न्यूनतम लगानीमै सुरु गर्न सकिने बिजनेस आइडिया

जसले आफ्नो जागिर जीवन बिताइसकेका छन् र केही नयाँ गर्ने योजना पनि बनाइरहेका छन्, उनीहरु मात्र नभई बेरोजगारलाई पनि यी टिप्स उपयोगी हुन सक्छन् ।

अहिले हजारौं मानिसहरु जागिर मात्र नभई घरमै बसेर सानो लगानीमै व्यवसाय गर्ने विचारमा छन् । औसतमा मान्छेले आफ्नो व्यावसायिक जीवनमा दुईतीन ओटा व्यवसायको अपेक्षा गर्न सक्छन् । एउट करिअर छोड्नेहरुले प्रायःजसो आफ्नो दोस्रो या तेस्रो करिअरतिर पाइला चाल्न आफ्नो घरैबाट सुरु गर्नेबारे सोच्ने गर्छन् । जो व्यक्तिहरु परम्परागत १०–५ को कार्यशैलीको हिस्सा बनेका छन् र त्यसबाट सेवानिवृत्त हुने अवस्थामा पुगेका छन्, उनीहरुले अब अगाडि के गर्ने भनेर सोचिरहेका होलान् । राम्रो खबर, घरै बसेर गर्न सकिने व्यवसाय सुरू गर्नु लगभग ती सबैको पहुँचभित्र हुन्छ, जसले जोखिम लिन र कडा पश्रिम गर्न चाहन्छन् ।

सुरू गर्न १५ सय डलर वा त्योभन्दा थोरै रकम लाग्ने साना व्यवसायहरु—

एकाउन्टटेन्ट
(यसका लागि अनुभव, तालिम अथवा लाइसेन्स आवश्यक पर्न सक्छ)

आफूले दिने सेवाहरुको जानकारीमूलक एउटा पम्प्लेट बनाउनुहोस् । यसो गर्नुअघि तपाईंले यो थाहा पाउनुपर्छ, कि ती सेवा के हुनेछन् । के तपाईंले एउटा सानो व्यवसायका लागि बहीखाता राख्न चाहनुहुन्छ ? एकाउन्टिङको विस्तृत काममा वास्तवमा व्यवसायको आवश्यकताका आधारमा मासिक, त्रैमासिक र वा वार्षिक आधारमा ब्यालेन्स सिट, आय विवरण तथा अन्य आर्थिक रिपोर्ट पर्छन् । अन्य विशेषज्ञतामा सम्भावित कामको ठूलो क्षेत्र ट्याक्स एकाउन्टिङ समावेश हुन सक्छ । डीयूई डट कम जस्ता सेवा प्रदायक कम्पनीले फ्रिलान्सर खोज्न सहयोग गर्छ । कतिपय व्यवसायीले आफ्नो दैनिक आयव्यय विवरणको बहीखाता राख्नभन्दा आफ्नो करका बारेमा व्यावसायिक सहयोग खोज्छन् ।

साइकल मर्मत

देशका धेरै भागमा यो व्यवसाय मौसमी हुन्छ, तर यससँग सम्बन्धित अरु उपाय पत्ता लगाउन सक्नुहुन्छ । पार्किङ स्थान खोजेर भाडा लगाउन सकिन्छ । तराईतिर र केही पहाडी सहरमा यसको व्यवसाय वर्षभरि नै गर्न सकिन्छ ।

व्यावसायिक योजना सेवा

बजार अनुसन्धान, व्यापार योजना तथा वित्तीय विवरण सहितको एउटा हलोदेखि हाइड्रोसम्मको व्यापार योजना दिनुहोस् । क्लाइन्टको मुख्य कामका आधारमा आफ्नो पारिश्रमिक भन्नुहोस् र अरु थपिँदै जाने सेवाका लागि पारिश्रमिक पनि थप्दै जानुहोस् ।

