रत्नपार्क–बानियाटार लाइनमा यात्रुलाई सास्ती, १२ सिटे माइक्रो कहिलेसम्म ?

युवा तथा तन्नेरीलाई लाइनमा लागेर गाडी चढ्ने नियम प्रभावकारी होला । तर वृद्धवृद्धा र गर्भवती महिलालाई यो प्रणालीले समस्यामा परेको महानगरीय ट्राफिक महाशाखाका एसएसपी वसन्त पन्तको भनाइ छ ।

गत पुसदेखि महानगरीय ट्राफिक महाशाखाले रत्नपार्कलगायत अन्य केही स्थानमा लाइन बसेर यात्रा गर्नुपर्ने नियम लागु गर्यो । केही समय सेवाग्राही तथा चालकलाई सहज नै भयो । सबैले राम्रो सिस्टम भन्दै तारिफसमेत गरे ।

तर अहिले यात्रुले रत्नपार्कदेखि बानियाटार हाइटसम्म जाने यात्रुले सास्ती भोगिरहेका छन् । त्यो क्षेत्रमा न कुनै ठूला सुविधायुक्त बस सञ्चालन भएका छन्, न पुग्ने सवारीसाधन नै छन् । सोमबार बेलुका एउटा अचम्मको दृश्य देखियो । दुई सयभन्दा बढी यात्रु लामबद्ध रुपमा माइक्रो बस कुरिरहेका थिए । तर एक ट्याक्सी डाइभरले सय रुपैयाँमै बानियाटरसम्म पुर्याइदिने भन्दै पाँचजना हतार भएका मानिस हतारहतार ट्याक्सी चढे ।

चढ्नेमध्ये बानियाटारकी स्थानीय महिला मञ्जु श्रेष्ठले भनिन्, ‘के गर्नु गाडी छैन, सानो माइक्रो आउँछ, त्यही पनि कतिबेला आउने हो पत्तो छैन । आए पनि घण्टौं लाइन कुरेर पनि १४–१५ जनाभन्दा अटिँदैन, आखिर बेलुका ट्याक्सीमै जानुपर्ने बाध्यता हुन्छ ।’ उनी मात्र होइन, त्यो रुटमा यात्रा गर्ने सासाना बालबालिका, कलेज विद्यार्थी तथा वृद्धवृद्धा समेत समस्यामा परिरहेका छन् ।

कक्षा १२ मा पढ्दै गरेकी आस्था केसी पनि यस्तै समस्यामा परेकी छन् । ‘बिहान कलेज जाँदा पनि कक्षा छुटिसकेको हुन्छ, बेलुका पनि कतिखेर हुन्छ पत्तो छैन । दिक्क लागिसक्यो, कहिलेसम्म यसरी यात्रा गर्ने हो ?’, उनले भनिन् ।

त्यस्तै रानीपोखरीमा लाइन मिलाइरहेका ट्राफिक प्रहरी जवान रमेश शर्माले भने लाइन लागेर गाडी चढ्ने बानीको विकास गर्न यस्तो काम थालिए पनि यात्रुलाई कठिन भएको बताए । माइक्रो आउनेजाने भर नहुँदा यस्तो अवस्था आएको उनको भनाइ छ । ठेलमठेल गर्दै चढेर सिटमा बस्ने प्रवृत्ति मौलाउँदै गएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत पुसबाट काठमाडौंमा विभिन्न बस स्टपमा लाइन लागेर बस चढ्ने अभियान सुरु गरेको थियो । कतिपय स्थानमा यो नियम लागु नभए पनि रत्नपार्कदेखि बानियाटारसम्म जने यात्रु भने हालसम्म लाइनमै बसेर यात्रा गर्न बाध्य छन् ।

युवा तथा तन्नेरीलाई त यो नियम प्रभावकारी होला । तर वृद्धवृद्धा र गर्भवती महिलालाई यो प्रणालीले समस्यामा परेको महानगरीय ट्राफिक महाशाखाका एसएसपी वसन्त पन्तको भनाइ छ ।