एक वर्षमा निर्यातभन्दा चौगुणा कृषिजन्य वस्तु आयात

कृषि विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार एक वर्षको अवधिमा ७५ अर्ब ७६ करोड ९५ लाख २४ हजार रुपैँयाको कृषि उपज आयात भएको छ ।

मुलुकमा गत एक वर्षको अवधिमा झन्डै पौने ७६ अर्ब रुपैँयाको कृषिजन्य वस्तु आयात भएको छ । छिमेकी मुलुक भारत र चीनसहित अन्य मुलुकबाट आर्थिक वर्ष २०७४÷०७५ को अवधिमा उक्त कृषिजन्य वस्तु आयात भएको हो । कृषि विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार एक वर्षको अवधिमा ७५ अर्ब ७६ करोड ९५ लाख २४ हजार रुपैँयाको कृषि उपज आयात भएको छ ।

तथ्याङ्ककै आधारमा हेर्दा नेपालमा मासिक ६ अर्ब ३१ करोड रुपैयाँको कृषि उपज आयात हुन्छ । मुलुकलाई कृषि प्रधान भनिए पनि हरेक वर्ष कृषिजन्य वस्तुको आयात घट्नुको साटो बढ्दै जान थालेका छ । कृषिजन्य वस्तुमध्ये धानको आयात बढी हुने गरेको हो । गत वर्षको तथ्याङ्क हेर्र्दा झन्डै ४० अर्ब रुपैयाँभन्दा बढीको धान आयात भएको छ । मकै तथा गहुँको आयातमा १० अर्ब रुपैयाँ बाहिरिने गरेको कृषि मन्त्रालयको तथ्याङ्कले देखाउँछ । तरकारी तथा फलफूल २६ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको हो ।

त्यसैगरी आर्थिक वर्ष २०७४÷०७५ को अवधिमा नेपालबाट झन्डै साढे १२ अर्ब रुपैयाँको मात्रै कृषिजन्य उपज विदेश निर्यात भएको देखिन्छ । तथ्याङ्ककै आधारमा पनि निर्यातको तुलनामा आयात चारगुणाभन्दा बढी देखिन्छ । मुलुकमा निर्यात खुम्चिदै गएको र आयात बढ्दै गएको देखिन्छ । सरकारले आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर गराउने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ । त्यसका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट विभिन्न कार्यक्रम तथा योजनाहरु चालू आवदेखि लागू गर्नेगरी तय गरिएको छ । प्रधामन्त्री आधुनिकीकरण परियोजनाअन्र्तगत विभिन्न क्षेत्रलाई जोन, ब्लक र सुपरजोन तोकी उत्पादन वृद्धि गर्ने लक्ष्य छ ।

चालू आर्थिक वर्षदेखि नै कृषि उत्पादनलाई सुधार गर्दै उत्पादनमा वृद्धि गर्न कृषि विकास मन्त्रालयबाट विभिन्न नयाँ तथा कृषिमा युवा आकर्षणका कार्यक्रम लागू गर्न लागिएको कृषि मन्त्रालयका सहप्रवक्ता शङ्कर सापकोटाले बताए । उनले आगामी पाँच वर्षभित्र उत्पादन दोब्बर गर्न र आयात घटाई आत्मनिर्भरका कार्यक्रम लागू गरिएको बताए । ‘प्रधानमन्त्री आधुनिकीकरण परियोजनासहित, समयमै उन्नत बीउबीजन, मलको व्यवस्था, कृषि अनुदान, बिमालगायतका कार्यक्रम लागू गर्न लागेका छौं,’ उनले भने, ‘यसले कृषि उत्पादन बढ्ने र आत्मनिर्भर भई आयात घट्ने अनुमान गरेका छौं ।’

सरकारले जबसम्म स्पष्ट रुपमा व्यावहारिक कार्ययोजना र तयारी गर्दैन तबसम्म पाँच होइन २० वर्षमा पनि कृषिमा आत्मनिर्भर बन्न नसक्ने कृषिविज्ञ डा. कृष्ण पौडेलले बताए । उनले सरकारले त्यस किसिमको कार्ययोजना र तयारी नगरेको समेत बताए । ‘पाँच वर्षमा आत्मनिर्भर बन्न सकिन्न भन्ने होइन, सकिन्छ । तर, व्यावहारिक कार्ययोजना हुनुप¥यो नि !’ उनले भने, ‘जबसम्म कार्ययोजना बनाई लागू गरिँदैन पाँच होइन २० वर्षमा पनि आत्मनिर्भर बन्न सकिँदैन ।’ उनले विगतदेखि सरकारले यस खालका महत्त्वाकाङ्क्षी योजना ल्याएको बताउँदै कार्यान्वयन गर्ने पक्ष निम्छरिलो र कमजोर रहेको आरोप लगाए ।