३३ किलो सुन कान्डको छानबिन गर्न कान्तिपूर होलिडेजमा सिलबन्दी

३३ किलो सुन तस्कर र सनम शाक्य हत्याकाण्ड अनुसन्धान गरिरहेको उच्चस्तरीय अनुसन्धान टोलीले छानबिनका लागि कान्तिपूर होलिडेजमा सिलबन्दी गरेको छ ।

अनुसन्धान समितिले ३३ किलो र त्यसअघि तथा पछि भएको सुन तस्करमा ठूलै समूह रहेकाले पक्राउ परिसकेका व्यक्ति तथा फरार व्यक्तिहरुसँग लेनदेन भएको कम्पनी तथा व्यक्तिमाथी छानबिन गर्ने क्रममा कान्तिपुर होलिडेजमा पनि सिलबन्दी गरेको हो ।
छानबिन समितिका संयोजक इश्वरराज पौडेलले सुन तस्करीका विषयमा छानबिन गर्न थप केही व्यक्ति पक्राउ परेको र केहि कम्पनीमा सिलबन्दी गरेको बताए ।

छानबिनका लागि यसअघि पक्राउ परेका व्यक्तिसँग लेनदेन भएका आधारमा समितिले कान्तिपुरमा सिलबन्दी गरेको जनाएको छ ।
कान्तिपूर होलिडेजका सञ्चालक ठाकुरप्रसाद ढुंगानालाई प्रहरीले केही दिन अघि बोलाएर बयान लिइ साधारण तारिखमा छाडेको थियो ।
दुबईमा समेत ट्राभल व्यवसाय गरेर बसेका कान्तिपुर होलिडेजका सञ्चालक ढुंगानाले प्रहरीले छानविन गरिरहेका एकव्यक्तिसँगको कारोबारका आधारमा आफुलाई बयानमा बोलाएको बताए । दुबईमा हुँदा २ बर्षअघि ती व्यक्तिसँग ट्राभलमा साझेदार थियो, पछि म उनीबाट अलग्गिएपछि शेयरबापतको रकम उनले मेरो खातामा हालेका थिए, सायद यहि विषयमा अहिले छानविन भएको हुनुपर्छ, उनले टेलिफोनमा क्यापिटल नेपाललाई बताए ।

‘म दुबईमा हुँदा नै छानविनमा सहयोग पुगोस् भनेर प्रहरीले बोलाएपछि आएर बयान दिएको हो आज एकैपटक व्यवसायमा शिलबन्दी भएको भन्ने कुरा छ,’ उनले भने ‘मैले सबै शेयरको कागजपत्र, उसले तिरेको रकमको बारेमा बताइसकेको छु ।’

ढुंगानाले दुबईमा हिमालयन एयरलाइन्सको जिएसएको रुपमा ग्रिनलाइन ट्राभल सञ्चालन गरेका छन् । प्रहरीले उनलाई फरार सुचिमा राखेको छ ।