निगमको भण्डारण क्षमताले माग धान्न मुस्किल

सीमित भण्डारण केन्द्रका कारण माग अनुसार पेट्रोलियम पदार्थ लामो समयसम्म आपूर्ति गर्न सम्भव नभएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

नेपाल आयल निगमको भण्डारण क्षमताले माग धान्न मुस्किल भएको छ । सीमित भण्डारण केन्द्रका कारण माग अनुसार पेट्रोलियम पदार्थ लामो समयसम्म आपूर्ति गर्न सम्भव नभएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

निगमको हालको क्षमतामा पेट्रोल पाँच दिन, डिजेल आठ दिन र हवाई इन्धन १० दिनका लागि मात्र माग धान्ने अवस्थामा आइपुगेको जनाएको छ । यस्तै एलपी ग्यासको भण्डारण सुुविधा निगमसँग छैन । ‘२०५६/५७ सालमा निर्माण गरिएको भण्डारण केन्द्रको क्षमता अढाई महिनासम्म धान्ने थियो, माग पनि कमै थियो,’ निर्देशक भट्टराइले भने, ‘अहिले माग बढ्यो, तर भण्डारण क्षमता बढाउन सकिएन ।’

सातै प्रदेशमा भण्डारण केन्द्र रहे पनि मागअनुसार लामो समयसम्म आपूर्ति गर्न सक्ने अवस्थामा निगम नरहेको उनले बताएका छन् । नेपालको भौगोलिक अवस्थाका कारण १/२ दिन मात्र पनि पेट्रोलियम पदार्थको आयात तथा ढुवानीमा अवरोध हुन गएमा आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुने निगमका निर्देशक भट्टराइको भनाइ छ । उनले आर्थिक वर्ष २०७३/७४ को तुलनामा ०७४/७५ मा करिब २० प्रतिशतले समग्र पेट्रोलियम पर्दाथको बिक्रीमा वृद्धि भएको जानकारी दिए ।