निर्माण सामग्री ढुवानी समस्याले घलेम्दीखोला आयोजना निर्माणमा ढिलाइ

लुम्बिनी विकास बैङ्क र टुरिजम डेभलपमेन्ट बैङ्कको सहवित्तीय लगानीमा निर्माण हुन आयोजनाका लागि अनुमानित लागत ९४ करोड रुपैयाँ छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा निर्माण भइरहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना सामग्री ढुवानीको समस्याले ढिलाई हुने भएको छ । यसअघि साउनभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजना निर्माण गर्न आवश्यक निर्माण सामग्री बर्खायामको समय र भारतबाट ढुवानी गरी ल्याउनुपर्ने भएकाले आयोजना निर्माणमा ढिलाइ भएको घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक एनबी अघिकारीले जानकारी दिए ।

‘आयोजनाका लागि आवश्यक मेसिन दिल्लीबाट मगाउनुपर्छ,’ उनले भने, ‘एक त बर्खायामको समय र ल्याउन नै १५/२० दिन लाग्ने गर्दा आयोजना समयमै सम्पन्न गर्न सकिएको छैन ।’ उनले ढिलोमा पनि आगामी पुससम्ममा आयोजनाको काम सम्पन्न गरी विद्युत् उत्पादन हुने बताए ।

उनका अनुसार आयोजनामा आवश्यक २५ प्रतिशत मेसिनरी सामान आइसकेको र बाँकी ७५ प्रतिशत मेसिन आउने क्रममा रहेकाले अबको ४ देखि ५ महिनाभित्र आयोजन सम्पन्न हुन्छ । अहिले हाइड्रो मेकानिकल तर्फका काम भइरहेका छन् । विद्युत् गृह निर्माण, पेनस्टक पाइप जडानलगायतका काम पनि झन्डै ५० प्रतिशत सकिएको उनले बताए । आयोजनाको हालसम्म झन्डै ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति सम्पन्न भएको आयोजनाका फाइनान्स अफिसर अनिल पौडेलले बताए ।

भारतीय कम्पनी स्लोबेल इनर्जीले इलेक्ट्रोमेकानिकल, स्वदेशी कम्पनी सिभिल वल्र्डवाइडले कन्स्ट्रक्सनको काम र सीई हाइड्रो कम्पनीले हाइड्रो मेकानिकलको काम गर्दै आएका छन् । अहिलेसम्म आयोजनाको मुख्य ड्याम, पावरहाउस निर्माण, बाँधदेखि पोखरीसम्म नहर निर्माणलगायतका काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । २०७१ सालमा आयोजनाले निर्माणको अनुमति पाएको थियो ।

लुम्बिनी विकास बैङ्क र टुरिजम डेभलपमेन्ट बैङ्कको सहवित्तीय लगानीमा निर्माण हुन आयोजनाका लागि अनुमानित लागत ९४ करोड रुपैयाँ छ ।