चार्जिङ स्टेसन पर्याप्त नहुँदा मागअनुसार इलेक्ट्रिक कारको बिक्री बढेन

नेपाल विद्युत् प्राधिकरणले ठाउँठाउँमा चार्जिङ स्टेसन गराउने भने पनि एउटाबाहेक अरुको प्रक्रिया अगाडि बढेको छैन । राजधानीबाहिर नेपालस्थित किया गाडीका आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कुरिनटार र नारायणगढमा डीसी चार्जिङ स्टेसन लगाएको छ । तर, राजधानी र राजधानीबाहिर पर्याप्त चार्जिङ स्टेसन नहुँदा उपभोक्ता अझै खरिदका लागि तयार भएका छैनन् ।

लोडसेडिङको समस्या बिस्तारै हट्दै जाँदा अटो बजारमा इलेक्ट्रिक भेहिकलको माग बढ्न थालेको छ । भीआईपीदेखि भीभीआईपीसम्मले चारपाङ्ग्रे ‘इलेक्ट्रिक भेहिकल’ प्रयोग गर्न थालेपछि आम प्रयोगकर्ता पनि इलेक्ट्रिक भेहिकलप्रति आकर्षित हुन थालेका छन् । तर, बजार बढ्दै गएको इलेक्ट्रिक गाडीको समस्या पनि उस्तै छ ।

चार्जिङ स्टेसन नहुँदा सिटीभित्र नै गाडी लैजान समस्या छ । नेपाल विद्युत् प्राधिकरणले ठाउँठाउँमा चार्जिङ स्टेसन गराउने भने पनि एउटाबाहेक अरुको प्रक्रिया अगाडि बढेको छैन । राजधानीबाहिर नेपालस्थित किया गाडीका आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कुरिनटार र नारायणगढमा डीसी चार्जिङ स्टेसन लगाएको छ । तर, राजधानी र राजधानीबाहिर पर्याप्त चार्जिङ स्टेसन नहुँदा उपभोक्ता अझै खरिदका लागि तयार भएका छैनन् ।

इलेक्ट्रिक भेहिकलको माग बढ्न थालेपछि विभिन्न कम्पनीले नेपालमा इलेक्ट्रिक भेहिकल भित्र्याउने क्रम पनि बढिरहेको छ । केही कम्पनीले ‘नाडा अटो सो’मा नयाँ इलेक्ट्रिक भेहिकल सार्वजनिक गर्दै छन् । खासगरी, हुन्डाई, टाटा, किया, महिन्द्रा, प्यारामाउन्टलगायत कम्पनीले नाडा अटो सोलाई लक्ष्य गरेर इलेक्ट्रिक भेहिकल ल्याउँदै छन् । यसअघि पनि महिन्द्रा, कियाले इलेक्ट्रिक भेहिकललाई बजारमा ल्याइसकेको छ ।

पेट्रोल÷डिजेल प्रयोग नहुने र वातावरणमैत्री हुने भएकाले सरकारले पनि इलेक्ट्रिक भेहिकललाई प्राथमिकतामा राखेको हो । व्यापार घाटामा पेट्रोलियम पदार्थको ठूलो हिस्सा रहेको र त्यसलाई थोरै मात्र भए पनि कम गर्न सरकारले इलेक्ट्रिक भेहिकललाई प्रवद्र्धन गर्ने नीति लिएको छ ।

अहिले इलेक्ट्रिक भेहिकल चढ्नेको सङ्ख्या अत्यन्तै थोरै छ । तर, भविष्यमा इलेक्ट्रिक भेहिकलतर्फ उपभोक्ताको आकर्षण बढ्दै जान्छ । कम्पनीहरुले पनि इलेक्ट्रिक भेहिकललाई ‘प्रमोसन’ गर्ने त्यसमा सरकारले साथ दिँदै जाने अवस्था आइरहेको छ ।

अहिले ठूला कम्पनीले आफ्नो पुरानो रणनीति परिर्वतन गरेर इलेक्ट्रिक भेहिकलमा जाने बाटो रोजेका छन् । तर, उनीहरुले जुन गतिमा इलेक्ट्रिक भेहिकल भित्र्याइरहेका छन्, त्यही गतिमा चार्जिङ स्टेसन बनाउने योजना भने सुस्त देखिन्छ ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष तथा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल भन्छन्, ‘चार्जिङ स्टेसन बनाउन ठूलो खर्च आवश्यक पर्छ । त्यति मात्रै होइन्, विद्युत् पनि अत्यावश्यक वस्तु हो । तर, अहिले सरकारले उपलब्ध गराएको विद्युत्ले चार्जिङ स्टेसन राख्न एकदमै समस्या हुन्छ ।’

काठमाडौंको हकमा चार्जिङ स्टेसन बनाउन केही समस्या नभएको उनको भनाइ छ । तर, काठमाडौंबाहिरका हकमा भने विद्युत्को गुणस्तरमा एकदमै समस्या भएकाले तत्काल देशभर चार्जिङ स्टेसन बनाउन सम्भव नहुने उनको भनाइ छ ।

कम्पनीका अनुसार गाडी एकपटक फुल चार्ज गरेपछि एक सय २० किलोमिटर हिँड्छ । त्यसपछि गाडीलाई पुनः चार्ज गर्नुपर्छ । गाडी फुल चार्ज गर्न ४५ मिनेटदेखि डेढ घण्टा लाग्छ । एकातिर ठाउँठाउँमा चार्जिङ स्टेसन नै छैन, अर्कोतिर त्यति लामो समयसम्म चार्ज गर्न मानिस त्यहीँ बस्नुपर्ने बाध्यता हुन्छ । ‘सबै कुरालाई अध्ययन गर्दा काठमाडौं उपत्यकाभित्र यात्रा गर्न मात्रै इलेक्ट्रिक भेहिकल उपयुक्त हुने देखिन्छ,’ दाहालले भने, ‘लामो यात्रामा निस्किँदा इलेक्ट्रिक भेहिकल तत्काल उपयुक्त देखिँदैन ।’

कम्पनीले चाहँदैमा चार्जिङ स्टेसन बन्न असम्भव छ । किनभने, सरकारले पर्याप्त विद्युत् उपलब्ध गराउन सक्दैन । गुणस्तरीय र पर्याप्त विद्युत् उपलब्ध नहुनेबित्तिकै चार्जिङ स्टेसन बन्न असम्भव हुने कम्पनीहरु बताउँछन् । एउटा चार्जिङ स्टेसन बनाउन ३२ एम्पिएर आवश्यक हुन्छ । तत्काल नेपाल विद्युत् प्राधिकरणले उक्त परिणामबराबर विद्युत् उपलब्ध गराउन नसक्ने बताइसकेको छ ।

प्राधिकरणका निमित्त उपकार्यकारी निर्देशक वज्रभूषण चौधरीका अनुसार ३२ एमपिएरको थ्री फेज लाइनमा २७ किलोवाट लोड धान्न सक्छ, जसबाट इलेक्ट्रिक भेहिकल चार्ज गर्न सकिन्छ ।