पाँच पटकसम्म ‘बैङ्क अफ द इयर’ प्राप्त गरिसकेको बैङ्कले आफ्नो सञ्चालन कालको ३२ वर्ष पूरा गरी उत्कृष्ट सेवा विस्तार गरिरहेको छ ।
नेपाल इन्भेस्टमेण्ट बैङ्क (एनआईबीएल)ले अन्तर्राष्ट्रियस्तरको ‘युरोमनी एक्सिलेन्स –उत्कृष्ट बैङ्क २०१८’को पुरस्कार जितेको छ । प्रतिष्ठित अङ्गे्रजी आर्थिक मासिक पत्रिका युरोमनीले हङकङमा आयोजित कार्यक्रममा बैङ्कलाई पुरस्कार प्रदान गरेको हो ।
एसियाका पाँच सय बढी विशिष्ट पाहुना सहभागी उक्त कार्यक्रममा बैङ्कका निर्देशक भुवनेश्वरप्रसाद शाहले पुरस्कार लिएका हुन् । नेपाल इन्भेस्टमेन्ट बैङ्कले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो ।
सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका सेयर होल्डरहरुले सुरु गरेको यो पुरस्कार संस्थाको सेवा, सुविधा तथा वित्तीय अवस्थाबारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेर प्रदान गरिन्छ । यस वर्ष यसमा १५ सयभन्दा बढी वित्तीय संस्थाहरुले राष्ट्रिय, क्षेत्रिय तथा विश्वव्यापी रुपमा सहभागिता जनाएका थिए ।
आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेस्टमेन्ट बैङ्कका हाल ७७ शाखा तथा १ सय ४ ओटा एटीएम छन् । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैङ्कको ५७ ओटा शाखारहित बैङ्किङ सुविधाका साथै बैङ्कको सञ्जालमा ७ सय ९० बढी भिसा तथा एनपीएन सदस्य बैङ्कका एटीएम रहेको छ ।
बैङ्कको आर्थिक वर्ष २०७४÷७५ को तेस्रो त्रैमाससम्ममा चुक्ता पुँजी १० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने प्राथमिक पुँजी २० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी बैङ्कले १ अर्ब ३० अर्ब २ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १८ अर्ब ८ करोड कर्जा प्रवाह गरेको छ ।
पाँच पटकसम्म ‘बैङ्क अफ द इयर’ प्राप्त गरिसकेको बैङ्कले आफ्नो सञ्चालन कालको ३२ वर्ष पूरा गरी उत्कृष्ट सेवा विस्तार गरिरहेको छ ।