नयाँ यातायात कम्पनीमार्फत सवारी भित्र्याउने लहर

उपत्यकामा सिन्डिकेट खारेज भएसँगै नयाँ खुलेका कम्पनीले ठुल्ठूला सुविधायुक्त बस भित्र्याउने क्रम बढेको छ । सरकारले साउन एक गतेदेखि देशभर रहेका यातायात समितिलाई पूर्ण रुपमा खारेज गर्दै कम्पनीमा आउन भनेको छ । तर, कतिपय समितिहरु कम्पनीमा अझै आएका छैनन् । यसैबीच, उपत्यकामा भने नयाँ खुलेका कम्पनी–कम्पनीबीच नयाँ बसबाट सेवा दिने प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार...

उपत्यकामा सिन्डिकेट खारेज भएसँगै नयाँ खुलेका कम्पनीले ठुल्ठूला सुविधायुक्त बस भित्र्याउने क्रम बढेको छ ।

सरकारले साउन एक गतेदेखि देशभर रहेका यातायात समितिलाई पूर्ण रुपमा खारेज गर्दै कम्पनीमा आउन भनेको छ । तर, कतिपय समितिहरु कम्पनीमा अझै आएका छैनन् । यसैबीच, उपत्यकामा भने नयाँ खुलेका कम्पनी–कम्पनीबीच नयाँ बसबाट सेवा दिने प्रतिस्पर्धा चलिरहेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार उपत्यकामा नयाँ बस सञ्चालनका लागि यातायात व्यवस्था विभागमा तीसभन्दा बढी नयाँ कम्पनी दर्ता भइसकेका छन् भने अन्य साना ठूला कम्पनी आउने क्रम बढेको विभागका निर्देशक तुलसीराम अर्यालले जाकारी दिए ।

उनका अनुसार नयाँ कम्पनी धमाधम पञ्जीकृत भइरहेका छन् भने पुराना समिति अझै कम्पनीमा दर्ता हुन आलटाल गरिरहेको जानकारी दिए । तर पुराना ठूला कम्पनीहरु पहिलाकै शैली तथा नीतिमा जाने तरखरमा देखिन्छन् । विभाग भने पहिलाकै अवस्थामा आउन कुनै पनि हालतमा नदिनेमा दृढ रहेको अर्यालको भनाइ छ ।

पछिल्ला दिनहरुमा उपत्यकामा सिटी मेट्रो, बालाजु यातायात, ह्यापी नेपाल, बूढानीकलकण्ठ, धूम्रबराह, तारकेश्वर, राष्ट्रिय सार्वजनिक, मयूर तथा अन्नपूर्ण यातायात छन् । त्यस्तै बाबा गोकर्णेश्वर, गन्तव्य, चण्डेश्वर, लालुपाते, साझा, मञ्जुश्री, रिद्धिसिद्धि, दिगो तथा भक्तपुर महानगर यातायात चल्ने गरेका छन् । तीमध्ये तलका केही कम्पनीले अहिले उपत्यकामा केही सुविधायुक्त बस चलाएका छन् ।

दिगो सर्वजनिक यातायात
केहि दिनभित्र दिगो सार्वजनिक यातायातले १७ ओटा नयाँ ठूला ५० सिटे बस सञ्चालन गर्न लागेको छ । कम्पनीका सचिव लालप्रसाद गुरागाईंका अनुसार यी बस एयरपोर्ट, सिनामङगल, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, रत्नपार्क, लैनचौर, सामाखुसी हुँदै नयाँ बसपार्क पुग्नेछन् । फर्किने क्रममा नयाँ बसपार्क, गोंगबु, सामाखुसी, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, सिनामङ्गल हुँदै एयरपोर्टसम्म पुग्ने गुरागाईंले बताएका छन् ।

