उखुको मूल्य अझै निर्धारण भएन

गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसा कायम थियो ।

नवलपरासीका किसानले उखुको मूल्य तत्काल निर्धारण गर्न माग गरेका छन् । उखु काट्ने मौसम सुरु भइसक्दा पनि सरकारले उखुको मूल्य निर्धारण गरेको छैन ।

किसानको मागलाई ध्यानमा राखी न्यूनतम मूल्य प्रतिक्विन्टल रु ५ सय ६२ निर्धारण गर्नुपर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए । गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसा कायम थियो ।

गत वर्ष करिब १८ लाख क्विन्टल उखु उत्पादन भएको यस क्षेत्रमा यस वर्ष करिब १५ लाख क्विन्टल मात्र उखु उत्पादन भएको अध्यक्ष यादवले बताए । चिनी उद्योगले उखु किसानसँग उखु खरिद गरी एक वर्षपछि मात्र रकम भुक्तानी दिने र उचित मूल्यसमेत पाउन नसक्दा किसानले वर्षेनी उत्पादन घटाउँदै लगेका छन् ।

जिल्लामा सात हजार १४९ हेक्टरमा उखुखेती गरिँदै आएको छ । करिब १० हजार घरधुरी उखुखेतीमा संलग्न छन् ।