लाेडसेडिङ नहुँदा फाइदा

बढ्दो जाडो र चिसो मौसमका कारण मानिसका दैनिकी प्रभावित हुँदै गएसँगै सम्बन्धित सरसामानको व्यापार ह्वात्तै बढेको छ । हिटर, कित्ली, थरमस जस्ता बिशेषगरी जाडोमा प्रयोग गरिने विभिन्न किसिमका विद्युतीय सामानहरुको माग धेरै बढेको हुँदा व्यवसायीहरु खुुसी देखिन्छन् । आप्mनो व्यापार मात्र होइन, उपभोक्ताको पनि सन्तुष्टि र चाहानालाई मध्यनजर राख्दै व्यापारीले हाल कायम मूल्यमा केही प्रतिशत छुट दिई बिक्री गरिरहेको महाबौद्धका व्यापारी प्रकाश सन्जेलले बताए ।

जाडोको मात्रा क्रमिक रुपमा बढिरहँदा घर, कोठा तथा पानी तताउने सामान सजिलै बिक्ने र व्यापार पनि राम्रो फस्टाएको हुनाले यस्ता सामग्री बेच्नेप्रति सबै व्यापारीको ध्यान गएको पाइन्छ । युनिक इन्टरप्राइजेजका व्यापारी सन्तोष चौहानले भने, ‘मेरो पसलमा दैनिक ८० देखि ९० जना सम्म ग्राहक आउने गरेका छन् । विगतमा लोडसेडिङ् हुँदा धेरै घाटा बेहोर्नु परेपनि अहिले भइरहेको व्यापारबाट सन्तुष्ट छु’ उनले भने ।

एउटा सामान्य हिटरको मूल्य १ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म पर्ने र अन्य ग्यासयुक्त हिटरको मूल्य ५ हजार ५ सय रुपैयाँभन्दा माथि रहेको व्यापारीहरुले बताएका छन् । आजकल घर, कोठा तथा पानी तताउनका लागि परम्परागत घरेलु सामानभन्दा विद्युतीय उपकरणहरुलाई उपभोक्ताले रुचाउने गरेका छन् । जाडोको समयमा घर तथा कार्यालय न्यानो बनाउनका लागि उपयुक्त हुने यी सामग्रीहरु अहिले बजारमा प्रशस्त पाइन्छन् ।

उपत्यकाको न्युरोड, असन, महाबौद्ध, भोटाहिटी लगाएतका अन्य धेरै स्थानहरुमा जाडोमा प्रयोग गरिने बिद्युतीय उपकरणहरुको व्यापार निकै बढेको त्यहाँ हुने ग्राहकको घुइँचोले पनि अनुमान गर्न सकिन्छ ।  जाडो यामलाई नै लक्ष्य गरेर किनमेलकोे लागि आउने उपभोक्तालाई आफूतिर आकर्षित गर्न व्यापारीहरुले यी मौसमी सामग्रीहरुमा केही प्रतिशत छुट पनि दिने गरेका छन् ।