चिम्नी सफाइ

चिम्नी सफाइकर्ता बन्नुको अर्थ पहिलेदेखि नै यस व्यवसायमा भएकासँग सिक्नुभन्दा बढी केही जान्न सकिँदैन । चिम्नी विशेषज्ञ बनेर तपाईं चिम्नी सफाइको व्यवसायलाई चिम्नी निरीक्षण सेवासँग जोडेर गर्न सक्नुहुन्छ । जस्तै– चिम्नी सफा गर्नुपर्ने भएको छ कि छैन, अथवा चिम्नी राम्रोसँग चलिरहेको छ कि त्यसलाई मर्मतको आवश्यकता छ आदि ।

सफाइ सेवा

यो व्यवसायका धेरै पक्ष हुन सक्छन् । यदि तपाईं घण्टाका आधारमा अरु कसैले नगर्ने समयमा काम गर्न चाहनुहुन्छ भने कार्यालयको सरसफाइमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ । तपाईं खुद्रा कारोबार गर्ने पसलमा पनि सम्पर्क गर्न सक्नुहुन्छ । रेस्टुरेन्टहरुमा दिनहुँ सरसफाइको आवश्यकता पर्छ, त्यसैले तिनीहरु तपाईंका स्थायी ग्राहक बन्न सक्छन् । यो व्यवसायका लागि तपाईंले विज्ञापन र अन्य कुरामा धेरै पैसा खर्च गर्नुपर्दैन ।

कम्प्युटर सेवा
(यसका लागि अनुभव, तालिम अथवा लाइसेन्स आवश्यक पर्न सक्छ)

मुख्य मुख्य सफ्टवेयर अध्ययन गर्नुहोस्, जुन बढी चल्तीका छन् । जस्तै– वर्ड प्रोसेसिङ, फोटो मेनिपुलेसन सफ्टवेयर, मेल मर्ज, स्प्रेडसिट, डिजाइन तथा विशेष गरी सुरक्षा सफ्टवेयर । कम्प्युटरसँग सम्बन्धित सबै उपकरण– मनिटर, किबोर्ड, माउस, प्रिन्टर तथा स्क्यानर जस्ता सामानका काम र प्रकारका बारेमा जानकारी राख्नुहोस् । आफ्नो क्षेत्रका सबै आईएसपी (इन्टरनेट सेवा प्रदायक) हरुसँग परिचित हुनुहोस् । आफूलाई यस्तो विज्ञका रुपमा स्थापित गर्नुहोस् जसले व्यक्तिगत, साना तथा ठूला व्यवसायीहरुको आवश्यकता पूरा गर्न सकोस् ।

परामर्शदाता

परामर्शदाता बन्न तपाईंलाई कुनै विषयमा विशेषज्ञता हासिल गर्नुपर्ने आवश्यकता रहन्छ, ताकि त्यस क्षेत्रमा काम गर्ने अरु व्यक्तिहरुको सल्लाहकारका रुपमा स्वयम्लाई बजारमा बेच्न सक्नुहुनेछ । सायद तपाईंले आफ्नो करिअर लाइफमा कुनै ठूलो ओषधि कम्पनीको गोदाम व्यवस्थापनको काम गर्नु भएको छ; कुनै ठूलो जुता फ्याक्ट्रीमा निकै वर्षसम्म सबै मार्केटिङको काम गर्नुभएको छ; ब्युटी पार्लरलाई चाहिने सौन्दर्य प्रसाधन आपूर्ति गर्ने तथा टेक–आउट रेस्टुरेन्टका चेन स्टोर स्थापना गर्नुभएको होला । यी तमाम अनुभवको उपयोग बिना गल्ती जुन तपाईंले अनुभव गर्नुभयो, अन्य व्यक्तिहरुलाई सहयोग गर्न सक्नुहुन्छ ।

इन्टरप्रेनर डटकमबाट साभार