कमसल मेसिनका कारण बिल प्रिन्ट प्रभावकारी भएन

प्रिन्टर मेसिन भरपर्दो नभएका कारण ट्याक्सीले यात्रुलाई प्रिन्टर बिल दिन नसकेको नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतमले बताए ।

उपत्यकामा सञ्चालित ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान भएका अधिकांश प्रिन्टर मेसिन बिग्रेका छन् ।

ट्याक्सीले यात्रुलाई ठगेको गुनासो बढेपछि उद्योग मन्त्रालयले विसं २०७३ पुुस १७ देखि नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत प्रिन्टर मेसिन जडान गरेको थियो । यात्रु चढेपछि ओर्लने बेलासम्मको मिटरमा उठेको पैसा लिनेगरी जडान भएको प्रिन्टर मेसिन बिग्रेपछि यात्रुहरुले बिल पाउन छाडेका हुन् ।

कतिपय ट्याक्सीमा प्रिन्टर मेसिन चलेपनि चालकले यात्रुलाई बिल दिँदैनन् । अधिकांश ट्याक्सीमा प्रिन्टर मेसिन बिग्रेका कारण समस्या भएको हो । प्रिन्टर मेसिन भरपर्दो नभएका कारण ट्याक्सीले यात्रुलाई प्रिन्टर बिल दिन नसकेको नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतमले बताए । ‘ट्याक्सीमा बिल जडान गर्ने क्रममा कमसल मेसिन पर्नजाँदा प्रिन्टर मेसिन चाँडो बिग्रिएको उनको भनाइ छ ।

कमसल प्रिन्टर मेसिन भित्र्याउँदा १४ करोड विदेशिएको अध्यक्ष गौतमको भनाइ छ । ‘बिलिङ जडान हुनु अगाडि नै हामीले बिलिङ प्रक्रिया कमजोर छ, उपत्यकाको धूलो धुवाँमा सहज रुपमा चल्न सक्दैन भनेका थियौँ,’ गौतमले भने, ‘तर जबरजस्ती लागू गर्न खोजियो, त्यसकारण चल्न सकेन ।’ उपत्यकाको नयाँ बसपार्क, कलङ्की, कोटेश्वर नयाँ सडक, वीर अस्पताल, लगनखेल, एयरपोर्ट, त्रिवि शिक्षण अस्पताल, ठमेल र दरबारमार्गलगायतका क्षेत्रका ट्याक्सीमा बढी ठगी हुने गरेको गुनासो छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी चालकको हेलचक्र्याइँका कारण प्रिन्टर मेसिन नचलेको बताउछन् । ‘हामीले एक वर्षको वारेन्टी दिएर प्रिन्टर मेसिन जडान गरेका छौँ, तर धूलो र कागज अड्किँदा चालकले बेवास्ता गरेका कारण प्रिन्टर मेसिन चाँडो बिग्रिएको हो,’ उनले भने । ट्याक्सी प्रयोग गर्ने यात्रुलाई बिल लिनसमेत विभागले आग्रह गरेको छ ।

विभागले प्रिन्टर मेसिन जडान नभएका ट्याक्सी भेट्टाएमा १० दिन सञ्चालनमा रोक लगाउनुका साथै जरिवाना गर्ने गरेको छ । प्रिन्टर मेसिन जडान गर्ने काम नापतौल विभागको भए पनि लागू गराउने र प्रिन्टर बिल नदिने चालकलाई कारबाही गर्ने जिम्मा यातायात व्यवस्था विभागको भएको उनको ठहर छ ।

प्रिन्टर मेसिन नदिने र बढी भाडा लिने चालकमाथि विभागले निरन्तर अनुगमन गरिरहेको यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए । गल्ती गर्ने ट्याक्सी चालकलाई निरन्तर रुपमा अनुगमन गरी कारबाही गरिरहेको अर्यालको भनाइ छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा १० हजार ६ सय ४५ ट्याक्सी दर्ता भएका छन् । त्यसमध्ये आठ हजार ५ सय ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त मिटरमा जान नमान्ने, बढी भाडा लिने र ट्याक्सी बिल नदिने दैनिक ३० ट्याक्सी चालकलाई कारबाही गरेको बताउँछन् । ‘हामीले दैनिक पाँच सयका हाराहारीमा ट्याक्सी जाँच गर्छौं,’ पन्तले भने, ‘त्यसमध्ये ३०/३५ ट्याक्सीचालक कारबाहीमा पर्ने गरेका छन् ।’

बढी भाडा लिने तथा मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमन गर्न महाशाखाले अहिले २० जना ट्राफिक प्रहरी बिना बर्दीमा खटाएको छ । सडकमा बसेर बढी भाडा लिने चालकलाई तीन हजार रुपैयाँ जरिवाना समेत लिने गरिएको महाशाखाका प्रमुख पन्तले बताए । राससको सहयोगमा