नेपालका ६ ठूला  ग्रुपले १७ अर्बमा खरिद गरे यूटीएल

यूटीएलसँग रहेको सम्पूर्ण सेयर नेपालका विशाल ग्रुप, जावलाखेल ग्रुप (डिस्टिलरी), प्रभु ग्रुप, ज्योति ग्रुप, आईएमएस ग्रुप र उपेन्द्र महतो समूहले खरिद गर्ने सम्झौता भइसकेको छ ।

युनाइटेड टेलिकम (यूटीएल)लाई नेपालका ६ ठूला व्यावसायिक ग्रुपले खरिद गरेका छन् । भारत सरकारको बहुमत सेयर रहेको यूटीएलले नेपालबाट बाहिरिने अन्तिम तयारी गरेको छ । यूटीएलसँग रहेको सम्पूर्ण सेयर नेपालका विशाल ग्रुप, जावलाखेल ग्रुप (डिस्टिलरी), प्रभु ग्रुप, ज्योति ग्रुप, आईएमएस ग्रुप र उपेन्द्र महतो समूहले खरिद गर्ने सम्झौता भइसकेको छ ।

यूटीएलको सम्पूर्ण सेयर नेपाली व्यवसायीले खरिद गरेपछि यूटीएलले नेपाल छोड्न लागेको हो । भारतीय सरकारको महानगर टेलिफोन निगम लिमिटेडको २६ दशमलव ६८ प्रतिशत, भारत सरकारकै टेलिकम्युनिकेसन कन्सल्ट्यान्टस इन्डिया लिमिटेडको २६ दशमलव ६६ प्रतिशत र भारतीय कम्पनी टाटा कम्युनिकेसन्स लिमिटेडको २६ दशमलव ६६ प्रतिशत लगानी रहेको युटीएलको सेयर नेपाली व्यावसायिक गु्रपले खरिद गर्ने भएपछि यूटीएल नेपालको पहिलो निजीक्षेत्रको टेलिकम कम्पनी हुने भएको छ । यूटीएलसँग यसअघि उपेन्द्र महतो समूहको २० प्रतिशत सेयर थियो । यूटीएलमा जुली कुमारी महतोको नाममा नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत सेयर थियो ।

नयाँ सेयर संरचनामा उपेन्द्र महतो समूहको ४० प्रतिशत र अन्य ५ ग्रुपको ६० प्रतिशत सेयर रहने नेपाली साझेदारबीच पनि सम्झौता भइसकेको छ । तत्काल १७ अर्ब रुपैयाँ लगानीमा नयाँ गु्रपले यूटीएल खरिद गर्ने सम्झौता भएको यूटीएलको उच्च व्यवस्थापकले क्यापिटल नेपाललाई जानकारी दिए । ‘हामी नेपाल छोड्ने अन्तिम तयारीमा छौं, यूटीएल बिक्री गर्नेबारे सम्झौता भएको छ,’ उनले भने । नेपालको गु्रपसँग सम्झौता भएर अहिले भारत सरकारसँगको काम भइरहेकाले एक महिनाभित्र सम्पूर्ण काम सकिने उनले जानकारी दिए ।

भारत सरकारसँग गरिने काम सबै सकिएपछि नेपालमा सेयर हस्तान्तरण हुने र सरकारलाई बुझाउने कर तथा दायित्व बुझाउने यूटीएलले बताएको छ । नेपालमा १६ वर्षअघि स्थापना भएको यूटीएल सुरुदेखि नै घाटामा रहँदै आएको छ । यूटीएलले गत वर्षको भदौमा दूरसञ्चार सेवाको एकीकृत अनुमतिपत्र (युनिफाइड लाइसेन्स) लिएको थियो । यूटीएलले किस्ताबापतको २० करोड रुपैयाँ चुक्ता गरेपछि प्राधिकरणले लाइसेन्स दिएको हो । सरकारले त्यसको ४ वर्षअघि नै एकीकृत लाइसेन्स दिने निर्णय गरेको थियो ।यूटीएलले सरकारले राखकाे विभिन्न सर्त र दायित्व पूरा गरेकाे थिएन । त्यसैका कारण लाइसेन्स लिन सकेकाे थिएन ।

हाल यूटीएलले नेपालको ४० जिल्लाका करिब १ सय १० प्रमुख सहरमा ‘लिमिटेड मोबिलिटी’ प्रविधिमा आधारित टेलिफोन सेवा उपलब्ध गराउँदै आएको छ । एकीकृत लाइसेन्स लिएको यूटीएलले नयाँ व्यवस्थापनपछि सबै खाले सेवा दिने जानकारी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ५ लाख २६ हजार ८ सय ६९ जना यूटीएलका भ्वाइस सेवा र ६३ हजार डाटा सेवा लिने ग्राहक छन् ।

यूटीएलले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई लाइसेन्स नवीकरणबापतको १३ अर्ब रुपैयाँ बुझाउनुपर्ने छ । पटकपटक नेपाल सरकारलाई तिर्नुपर्ने बक्यौता छुट माग्दै आएको यूटीएलले सेवा सञ्चालन नगरे र बक्यौता नतिरे उसको लाइसेन्स रद्द गर्नुपर्ने कानुनी बाध्यता भएपछि यूटीएलले सेयर बेचेर नेपालबाट बाहिरिन लागेको हो । सरकारले २०५८ सालमा नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनीका रुपमा भारतीय कम्पनी यूटीएललाई लाइसेन्स दिएको थियो ।