सातै प्रदेशमा अत्याधुनिक गोदामघर बनाउन झन्डै ४ अर्ब आवश्यक पर्ने

रासायनिक मलको अभाव हुन नदिन र नियमित आपूर्तिका लागि नयाँ रणनीतिअनुरुप यस्तो प्रस्ताव गरेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले मलको अभाव हटाउन सबै प्रदेशमा गोदामघर निर्माण सम्बन्धी कार्यविधि र योजना बनाई अगाडि बढ्न कृषि सामग्री कम्पनी लिमिटेडलाई निर्देशन दिएका हुन् ।

नेपालमा प्रायः हरेक वर्ष रासायनिक मलको अभाव भइरहेका बेला सरकारले सातै प्रदेशमा मल भण्डारण गर्न अत्याधुनिक गोदामघर बनाउने योजना अगाडि सारेको छ । रासायनिक मलको अभाव हुन नदिन र नियमित आपूर्तिका लागि नयाँ रणनीतिअनुरुप यस्तो प्रस्ताव गरेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले मलको अभाव हटाउन सबै प्रदेशमा गोदामघर निर्माण सम्बन्धी कार्यविधि र योजना बनाई अगाडि बढ्न कृषि सामग्री कम्पनी लिमिटेडलाई निर्देशन दिएका हुन् ।

सात ओटै प्रदेशमा मल भण्डारणका लागि अत्याधुनिक गोदामघर स्थापना गर्न नीतिगत रुपमा प्रस्ताव पास भइसकेको र स्रोत व्यवस्थापन हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । उनले सबै प्रदेशमा न्यूनतम ६० हजारदेखि ८० हजार टन मल राख्न आवश्यक पर्ने गोदामघर निर्माणका लागि झन्डै ४ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने बताए । चालू आर्थिक वर्षमा वित्तीय स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरिने र आवश्यक प्रक्रिया अगाडि बढाउने बताए । ‘सबै प्रदेशमा मल भण्डारण गर्ने अत्याधुनिक गोदामघर बनाउन नीतिगत प्रस्ताव स्वीकृत भएको छ । तर, स्रोत व्यवस्थापन भइसकेको छैन,’ उनले भने, ‘चालू आवमा सबै बजेट विनियोजन गर्न सकिने अवस्था छैन । केही अर्थ मन्त्रालयसँग प्रस्ताव गर्ने र बाँकी अर्को वर्षको बजेटबाट मिलाउने गरी प्रक्रिया अगाडि बढाउने छौं ।’

गोदामघर निर्माण गर्न आवश्यक जग्गा साल्ट्र टेडिङसँग भएको वा कृषि सामग्री कम्पनीसँग जुनसँग भए पनि मिलाएर व्यवस्थापन गरिने सुवेदीको तर्क छ ।

यता, तत्काल विराटनगर, भैरहवा र वीरगञ्जमा गोदामघर निर्माणका लागि प्रक्रिया थालिएको कृषि सामग्री कम्पनी लिमिटेङका प्रवन्ध निर्देशक अमरराज खैरले बताए । उनले सबै प्रदेशमा जग्गा नभएको र भएका स्थानहरुमा गोदामघर बनाउन आवश्यक बजेट व्यवस्थापन हुन नसकेको बताए ।

सबै प्रदेशमा अत्याधुनिक गोदामघर बनाउने गरी कार्ययोजना बनाइएको उनको भनाइ छ । गोदामघर बनाएर मात्रै मल आपूर्ति सहज नहुने भन्दै खैरले त्यसका लागि सरकारले आयात हुने मल परिमाण बढाउनुपर्ने तर्क गरे । ‘अहिले भारतबाट साढे दुईदेखि तीन लाख टन मात्रै मल आउँछ,’ उनले भने, ‘तर, यहाँको माग ६ लाख टन छ । तसर्थ, गोदामघर बनाउनुपूर्व मल आयातको मात्रा बढाउनुपर्छ ।’