सिंगटीखोला जलविद्युत् आयोजनाको प्रगति ७५ प्रतिशत

आयोजनाको बाँध, सुरुङमार्ग, टनेलको काम तीव्र रुपमा अगाडि बढेको छ । सिभिल वर्क र हाइड्रो मेकानिकल क्रिमको काम क्रमशः रामेछाप शेर्पा कन्ट्रक्सन प्रालि र क्रिम हाइडल प्रालि बुटवलले गरिरहेका छन् ।

दोलखामा निर्माणाधीन सिंगटीखोला जलविद्युत् आयोजनाको ७५ प्रतिशत काम सकिएको छ ।

सुरुमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको १६ मेगावाट र थपिएको ९ मेगावाट गरी २५ मेगावाटको उक्त आयोजनाको ५ हजार ९ सय टनेलमध्ये ४ हजार ३ सय मिटर टनेल खन्ने काम सम्पन्न भएको आयोजनाका प्रबन्धक मनोहरि सापकोटाले जानकारी दिए । उनले १६ सय मिटर टनेल खन्ने काम मात्र बाँकी बताएका छन् । जसमध्ये आयोजनाको पहिलो खण्ड इलेक्ट्रो अडिटमा ४ सय मिटर र अफिस टु आउटमा १२ सय मिटर सुरुङ खन्ने काम बाँकी रहेको उनको भनाइ छ । पहिलो खण्डको ४ सय मिटर आगामी असोजसम्म र बाँकी १२ सय मिटर फागुनसम्म सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

उनले थप गरिएको ९ मेगावाटको फाइनान्सिङ क्लोजर भई पीपीए भइसकेको बताए । ‘अहिले आयोजनाको ७५ प्रतिशतभन्दा बढी काम सकिएको छ,’ उनले भने, ‘१६ मेगावाटमा थपिएको ९ मेगावाटको पनि फाइनान्सिङ क्लोजर र पीपीए भई निर्माण प्रक्रियामा अगाडि बढेको छ ।’

अहिलेसम्म हेडवर्क्स तर्फको सबै काम सम्पन्न भइसकेको छ । पावरहाउस र पेनस्टक पाइप जडानको काम अहिले भइरहेको छ । आरजे एन्ड सूर्य कम्पनीले टनेल निर्माणको काम चार ठाउँबाट गरिरहेको छ । आयोजनाको बाँध, सुरुङमार्ग, टनेलको काम तीव्र रुपमा अगाडि बढेको छ । सिभिल वर्क र हाइड्रो मेकानिकल क्रिमको काम क्रमशः रामेछाप शेर्पा कन्ट्रक्सन प्रालि र क्रिम हाइडल प्रालि बुटवलले गरिरहेका छन् । त्यस्तै बाटो निर्माणमा आरजे कन्ट्रक्सन, इलेक्ट्रो मेकानिकलको क्विकाइन एलोन्स कम्पनीले गरेका छन् ।

आयोजनाले २०६७ सालमा निर्माणको अनुमति पाएको थियो । चार अर्ब ६३ करोड रुपैयाँको प्रारम्भिक लागत स्टिमेटअनुसार निर्माण भइरहेको आयोजना सोही लागतभित्रै सम्पन्न गरिने सापकोटाले बताए । विसं २०७५ चैत मसान्तसम्म निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाले लिएको छ ।

आयोजनाले विद्युत् उत्पादन दिन थालेपछि राष्ट्रिय प्रणालीमा जोडिने छ । त्यसका लागि लामो समयदेखि अगाडी बढ्न नसकेको सिंगटी सबस्टेसनको काम नयाँ ठेकेदार छनोट भई अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले सबस्टेसन निर्माण गरिदिएको खण्डमा समयमै उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने आयोजनाको दाबी छ ।

तर, बल्ल सुरु भई सुस्त गतिमा सबस्टेसन निर्माण भइरहेकाले समयमै सबस्टेसन बन्नेमा आयोजना विश्वस्त छैन । आयोजना सम्पन्न हुँदासम्म सबस्टेसन बनाई सिंगटी—लामोसाँघु प्रसारण लाइनमा जोड्नुपर्ने हुन्छ । सो अवधिमा प्रसारण लाइन नबनेको खण्डमा प्राधिकरणले ४५ प्रतिशत जरिवाना आयोजनालाई तिर्नुपर्छ ।