मनकामना केबलकारलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’

९० जना मूल्याङ्नकर्तामध्ये ६४ जनाले उत्कृष्ट, १७ जनाले धेरै राम्रो, तीन जनाले औसत, दुई जनाले कमजोर र चार जनाले डरलाग्दो भनी मूल्याङ्कन गरेका छन् ।

मनकामना केबलकारले ४ वर्षदेखि निरन्तर उत्कृष्टताको प्रमाणपत्र पाइरहेको छ । ट्रिप एडभाइजरले सेवाग्राहीको मूल्याङ्कनका आधारमा मनकामना केबलकारलाई सन् २०१८ का लागि ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रमाणपत्र दिएको हो । यो विश्वको चर्चित एवम् विश्वसनीय ट्राभल साइट हो ।

चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा रहेको मनकामना केबुलकारले योसहित चौथो पटक वर्ष उत्कृष्टताको प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सिलेन्स) पाएको जानकारी दिएको छ । चीन, भारत, बङ्गलादेश, इङ्ग्ल्यान्ड, संयुक्त अरब इमिरेट्सलगायत देशबाट नेपाल आई मनकामना केबलकार चढेका यात्रुले मनकामना केबलकारबारे मूल्याङ्कन गरेका हुन् ।

मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले ग्राहकको वास्तविक मूल्याङ्कनका आधारमा आफूहरुले यो प्रमाणपत्र पाएको बताए । ९० जना मूल्याङ्नकर्तामध्ये ६४ जनाले उत्कृष्ट, १७ जनाले धेरै राम्रो, तीन जनाले औसत, दुई जनाले कमजोर र चार जनाले डरलाग्दो भनी मूल्याङ्कन गरेका छन् । पाँच अङ्कको समग्र मूल्याङ्कनमा मनकामना केबलकारले चार दशमलव पाँच अङ्क (रेटिङ) प्राप्त गरेको श्रेष्ठले जानकारी दिए ।

सेवाग्राहीको मूल्याङ्कन (रिभ्यू)का आधारमा उच्च प्रशंसा प्राप्त गर्न सफल भएकाले मनकामना केबलकारलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रदान गरिएको ट्रिप एडभाइजरले जनाएको छ । नेपालमा मनकामना केबलकार र चन्द्रागिरि केबलकार सञ्चालनमा छन् ।