चिया पनि निर्यातभन्दा आयात बढी : एक वर्षमै डेढ अर्बको व्यापार घाटा

झन्डै ९ अर्ब २० करोड ४ लाख ६० हजार रुपैयाँको चिया निर्यात भई एक अर्ब ५४ करोड ७० लाख २७ हजार रुपैयाँ व्यापार घाटा भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

मुख्य नगदेबालीका रुपमा रहेको चियाको निर्यात बढ्ने अपेक्षा लिइए पनि एक वर्षका बीचमा निर्यातभन्दा आयात बढी देखिएको छ ।

गत आर्थिक वर्ष २०७४/०७५ मा १० अर्ब ७४ करोड ७४ लाख ९३ हजार रुपैयाँको चिया, कफी र अन्य मसलायुक्त पत्ती आयात भएको हो । त्यसैगरी सो अवधिमा विभिन्न मुलुकमा झन्डै ९ अर्ब २० करोड ४ लाख ६० हजार रुपैयाँको चिया निर्यात भई एक अर्ब ५४ करोड ७० लाख २७ हजार रुपैयाँ व्यापार घाटा भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । निर्यातभन्दा आयात बढेपछि नेपालले डेढ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको हो ।

नेपालमा चियाको माग बर्सेनि बढ्दै गएको छ । तर, त्यसअनुरुप उत्पादन र निर्यात बढाउन नसक्दा व्यापार घाटा देखिएको हो । स्वदेशमै उत्पादित चियाको खपत हुन नसक्नु, माग बढ्नु, चियाको उत्पादन यथास्थितिमा हुँदा चिया आयात हुने क्रम नरोकिएको हो । नेपालमा उत्पादित चिया छिमेकी चीन, भारत, जापान लगायतका देशमा पनि निर्यात हुन्छ भने भारत, चीन, जापान, थाइल्यान्ड र अस्ट्रेलिया लगायतका देशबाट आयात हुने गरेको छ ।

इलाम, झापा, धनकुटा, तेह्थुम, पाँचथर, ताप्लेजुङ, मोरङ्ग, भोजपुर, दोलखा, रामेछाप, गुल्मी लगायतका क्षेत्रमा चिया तथा कफी उत्पादन गरिन्छ । नेपालमा झन्डै १० हजार चिया किसान छन् । व्यावसायिकभन्दा घरायसी रुपमा मात्रै चिया तथा कफीको उत्पादन गर्ने किसानको सङ्ख्या अधिक छ ।

अन्य जिल्लाको तुलनामा इलाम र झापामा भने चिया खेती व्यावसायिक बनेको छ । नेपालमा खासगरी सीटीसी, अर्थोडक्स र ग्रीन टी उत्पादन हुन्छ । नेपालको कुल १२ हजार ६६ हेक्टर क्षेत्रफलमा चिया खेती गरिन्छ ।