लामो समयदेखि दूध, पानी र अन्य खाद्यपदार्थमा गुणस्तर नदेखिएको भन्दै त्यसका सुधारका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गर्दै आएको छ ।
साउनमा विभिन्न गुणस्तरहीन १५ खाद्य उद्योग तथा पसलविरुद्ध मुद्दा दायर भएको छ । लामो समयदेखि दूध, पानी र अन्य खाद्यपदार्थमा गुणस्तर नदेखिएको भन्दै त्यसका सुधारका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गर्दै आएको छ ।
अनुगमनका क्रममा गुणस्तरहीन खाद्य पदार्थ उत्पादन, बिक्रीवितरण गर्ने उद्योग, पसल तथा उत्पादक कम्पनीविरुद्ध मुद्दा तथा सिल गरिएको विभागले जानकारी दिएको छ । पानी, दूध र अन्य खाद्य उद्योगविरुद्ध मुद्दा दायर भएको छ । मुद्दा दायर हुनेहरुमा पञ्च बेभरेज प्रालि, गङ्गा खानेपानी उद्योग, सगरमाथा फुड एन्ड बेभरेज प्रालि, वैद्यनाथ घिउ उद्योग, वाग्मती स्विट्स प्रालि, श्रीकृष्ण बेभरेज, शङ्खधर मिठाइ पसल, तुलसा डेरी, माता सरस्वती खानेपानी प्रालि, गोरखा बेभरेज प्रालि, आरती स्विट्स प्रालि, जयप्रकाश मिठाइ पसल, चन्द्रायण स्विट्स, दिव्य स्विट्स र मोडर्न डेरीमाथि मुद्दा दायर भएको विभागले जनाएको छ ।
यस्तै ८ ओटा खाद्य उत्पादक तथा इन्डस्ट्रिज सिलबन्दीमा परेका छन् । वीरगञ्जमा सञ्चालित आयुष प्रोडक्ट्स (निर्मल जल), बोलबम प्योर ड्रिङ्किङ वाटर उद्योग, मन्नु फुड एन्ड न्युट्रिसियस उद्योग (फ्रेन्ड्स), बाराको सिमरामा वीरगन्ज फुड इन्डष्ट्रिज प्रालि र मिल्क फुड डेरी प्रोडक्स, मकवानपुरमा मकवानपुर बेभरेज प्रालि, शुभ बेभरेज प्रालि, नेचुरल बेभरेज प्रालिलाई सिलबन्दी गरिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।
गत साउन २३ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहितको टोलीले वीरगञ्ज महानगरपालिका—२१ स्थित निम्बस समूहद्वारा प्रोबायटिक इन्ड्रस्ट्रिज प्रालिबाट उत्पादन हुने तोरी, भटमास तेल र तोरीको तेल खान अयोग्य पाइएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको थियो ।
उनले खाद्यपदार्थको बजार अनुगमनका क्रममा गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्ने केही उद्योग, पसल तथा कम्पनीमाथि मुद्दा दायर गरिएको र केहीलाई सिलबन्दीसमेत गरिएको बताए । चाडपर्व नजिकिँदै जाँदा हुने खाद्यपदार्थको मूल्य, मिसावट, प्रदूषित खाद्यपदार्थ बिक्रीवितरण हुन सक्ने भन्दै विभागले अनुगमनलाई चुस्त पारेको उनले जानकारी दिए ।