रत्नपार्कको पुल हुँदाहुँदै तलबाट बाटो काटिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ । ‘एक छिन रनभुल्ल परें तर गल्ती मेरै थियो,’ उनले भने । हतारमा भएका कारण पनि त्यस्तो भएको उनले ट्राफिक प्रहरीलाई बताए ।
दोलखाका आशिष बस्नेतलाई आइतबार कोटेश्वर ट्राफिक प्रहरीले अचानक नियन्त्रणमा लियो । ट्राफिकले अकस्मात नियन्त्रणमा लिएपछि उनी अलमल्ल परे । तर केही बेरपश्चात् ट्राफिकले जथाभाबी बाटो काटेको आरोपमा सचेतनामूलक कक्षा दिन थालेपछि आफूले गल्ती गरेको उनले थाहा पाए ।
‘थाहा थिएन, अलि पर जेब्रा क्रसिङ थियो, मैले त वरैबाट बाटो काटें’ उनले भने, ‘करिब २ घण्टा सचेतनामूलक कार्यक्रमपछि अफिस गएँ ।’ उनीमात्र होइन बागबजार बस्ने निरोज फुयाँललाई पनि प्रहरीले नियन्त्रणमा लियो । रत्नपार्कको पुल हुँदाहुँदै तलबाट बाटो काटिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ । ‘एक छिन रनभुल्ल परें तर गल्ती मेरै थियो,’ उनले भने । हतारमा भएका कारण पनि त्यस्तो भएको उनले ट्राफिक प्रहरीलाई बताए ।
जथाभाबी बाटो काट्ने र दुर्घटना बढेको भन्दै महानगरीय ट्राफिक महाशाखाले यस्तो प्रक्रिया अघि बढाएको छ । महाशाखाका एसएसपी बसन्त पन्तले जथाभाबी बाटो काट्ने क्रमले नै दुर्घटना बढेको र दोष सवारीसाधनलाई आउने गरेको भन्दै यो कार्य गर्न लागेको बताए ।
‘यसले दुर्घटना न्यूनीकरण गर्छ, सडक अनुशासन बढाउँछ, किनभने सडक दुर्घटनामा मृत्यु हुनेमध्ये एक तिहाइ पैदलयात्री छन्’ उनले भने । विषेशगरी यो कार्यलाई बिहान बेलुका सञ्चालनमा ल्याउने पन्तको भनाइ छ । आइतबार करिब २ हजार जनाले सो कार्यक्रममा कक्षा लिएका छन् ।
महाशाखाका अनुसार २०७४ र ७५को जेठ मसान्तसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५३ जना पैदलयात्रीको मृत्यु भएको छ । महाशाखाले यसभन्दा अघि पनि यस्ता कार्यक्रम सञ्चालनमा नल्याएको होइन, तर केही समय चल्ने, पछि आफै सेलाएर जाने सेवाग्राहीको भनाइ छ ।
केही समयअघि जेब्राक्रसबाट बाटो नकाटे दुई सयदेखि पाँच सय रुपैयाँ जरिवाना गर्ने भने पनि त्यो नियम प्रभावकारी रुपमा कार्यन्वयन हुन सकेन ।