नयाँ व्यवसाय अधिग्रहण गर्दै आफ्नो स्टार्टअप यसरी बढाऊँ

रातारात प्रतिस्पर्धी कम्पनीलाई किन्नु आफ्नो व्यवसाय बढाउने एउटा प्रभावकारी तरिका हुन सक्छ । यसले तपाईंलाई त्यस कम्पनीका सबै ग्राहक तथा संसाधन खरिद गर्ने अनुमति दिन्छ, जसलाई तपाईं किन्दै हुनुहुन्छ । हुन त, अधिग्रहण एक प्रकारको दुईधारे खुकुरी हो । गलत अधिग्रहणले तपाईंलाई सजिलै टाट पल्टाउन तथा व्यवसायबाटै बाहिर फालिदिन पनि सक्छ ।

अधिकांश स्टार्टअप आफ्नो व्यापारलाई व्यवस्थित रूपमा विकसित गर्ने उपाय पत्ता लगाएर विकास प्रयासमाथि ध्यान केन्द्रित गर्छन् । तिनीहरुले तीव्र गतिमा ग्राहक बढाउन ‘ग्रोथ ह्याक्स’ भनिने नवीनतम बजारीकरणको रणनीति प्रयोग गर्छन् । जब कि अग्र्यानिक वृद्धि सामान्यतया स्टार्टअप बढाउने सबैभन्दा राम्रो तरिका हो । तपाईं आफ्ना प्रतिद्वन्द्वी कम्पनीलाई अधिग्रहण गरेर पनि आफ्नो व्यवसाय बढाउन सक्नुहुन्छ ।

रातारात प्रतिस्पर्धी कम्पनीलाई किन्नु आफ्नो व्यवसाय बढाउने एउटा प्रभावकारी तरिका हुन सक्छ । यसले तपाईंलाई त्यस कम्पनीका सबै ग्राहक तथा संसाधन खरिद गर्ने अनुमति दिन्छ, जसलाई तपाईं किन्दै हुनुहुन्छ । हुन त, अधिग्रहण एक प्रकारको दुईधारे खुकुरी हो । गलत अधिग्रहणले तपाईंलाई सजिलै टाट पल्टाउन तथा व्यवसायबाटै बाहिर फाल्दिन पनि सक्छ ।

अधिग्रहणको सोच बनाउनुअघि यी पाँच क्षेत्र परीक्षण गर्नुहोस्—

१. के तिनका उत्पादन र ग्राहक–आधार फिट छन् ?

ती प्रतिस्पर्धी कम्पनी मात्र खरिद गर्ने विचार गर्नुस्, जसका उत्पादन र ग्राहक–आधार तपाईंका कम्पनीसँग फिट हुन्छन् । त्यसका उत्पादनको म्याट्रिक्स–परीक्षण र त्यसको तुलना गर्नुहोस् । के त्यसका उत्पादन पूरक छन्, अथवा तपाईंका उत्पादनसँग मेल खान्छन् ? तपाईंले यो सुनिश्चित गर्नुपर्ने हुन्छ कि तपाईं एउटा सामञ्जस्य वस्तु उत्पादन गर्न सक्नुहुन्छ जुन तपाईंका लक्षित ग्राहकहरुको आवश्यकतासँग मेल खान्छ ।

त्यसपछि त्यसको ग्राहक–आधार हेर्नुहोस् । के तपाईंको नयाँ प्रस्ताव उनीहरुका लागि उपयुक्त होला ? के तपाईं कुनै पनि उत्पादनलाई सीमाभन्दा बढी बेच्न सक्नुहोला ? धेरै जसो स्थितिमा तपाईं जुन मुख्य ‘परिसम्पत्ति’ प्राप्त गर्दै हुनुहुन्छ ती भनेका ग्राहक, उत्पादन तथा कुशलसीप हुन् । सुनिश्चित गर्नुहोस् कि तपाईंले सही विकल्प लिनु भएको छ ।

२. के त्यहाँका कर्मचारी फिट छन् ?

धेरैजसो अधिग्रहण कर्मचारीसहित गरिन्छन् । के त्यहाँका कर्मचारी तपाईंको कम्पनी सुहाउँदा, आवश्यक सीप र मुआबजा संरचनामा उपयुक्त छन् ? के तपाईंले नयाँ टिमको व्यवस्थापन गर्न र त्यसको समर्थन पाउन सक्षम हुनुहोला ?

