जाँच्ने मेसिन नहुँदा ट्राफिकलाई नै घाँडो बन्यो स्मार्ट लाइसेन्स

कागजी सवारीचालक अनुमतिपत्रमा रहेको बेथिति अन्त्य गर्न सरकारले गत वर्षदेखि यो प्रक्रिया अघि बढाएको थियो । तर यो प्रक्रिया पनि अस्तव्यस्त बन्ने खतरा बढेको ट्राफिक प्रहरीको भनाइ छ । हामीलाई स्मार्ट लाइसेन्स जाच्ने मेसिन नदिँदा त धमाधम पक्राउ पर्न थालिसकेका छ अझ स्रोत र साधन भयो भने कति पक्राउ पर्लान एक प्रहरीले भने ।

उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा नक्कली स्मार्ट लाइसेन्सको बिगबिगी छ । सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स विस्थापन गरी स्मार्ट लाइसेन्स प्रणाली लागू गरेको थियो । तर, अहिले नक्कली लाइसेन्स लिएर सवारी चलाउने बढ्दै गएका छन् । यससँगै पक्राउ पर्नेको सङ्ख्या पनि बढेको उनको भनाइ छ ।

असारको अन्तिम सातापछि प्रहरीले नक्कली स्मार्ट लाइसेन्स लिएका ५ जना सवारी चालक पक्राउ गरेको छ । ट्राफिक प्रहरीले नक्कली स्मार्ट लाइसेन्स बोकेर चक्रपथमा गुड्ने बा ५ ख २८५४ नम्बरको बस चालक चक्र नेपालीलाई असार २९ मा नियन्त्रणमा लिएको थियो । त्यस्तै ललितपुर ट्राफिकले असार ३१ मा सातदोबाटोबाट नियन्त्रणमा लिएका २२ वर्षे प्रविन स्याङ्तान मालवाहक मिनी ट्रक चलाइरहँदा समातिएका थिए । प्रहरीका अनुसार बा ४ ख ७१२९ नम्बरको मिनी ट्रक चालक स्याङ्तानले कार, जिप र बस, ट्रक र लहरी (बि र जी) हाँक्ने अनुमति पाएका थिए ।

यस्तै ललितपुरबाटै ट्राफिक नियम उल्लङ्घन गरेपछि नियन्त्रणमा लिएका बुद्धबहादुर कामीको स्मार्ट लाइसेन्ससमेत नक्कली भेटिएको ट्राफिक प्रहरीको भनाइ छ । लाइसेन्स नम्बर ०१–०६–००२४८७५९ रहेको सो लाइसेन्समा बी, एफ र जी क्याटोगरीका सवारी हाँक्न अनुमति दिइएको छ । गत केही दिनअघि ग्वार्कोबाट बा ५ ख २८५४ नम्बर मिनी बस चालक चक्रे नेपाली पक्राउ पनि पक्राउ परेका छन् । त्यसैगरी उपत्यमा नक्कली लाइसेन्स लिएर हिँड्ने सवारीचालक समातिन थालिसकेका छन् । ट्राफिक प्रहरीका अनुसार कुन लाइसेन्स सक्कली हो वा नक्कली हो भने र छुट्याउन कठिन भइरहेको छ ।

महानगरीय ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी वसन्त पन्तले यातायात विभागबाट स्मार्ट लाइसेन्स जाँच्ने कुनै पनि मेसिन उपलब्ध गराउने प्रतिक्रिया नदिएकोे जनाए । ‘हामी अहिले सवारीधनीले गल्तीका आधारमा लाइसेन्स अनुगमन गर्दै आँखाको भरमा नक्कली कार्ड भेटाइरहेका छौं,’ उनले भने, ‘शङ्कास्पद लाग्दा बरामद गरेर यातायात व्यवस्था विभागमा जाँच गर्न पठाउनुपर्छ ।’

प्रविधिविहीन प्रहरी स्मार्ट लाइसेन्स जाँचमा निरिह बन्नुपर्दा नक्कली लाइसेन्स बनाउने गिरोह यतिबेला सक्रिय बनेको पन्तको भनाइ छ । नक्कली लाइसेन्सधारीहरुले सवारी चलाएको पाउनु निकै गम्भीर विषय हो । ‘यसले ठूलो भवितव्यको खतरा बढाएको छ,’ उनले भन, ‘स्मार्ट कार्डमा सिमकार्डमा जस्तै धातुको चिप्स जडान गरिएको हुन्छ, जसमा चालक र सवारीसँग सम्बन्धित डाटा स्टोर हुन्छ । कुनै सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परे त्यसैमा रेकर्ड रहन्छ । तर हालसम्म न जाँच्ने मेसिन छ न सरकारले नै चासो दिएको छ ।’

यातायात व्यवस्था विभागका अनुसार हालसम्म झन्डै ४ लाख स्मार्ट लाइसेन्स वितरण भइसकेको छ । बाँकी प्रक्रियामा छन्  । स्मार्ट लाइसेन्स कार्ड जाँच्ने मेसिन खरिद गर्ने कार्यमा छलफल भइरहेको विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए । उनका अनुसार लाइसेन्स जाँच गर्ने मेसिन खरिदको तयारी भइरहेको छ । ‘नक्कली लाइसेन्स किनबेचमा कर्मचारीको संलग्नता देखिए कारबाही गर्छौं’, उनले भने ।

कागजी सवारीचालक अनुमतिपत्रमा रहेको बेथिति अन्त्य गर्न सरकारले गत वर्षदेखि यो प्रक्रिया अघि बढाएको थियो । तर यो प्रक्रिया पनि अस्तव्यस्त बन्ने खतरा बढेको ट्राफिक प्रहरीको भनाइ छ । हामीलाई स्मार्ट लाइसेन्स जाच्ने मेसिन नदिँदा त धमाधम पक्राउ पर्न थालिसकेका छ अझ स्रोत र साधन भयो भने कति पक्राउ पर्लान एक प्रहरीले भने ।