बिहीबारदेखि चल्ने भए मैतिदेवी–नयाँ बसपार्क रुटमा १७ ठूला बस

बिहीबार साढे एक बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बस सञ्चालनको उद्घाटन गर्ने तयारी भइसकेको छ ।

बिहीबारदेखि एफफाइभ रुटमा ५० सिटे १७ ठूला बस सञ्चालन हुने भएका छन् । यातायात व्यवस्था विभागले सो रुटमा वैशाखदेखि ठूला बस सञ्चालन गर्ने भनेको थियो । तर, पनि बस आयातमा भएको ढिलाइका कारण सञ्चालन अन्योलमा पर्दै आएको थियो । तर आउँदो १० गते सञ्चालन मिति निश्चित भइसकेको दिगो सार्वजनिक यातायातका सचिव लालप्रसाद गुरागाईंले जानकारी दिए ।

बिहीबार साढे एक बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बस सञ्चालनको उद्घाटन गर्ने तयारी भइसकेको उनको भनाइ छ ।

एफफाइभ रुटमा चल्ने १७ नयाँ बस नेपाल आइसकेका छन् । ‘हामीले बस सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेका छौें,’ उनले क्यापिटल नेपाललाई जनकारी दिए ।

गुरागाईंका अनुसार यी बस एयरपोर्ट–सिनामङगल–पुरानो बानेश्वर–मैतीदेवी–डिल्लीबजार¬ रत्नपार्क–लैनचौर–सामाखुसी हुँदै नयाँ बसपार्क पुग्नेछन् । फर्किने क्रममा नयाँ बसपार्क–गोंगबु–सामाखुसी–गल्कोपाखा–लैनचौर–जमल–कमलपोखरी ज्ञानेश्वर–मैतीदेवी–पुरानो बानेश्वर–सिनामङ्गल हुँदै एयरपोर्टसम्म पुग्ने बताइएको छ ।

एफ फाइभ रुट करिब ९ किलोमटर दूरीको छ । यहाँ अहिले ६६ ओटा सफा टेम्पो र साना माइक्रो सञ्चालनमा छन् । वैशाखसम्म सञ्चालनमा आइसक्नुपर्ने १७ ठूला बस असार पहिलो हप्तामा पनि सञ्चालनमा आउन सकेको थिएनन् ।

तर व्यवसायीको आन्दोलनलाई दृष्टिगत गरी सरकारले प्रोत्साहनस्वरुप १५ प्रतिशत अनुदान र ८० प्रतिशत सहुलियत ऋण दिने निर्णय गरेपछि व्यवसायी सहमत भएका थिए । बस खरिद गर्न नगर विकास कोषले ८० प्रतिशत ऋण, एसियाली विकास बैङ्क (एडीबी)ले १५ प्रतिशत अनुदान र ५ प्रतिशत काठमाडौं दिगो सहरी यातायात आयोजनाले लगानी गर्ने भएका थिए ।

अहिले उक्त रुटमा चल्ने बस दिगो विकास यातायात प्रालि कम्पनीमा आधारित भएर सञ्चालन गर्न लागिएको विभागका प्रवक्ता अर्यालले जानकारी दिए ।एस फाइभ रुटमा अहिले सफा टेम्पो र माइक्रो गरी ६६ ओटा साना सवारी सञ्चालनमा छन् । नयाँ ठूला बस सञ्चालनमा आएपछि ती साना सवारीलाई अन्य रुटमा स्थानातरण गरिनेछ ।

सिनामङ्गलबाट मैतीदेवी हुँदै सुन्धारासम्म र रत्नपार्कबाट हालकै भित्री रूट हुँदै तीलगङ्गासम्म जाने गरी विभागसँग छलफल गरिरहेको उनको भनाइ छ । हाल सो रुटमा ६६ ओटा माइक्रो तथा टेम्पु चल्छन् । विभागले साना सवारीसाधन हटाउन पहिलो चरणमा एसफाइभ रुटबाट सुरु गर्ने बताएको थियो ।