पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिह्न

विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिह्न प्रदान गरे पनि नेपालले भने विदेशी वस्तुलाई गत वर्षदेखि नेपाल गुणस्तर चिह्न प्रदान गर्न सुरु गरेको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो । जसमा आठ उद्योगका १३ सिमेन्ट, कम्पोजिट सिलिन्डर दुई, एलपीजी सिलिन्डर तीन, एलपीजी भल्व तीन, आइरन बार तीन र एलपीजी रेगुलेटर एक उद्योग छन् ।

विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिह्न प्रदान गरे पनि नेपालले भने विदेशी वस्तुलाई गत वर्षदेखि नेपाल गुणस्तर चिह्न प्रदान गर्न सुरु गरेको हो ।

विभागले स्टार सिमेन्ट, जेपी रेवा प्लान्ट, क्यालकम सिमेन्ट, सलुजा स्टिल, टाटा स्टिल, विके स्टिल, सूर्यशक्ति भेसल्स, ग्याँस ड्रोइड इन्जिनियरिङ, सर्वमंगल पेट्रोलियम, सुप्रिम इ प्रालि, टाइम टेक्नोप्लाष्ट, प्रभा इलेक्ट्रोनिक्स, बात्रा एशोसियट्स र दिल्ली एलपिजीलगायतका भारतीय उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको छ । यस्तै, विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत एनएस चिह्न प्रदान गरेको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनी विदेशी मुलुकबाट नेपाल गुणस्तर चिह्न लिने उद्योगमा क्रमशः वृद्धि हुँदै गएको बताउँछन् । “प्रक्रिया पुर्याएर एनएस चिह्न लिने विदेशी कम्पनीलाई हामीले एनएस चिह्न प्रदान गर्दै आएका छौँ,” उनी भन्छन् ।