त्यस कम्पनीका अहम् कर्मचारीहरु पत्ता लगाउनुहोस् जुन तपाईं किन्दै हुनुहुन्छ, र ती कर्मचारीलाई कम्पनीमै बसिरहने रणनीति तयार पार्नुहोस् । दुवै कम्पनीका कर्मचारीलाई एकीकृत गर्नु बडो कठिन हुनसक्छ । यस्तो घटनामा शत्रुता असामान्य हुँदैन । त्यो घातक पनि हुन सक्छ ।

३. के त्यो कम्पनीको लोकेसन पायक पर्ने छ ?

कम्पनी हेरीकन त्यसको स्थानको महत्व भिन्न भिन्न हुन्छ, र कतिपय स्टार्टअप कम्पनीले दुर्गम भेगका कर्मचारी पनि राख्ने गर्छन् । यस्तो हुँदा स्थानको महत्व त्यति नहुन सक्छ । हुन त, तपाईंको हेड अफिसको सम्बन्धमा केही टिमको स्थान महत्वपूर्ण हो । अलग अलग स्थानले भविष्यमा चुनौतीपूर्ण सञ्चालनलाई बलियो बनाउन सक्छन्, विशेष गरी यदि तपाईं कुनै एउटा कम्पनी बन्द गर्न चाहँदा ।

मेरो करिअरको सुरुका दिनमा, म एउटा सानो कम्पनीको अधिग्रहणमा संलग्न थिएँ, जुन हाम्रो पूरक कम्पनी थियो । हामीले एउटा सानो उद्योगमा काम गथ्र्यौं र हामी भाग्यशाली रह्यौं किन कि अधिग्रहण हुने कम्पनी हाम्रो हेड अफिसभन्दा केवल डेढ घण्टा ड्राइभको दूरीमा थियो । हुन त यो त्यति नजिक त थिएन । तर पनि वरिष्ठ कर्मचारीहरु दुवै कार्यालयमा नियमित आवत जावत गर्न पायक पर्ने खालको हो । यो निकटताले कम्पनी एकीकरणलाई निकै सजिलो बनाइदियो ।

४. के त्यो कम्पनीको वित्तीय स्थिति स्वीकारयोग्य छ ?

त्यसपछिको काम अधिग्रहण गरिने कम्पनीको वित्तीय स्थितिको समीक्षा गर्नु हो । उक्त कम्पनी लाभदायक छ वा छैन, त्यसका लागि बही खाता चेक गर्नुहोस् । यदि यो फाइदाजनक छैन भने किन छैन, निश्चत गर्नुहोस् र निर्णय लिनुहोस् कि अधिग्रहणले यो स्थिति परिवर्तन गर्न पर्याप्त तालमेल ल्याउँछ कि ल्याउन्न ।

त्यसको ऋण संरचना आँकलन गर्नुहोस् र तपाईंको कम्पनीले त्यसमा चित्त बुझाउँछ कि बुझाउँदैन त्यसको निर्धारण गर्नुहोस् । साथै, यो पत्ता लगाउनुहोस् कि यदि भएको ऋण स्वीकार गरिन्छ भने त्यसको ग्यारेन्टी हालका मालिकद्वारा दिइन्छ कि दिइन्न । यस्ता विषयमा आफ्नो सहयोगका लागि एक जना वित्तीय विशेषज्ञको सेवा लिनु अति उत्तम हुन्छ । यसमा तपाईंको एकान्टटेन्ट राम्रो रिसोर्स हुन सक्छ ।

५. के तपाईंसँग त्यो कम्पनी किन्ने आर्थिक जोहो छ ?

अन्त्यमा, यो निधो गर्नुहोस् कि तपाईंसँग त्यसलाई किन्न वित्तीय साधन छ । एउटा लघु उद्योग अधिग्रहणका लागि लगानी गर्ने आम तरिका भनेको ‘स्मल बिजनेस एडमिनिस्ट्रेसन’ (एसबीए)ले प्रत्याभूति दिएको ‘अधिग्रहण–ऋण’ हो । परम्परागत ऋण लिनुभन्दा सजिलो हुने भए पनि यो ऋण लिँदा प्रायः जटिल किसिमका आवश्यकता पर्छन् । अर्को ध्यान दिनुपर्ने कुरा के भने यस्तो ऋण लिँदा कम्पनी अधिग्रहणको कुल रकममध्ये १० प्रतिशत तपाईं आफैले बेहोर्नुपर्ने हुन्छ । कुनै कम्पनी अधिग्रहण गर्ने सोच बनाउनुभन्दा अघि लगानी कसरी जुटाउने निधो गर्नुहोस् ।

स्टार्टअपनेसन डटकममा प्रकाशित मार्को टेरीद्वारा लिखित आलेखको अनौपचारिक अनुवाद