दुई वर्षमा बन्ने सिँगटी—लामोसाँघु प्रसारण लाइन दशक बित्दा पनि बनेन

लामो समयदेखिको जग्गासम्बन्धी विवाद, ठेकेदारको लापरबाही, स्थानीयको अवरोध, समन्वयको अभावलगायतका समस्याले प्रसारण लाइन प्रभावित बन्दै गएको हो ।

दुई वर्षमा निर्माण सक्ने लक्ष्यसहित सुरु भएको सिँगटी—लामोसाँघु १३२ केभी प्रसारण लाइन दशक बिते पनि अझै बन्न सकेको छैन । लामो समयदेखिको जग्गासम्बन्धी विवाद, ठेकेदारको लापरबाही, स्थानीयको अवरोध, समन्वयको अभावलगायतका समस्याले प्रसारण लाइन प्रभावित बन्दै गएको हो । प्रसारण लाइन निर्माण हुन नसक्दा विगत चार वर्षदेखि सिप्रिङ जलविद्युत् आयोजनाबाट उत्पादित १० मेगावाट विद्युत् खेर गइरहेको छ ।

सन् २०१० मा इन्डियन एरावेली कम्पनीले निर्माण गर्ने ठेक्का पाएर दुई वर्षमा निर्माण गर्ने टार्गेटसहित सम्झौता गरेको थियो । सन् २०१३ मा पनि सो कम्पनीले म्याद थप गर्यो । सन् २०१५ सम्ममा सक्ने लक्ष्यका साथ म्याद थपिएको भए पनि समयमा कामै गरेन । त्यसपछि पनि दोस्रो/तेस्रो पटक म्याद थपिँदै आए पनि सन् २०१७ सम्म कार्यप्रगति सन्तोषजनक नभएको स्थानीय बताउँछन् ।

गत २०७५ जेठभित्र निर्माण सक्ने अन्तिम लक्ष्य रहे पनि प्रसारण लाइनको प्रगति ५० प्रतिशतभन्दा बढी हुनै सकेन । निर्माण कम्पनीले चौथो पटक म्याद थप गरिरहेपनि नेपाल विद्युत् प्राधिकरणले अझै सोही कम्पनीबाट काम गराइरहेको छ । दोलखाको सिँगटी सबस्टेसनदेखि सिन्धुपाल्चोकको लामोसाँघु सबस्टेसनसम्म ३९ किलोमिटर दुरीमा एक सय २१ ओटा टावर निर्माण गर्नुपर्छ ।

तर, अहिले दोलखा क्षेत्रमा ६० ओटा टावर निर्माण गरिएको र बाँकी १५ ओटा टावर निर्माण भइरहेको छ । यता सिन्धुपाल्चोक क्षेत्रमा भने अझै जग्गा विवाद कायम छ । जसका कारण टावर निर्माणका लागि फाउन्डेसन निर्माण गर्न नसकिएको प्रसारण लाइन आयोजनाका पूर्वअध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए । उनले दोेलखा क्षेत्रमा सबैजसो टावर ठड्याउनेका काम लगभग सकिन लागेको भएपनि मुख्य समस्या सिन्धुपाल्चोक क्षेत्रमा देखिएको बताए । ‘दोलखा क्षेत्रमा फाउन्डेसन बनाएर टावर ठड्याउने काम भइरहेको छ । अहिलेसम्म ६० ओटा टावर ठडिएको र बाँकी १५ ओटा निर्माणाधीन छन्,’ उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणले जग्गा मिलाउन नसक्दा सिन्धुपाल्चोक क्षेत्रमा काम भएको छैन ।’

सिन्धुपाल्चोक क्षेत्रमा झन्डै ४० ओटाभन्दा बढी टावर निर्माण गर्नुपर्छ । नेपाल विद्युत् प्राधिकरणले भने जग्गासम्बन्धी कुनै विवाद नरहेको र काम भइरहेको बताएको छ । ‘जग्गासम्बन्धी विवाद अहिले छैन,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘काम भइरहेको छ, सम्पन्न गर्न समय लाग्छ ।’ गत २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण प्रसारण लाइन बन्न तीन वर्ष पर धकेलिएको हो ।

प्रसारण लाइन नबन्दा निर्माणको अन्तिम चरणमा रहेका आयोजनाबाट पनि विद्युत् खेर जाने सम्भावना देखिन्छ । खासगरी ४० मेगावाटको खानीखोला ‘ए’, ३० मेगावाटको खानीखोला दोलखा, २५ मेगावाटको सिँगटीखोला, २४ मेगावाटको खारेखोला, १४ मेगावाटको तल्लो खारेखोला, ५ मेगावाटको घट्टेखोलाबाट डेढ वर्षभित्र उत्पादन भई सञ्चालनमा आउँदैछन् । त्यो समयभित्र प्रसारण लाइन नबनेमा ती आयोजनाबाट उत्पादित विद्युत् खेर जाने सक्नेप्रति प्रवर्द्धक चिन्तित छन् ।