बिजनेसमा स्थापित सिभिल ग्रुपले सपिङ मल, हाउजिङ, पूर्वाधार निर्माण, बैङ्किङ, क्यापिटल मार्केट, अपार्टमेन्टलगायतमा लगानी गरेको छ । सिभिल मल, सीटीसी मल निर्माण गरेर सपिङ कल्चर उकास्न आधुनिक मल खडा गरेका तामाङले सिभिल होम्समार्फत व्यवस्थित बसोवासलाई अगाडि बढाइरहेका छन् ।

पैतृक सम्पत्तिका मालिक भए पनि गुणचन्द्र विष्ट व्यापारमा पछि आएर जमेका हुन् । अविनाश ह्याचरी सुरु गरेर स्थापित भएका विष्टले पशुपतिशमशेरको नेपाल ग्यासको स्वामित्व खरिद गरेका थिए । नेपाल ग्यासले अहिले अर्काे ग्यास कम्पनी लोकप्रिय पनि खरिद गरिसकेको छ । आधुनिक रुपमा पोल्ट्री फार्म सुरु गरेका विष्टले २७ वर्षअघिबाट मात्र व्यवसाय थालेका थिए । अहिले विष्टले विभिन्न कम्पनीमा गरेर ८ अर्बभन्दा बढी लगानी गरिसकेका छन् ।

१७ वर्षको अवधिमा स्थापित भएको र तीव्र गतिमा अघि बढेको कम्पनी हो, निम्बस होल्डिङ्स । जागिरे जगदीश अग्रवालले छोरा आनन्द बगारियालाई दिएको सुझावले जन्मिएको व्यवसाय अहिले नेपालको अग्रणी दाना उद्योगको रुपमा स्थापित छ । बाबु र छोराले संयुक्त रुपमा सुरु गरेको पहिलो पुस्ताकै ग्रुपका रुपमा पनि लिन सकिन्छ निम्बस होल्डिङ्सलाई । ८ अर्बभन्दा बढी लगानी गरेको यो होल्डिङ्सअन्तर्गत १ हजार ५ सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

‘व्यवसायमा मेरोभन्दा बढी योगदान छोराकै छ,’ निम्बस होल्डिङ्सका अध्यक्ष जगदीश अग्रवालले भने । मैले २८ वर्ष जागिरमा बिताएँ, पछि छोरामा व्यवसायको सोच आएपछि मैले साथ दिएको हुँ । त्यसैले हाम्रो परिवारमा पहिलो पुस्ता भने पनि सुरु भने पनि व्यापार छोराले नै गरेको उनी बताउँछन् ।

डेढ दशकमा जमेको अर्काे कम्पनी हो, मुक्तिश्री ग्रुप । यसका अध्यक्ष अजेयराज सुमार्गीले यो अवधिमा दूरसञ्चारमा लगानी गरेर आफूलाई स्थापित गरे । उनका बुबा माधवराज पराजुलीले व्यवसायमा सामान्य लगानी गरे पनि अजेयराजको प्रवेशपछि नेपालको फास्ट ग्रोइङ कम्पनीका रुपमा मुक्तीश्री ग्रुप पनि अगाडि आउँछ । ०६० वैशाखदेखि दूरसञ्चार, खनिज, मिनरल वाटर, पूर्वाधार विकास, जलविद्युत्, सञ्चार, शिक्षा, बैङ्किङलगायतको क्षेत्रमा लगानी गरिरहेको मुक्तिश्रीले विभिन्न क्षेत्रमा २३ अर्ब लगानी गर्ने घोषणा गरेको थियो ।

आफैले सुरु गरेर आफ्नै पालामा स्थापित भएका व्यवसायीमध्ये विकास राणा पनि एक हुन् । १८ वर्ष सेनाको जागिर खाएका अनि त्यसपछि नेपाल एयरवेज हेलिकोप्टर सर्भिसेजमा काम गरेका राणाले सन् १९९७ मा आफ्नै फिस्टेल हेलिकोप्टर कम्पनी स्थापना गरे । इम्पेरियल डेभलपर्स, इम्पेरियल फर्निचर, शिखर इन्स्योरेन्सलगायतमा लगानी बढाउँदै लगेका राणाले गोमा एयरलाई खरिद गरेर समिट एयरको नाममा सञ्चालन गर्दै आएका छन् ।
दुई दशकको अवधिमा स्थापित भएका अर्काे व्यवसायी हुन् सुहृद् घिमिरे । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष घिमिरेले अटोमोबाइल्स, ट्रेडिङ, हाउजिङ, बैङ्क तथा वित्तीय क्षेत्रमा लगानी गरेका छन् । विभिन्न क्षेत्रमा ५ अर्बभन्दा बढी लगानी गरेका घिमिरे पहिलो पुस्ताका व्यवसायीमा स्थापित नाम हो ।

दुई दशककै अवधिमा स्थापित व्यवसायीमा दिलीप अग्रवाल पनि पर्छन् । वर्ल्डलिङ्क कम्युनिकेसनमार्फत घरघरमा इन्टरनेट पुराइरहेका अग्रवालले दुई दशकअघि सामान्य अफिस र दुई ओटा कम्प्युटरबाट व्यवसाय सुरु गरेका थिए । नेपालमा व्यवसाय सुरु गर्नुअघि अमेरिकामा बायोकेमेस्ट्री पढिरहेका अग्रवालले आफन्तसँग गफ गर्न नेपालमा सुरु गरेको इमेल सर्भरले व्यवसायको रुप लियो । र, वर्ल्डलिङ्कलाई नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकका रुपमा उभ्यायो ।

फास्ट ग्रोइङ कम्पनीका रुपमा एफवान सफ्ट नाम पनि अगाडि आइरहेको छ । नेपालमा डिजिटल वालेट सुरु गरेर नयाँ अवधारणा ल्याएको एफवान सफ्टको ई–सेवाका प्रयोगकर्ता पाँच लाखभन्दा बढी छन् । त्यस्तै, क्यूएफएक्स (सिनेमा), हिमालयन जाभा (रेस्टुराँ)ले पनि तीव्र गतिमा आफूलाई अगाडि बढाउँदै लगिरहेका छन् ।