बूढानीलकण्ठ यातायात
बूढानीलकण्ठ – रत्नपार्क रुटमा माइक्रोबस विस्थापन भई बूढानीलकण्ठ यातायात प्रालिले १० ओटा ठूला बसमार्फत सेवा थाल्दै ७० ओटा बस थप्ने जनाएको छ । टाटाको अत्याधुनिक र सुविधासम्पन्न एलपी सिटी बस रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा सञ्चालन गरिएका छन् ।

लालुपाते यातायात
लालुपाते यातायातले सेवा सुरु गरेको केही साता मात्र भएको छ । यसले रत्नपार्कदेखि माइतीघर, जाउलाखेल, एकान्तकुना हुँदै भैंसेपाटीसम्म सेवा दिइरहेको छ । यस रुटमा यी बस सञ्चालन हुनुभन्दा अघि १५ सिटे डल्ला बस चल्ने गरेका थिए ।

रिद्धिसिद्धि यातायात
रिद्धिसिद्धी यातायातले शुक्रबार असार २९ गतेदेखि १० ओटा बस सञ्चालनमा ल्याएको छ । चोभार, जावलाखेल, महाराजगन्ज, नारायणस्थान रुटबाट सेवा थालेको कम्पनीका सञ्चालकको भनाइ छ । कम्पनीका अध्यक्ष नारायण पौडेलका अनुसार बस चोभार, मेडिसिटी, लगनखेल, जावलाखेल, सातदोबाटो, कोटेश्वर, बानेश्वर, माइतीघर, पुतलीसडक, हात्तीसार, प्रहरी तालिम केन्द्र, टिचिङ, महाराजगन्ज हुँदै नारायणस्थानसम्म पुग्नेछन् भने सोही रुटबाट फिर्ता हुनेछन् ।

शिवपुरी यातायात प्रालि
शिवपुरी यातायात प्रालिले पनि केही दिनअघि मात्र सेवा सञ्चालन गरेको छ । हाल चल्दै आएका साना मिनी बसका ठाउँमा शिवपुरी बूढानीलकण्ठ यातायात भएको केही समय नहुँदै नगरवासीको सुविधाका लागि संस्थाले १० ओटा अत्याधुनिक बस बूढानिलकण्ठ भित्र्याएको हो । बसमा एलसीडी स्क्रिनसहित जीपीएस, सीसीटीभी जडान गरिएको छ । नगरवासीको मागबमोजिम भविष्यमा थप ठूला बस थपिने योजना रहेको शिवपुरी बूढानिलकण्ठ यातायातले जानकारी दिएको छ ।

मयूर यातायात
मयूर यातायात प्रालिले गत हप्तादेखि नयाँ रुटमा २४ बस सञ्चालनमा ल्याएको छ । मयूर यातायात प्रालिका अध्यक्ष मोहन श्रेष्ठका अनुसार अहिले थपिएका बस रत्नपार्क, कलङ्की, थानकोट र चक्रपथ परिक्रमाको रुटमा हालिएको छ ।

ललितपुर काठमाडौं नगरबस
असार १५ गतेदेखि ललितपुर महालक्ष्मी नगरपालिकाको लामाटारस्थित पाटीचौरदेखि काठमाडौंको बूढानीलकण्ठसम्म २७ ओटा बस सेवा सुरु गरेको छ । हामी सबैको यातायातले सञ्चालनमा ल्याएका टाटा कम्पनीका सिटका बसले सेवा सुरु गरेका हुन् ।

यस यातायातका बस पाटीचौर, धाराचौर, शङ्खादेवी, विष्णुडोल, सिद्धिपुर, इमाडोल, ग्वार्को, सातदोबाटो, लगनखेल, रत्नपार्क, महाराजगञ्न्ज हुँदै बूढानीलकण्ठसम्म र फर्कंदा इमाडोलबाट टीकाथली, चाङ्गाथली, लुभु, डाँडाथोकबाट पाटीचौर हुँदै धाराचौरबाट सिद्धिपुर निस्कने गरी दुईतर्फी बस सेवा सुरु गरिएको सञ्चालकले जनाएका छन् ।