बाँकी बक्यौता नतिर्ने ६ एयरलाइन्सको उडान रोक्ने तयारी

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयलाई लामोसमयदेखि बक्यौता नतिरेका आन्तरिक तथा अन्तराष्ट्रिय एयरलाइन्सहरुले पुष २४ गतेभित्र बाँकी बक्यौता नतिरे उडान रोक्ने कार्यालयले चेतावनी दिएको छ ।

लामोसमयदेखि बक्यौता रकम नतिरेपछि कार्यालयले पुष २४ गतेसम्मको समय दिदैं रकम दाखिला नगरे उडान गर्न नदिने जनाएको हो । कार्यालयले बक्यौता रकम बाँकी रहेका सबै एयरलाइन्सलाई पत्र पठाएर समयसिमाभित्र रकम नतिरे उडान रोक्ने चेतावनी दिएको हो ।

कार्यालयले यसअघि मंसिर मसान्तसम्मको समय दिएर आन्तरिक तथा अन्तराष्ट्रिय उडान भर्ने एयरलाइन्सलाई बक्यौता तिर्न निर्देशन दिएको थियो । कार्यालयको ताकेतापछि मंसिर मसान्तसम्म एयरलाइन्सहरुले ६९ करोड ६४ लाख रुपैयाँ दाखिला गरेका थिए । यसमध्ये २ सातामा २२ करोड रुपैयाँ एयरलाइन्सहरुले बुझाएका हुन् । अन्तराष्ट्रिय र आन्तरिक एयरलाइन्सले अब कार्यालयलाई ६६ करोड ३९ लाख ४६ हजार ३ सय ८ रुपैयाँ बुझाउन बाँकी रहेको छ ।

लामोसमयदेखि बक्यौता राख्ने आन्तरिक उडानतर्फ सौर्य एयरलाइन्स, सिम्रिक एयरलाइन्स, नेपाल एयरलाइन्स त्यस्तै अन्तराष्ट्रिय उडान भर्ने इण्डियन एयरलाइन्स, मलेसियन एयरलाइन्स, नेपाल एयरलाइन्स र एयर एशियाको उडान रोक्ने तयारी कार्यालयले थालेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक देवानन्द उपाध्यायले पटक पटक ताकेता गरेपछि बक्यौता रकम उठ्दै गएको बताए । ‘ बाँकी रकम उठाउनका लागि पुष २४ गतेसम्म समय दिइएको र त्यसपछि रकम नतिर्ने सबै एयरलाइन्सको उडान रोक्ने तयारी भएको छ,’ उनले भने ।