मेलम्ची खानेपानी ल्याउने कामले गर्दा इण्टरनेट समस्या

मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही स्थानमा इन्टरनेटको तार केही समयको लागि काट्नुपर्ने भएकाले उक्त सेवामा समस्या आएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इन्टरनेट प्रयोग गर्नमा समस्या भएको छ ।

केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इन्टरनेट जडान गरेको थियो । मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही स्थानमा इन्टरनेटको तार केही समयको लागि काट्नुपर्ने भएकाले उक्त सेवामा समस्या आएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

उनका अनुसार केही स्थानमा अहिले सो सेवामा समस्या भए पनि छिट्टै समस्या हटी सेवा पुनःसञ्चालन हुनेछ । तीन महिनाअघि कामपा र वर्ल्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इण्टरनेट जडान गरिएको थियो ।

सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशीको चाप बढी हुने भएकाले उनीहरुको सुविधालाई ध्यानमा राख्दै कामपाले यस्तो व्यवस्था गरेको हो । अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इन्टरनेट राखिएको छ । सबै स्थानमा गरी दैनिक दुर्इ सय नागरिकले मात्र इन्टरनेट सुविधा प्रयोग गर्ने अनुमान कामपाले गरेको थियो ।

हनुमानढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले उक्त स्थानमा यसअघि जडान गरिएको भन्दा धेरै एमबीपीएस क्षमताको इन्टरनेट राख्नुपर्ने अवस्था आएको काफ्लेले जानकारी दिए । आवश्यकता हेरी अन्य स्थानमा पनि इन्टरनेट राख्ने योजना कामपाको छ । नागरिकले ती इन्टरनेट सेवा निःशुल्क प्रयोग गर्न पाउनेछन् ।