पुराना सवारीसाधन हटाउँदै यातायात विभाग, भदौदेखि पुराना गाडी रोक लगाइने

सरकारले वैशाख १ गतेदेखि नै मापडण्डविपरीत चलिरहेका, इन्जिन पुराना भएका तथा प्रदूषण गर्ने अथवा २० वर्ष पुराना सवारीसाधनलाई रोक लगाउने भनेको थियो । तर त्यो सफल हुन सकेको थिएन ।

यातायात व्यवस्था विभाग २० वर्ष पुराना सवारीसाधन हटाउने तयारीमा जुटेको छ । सरकारले पुरान थोत्रा सवारीसाधनलाई रोक लगाउने नीति ल्याए पनि पटकपटक पहल हुँदासमेत पुराना सवारीसाधन हटाउन सकेको थिएन ।

अब भदौबाट देशभर रहेका पुराना सवारीसाधनलाई विस्थापन गर्ने तयारी भएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए । उनका अनुसार यसबारेमा विभाग तथा अन्य निकायसँग छलफल भइरहेको छ ।

‘विशेषगरी सरकारले हरियो स्टिकर प्राप्त नगरेका चारपाङ्ग्रे सवारीसाधनलाई भदौदेखि रोक लगाउने भएको हो,’ उनले भने । पछिल्लो समय सवारीसाधनबाट मानव स्वास्थ्यलाई हानि गर्ने गरी धूवाँको उत्सर्जन वृद्धि भएपछि यातायात व्यवस्था विभागले यस्तो व्यवस्था गर्न लागेको अर्यालले जानकारी दिए ।

सरकारले वैशाख १ गतेदेखि नै मापडण्डविपरीत चलिरहेका, इन्जिन पुराना भएका तथा प्रदूषण गर्ने अथवा २० वर्ष पुराना सवारीसाधनलाई रोक लगाउने भनेको थियो । तर त्यो सफल हुन सकेको थिएन ।

यातायात व्यवस्था विभागमा पूर्वमहानिर्देशक हुँदा रुपनारायण भट्टराईले स्वतन्त्र रुपले पुराना गाडीहरुलाई सञ्चालन गर्न दिए पनि गत दुई महिनाअघि पूर्ण रुपमा रोक लगाइने बताएका थिए । तर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भट्टराईलाई मन्त्रालयलमा सरुवा गराएपछि उक्त कार्य अन्योलमा परेको थियो ।

अहिले नयाँ यातायात व्यवस्था विभागको महानिर्देशकमा लावण्यकुमार नियुक्त भएका छन् । यससँगै विभागले कामको सुरुवात गरेको हो । विभागले पहिलो चरणमा एसफाइभ रुटमा १७ ठूला बस सञ्चालनको तयारी पूरा भई आगामी २५ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यस क्षेत्रमा चल्ने ६६ ओटा टेम्पो माइक्रोलाई विस्थापन गर्ने भएको छ ।