अधिकांश लगानीकर्ताले मोबाइल प्रयोग गर्ने तर नेप्सेले बनाएको अनलाइन मोबाइलबाट चलाउन समस्या हुने, पटक–पटक नयाँ पासवर्ड लिनुपर्ने, पासवर्डको कोर्ड आउन लामो समय लाग्ने समस्याले गर्दा लगानीकर्ता ब्रोकरमार्फत नै कारोबार गरिरहेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन कारोबार प्रणाली सुरु गरे पनि लगानीकर्ताले ब्रोकरकै माध्यमबाट सेयर कारोबार गरिरहेका छन् ।
अधिकांश लगानीकर्ताले मोबाइल प्रयोग गर्ने तर नेप्सेले बनाएको अनलाइन मोबाइलबाट चलाउन समस्या हुने, पटक–पटक नयाँ पासवर्ड लिनुपर्ने, पासवर्डको कोर्ड आउन लामो समय लाग्ने समस्याले गर्दा लगानीकर्ता ब्रोकरमार्फत नै कारोबार गरिरहेका छन् ।
चालू आवको सुरुआतदेखि नेप्सेले परीक्षणका रुपमा अनलाइन कारोबार प्रणाली प्रभावकारी रुपमा सञ्चालनमा आउन नसकेको दिव्या सेक्युरिटिजबाट लगानी गर्दै आइरहेका गोपाल ओलीले क्यापिटल नेपाललाई बताए ।
अधिकांश लगानीकर्ताले अहिले पनि युजर नेम र आईडी लिएका छैनन् । ब्रोकरको माध्यमबाट नै सेयर किनबेच गर्दै आइरहेका छन् । अनलाइन कारोबारको पूर्ण जानकारी नभएकाले पनि यो प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसकेको हो ।
परीक्षणका रुपमा सञ्चालनमा आए पनि एकपछि अर्को समस्या आउँदा लगानीकर्ता अनलाइन प्रणालीदेखि सन्तुष्ट नभएका हुन् । डेक्सटप र ल्यापटपमा सहज रुपमा चलाउन सकिने भए पनि मोबाइलमा अनलाइन प्रणाली उपयुक्त नभएपछि लगानीकर्ताले पुरानै बाटो रोजेका हुन् । ‘लगानीकर्तामा अनलाइन कारोबार सञ्चालनमा आउँदा जुन प्रकारको उत्साह थियो त्यस प्रकारको उत्साह अहिले छैन,’ ओलीले भने ।
पछिल्लो समय घटिरहेको नेप्से परिसूचक अनलाइन प्रणाली सञ्चालनमा आएपछि सुधारात्मक बाटोमा जाने लगानीकर्ताले बताउँदै आएका थिए । तर, नेप्सेको घट्दो क्रमले अनलाइन प्रणालीलाई छायाँमा पारेको छ ।
पूर्णरुपमा सञ्चालनमा नरहेकाले अनलाइन सिस्टममा समस्या आउने सक्ने नेप्सेले बताएको छ । अनलाइन परीक्षणका लागि सञ्चालनमा ल्याइएकाले देखिएका समस्या सुधार गर्दै जाने नेप्सेले बताएको छ ।
एसियन सेक्युरिटिजका सञ्चालक राजकुमार खत्रीका अनुसार अनलाइन कारोबार प्रणालीमा आएको एकपछि अर्को समस्याले लगानीकर्तामा निरुत्साह छाएको छ । उनले भने, ‘लगानीकर्ताले पटक पटक नयाँ पासवर्ड लिन पर्ने व्यवस्थादेखि आजित भएका छन् ।’ तर, सुधारको क्रममा रहेकाले उक्त समस्या विस्तारै समाधान हुने विश्वास उनले व्यक्त गरे ।
यस्तै दिव्या सेक्युरिटिजबाट लगानी गर्दै आएका ओलीले अनलाइन प्रणालीको ‘लगइन’मा आएको समस्याले आफूमा उत्साह नआएको बताए । उनले सेयर बजारको इतिहासमा पहिलो पटक सञ्चालनमा आएको अनलाइन कारोबार प्रणाली सुधारको पाटो भए पनि तत्काल उत्साह नआउने बताए । ‘अहिले पटक पटक पासवर्ड लिन पर्ने झन्झटिलो प्रक्रियाबाट लगानीकर्तालाई मूख्य समस्या भइरहेको छ,’ उनले भने ।