‘नाडा अटो सो’मा अटाएनन् बैङ्क तथा बिमा कम्पनी

नाडाका सदस्यहरुबाट स्टलको माग अत्यधिक भएकाले ठाउँ अभावका कारण बैङ्क तथा वित्तीय संस्थालाई स्टल उपलब्ध गराउन नसकिएको नाडाका अध्यक्ष शम्भूप्रसाद दाहालले जानकारी दिए ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनले यस पटकको नाडा अटो सोमा बैङ्क तथा वित्तीय संस्थालाई स्टल दिएको छैन ।

नाडाका सदस्यहरुबाट स्टलको माग अत्यधिक भएकाले ठाउँ अभावका कारण बैङ्क तथा वित्तीय संस्थालाई स्टल उपलब्ध गराउन नसकिएको नाडाका अध्यक्ष शम्भूप्रसाद दाहालले जानकारी दिए ।

नाडा अटो सोमा बैङ्क तथा वित्तीय संस्थाको भूमिका अत्यन्तै ठूलो हुने भए पनि पहिला आफ्ना सदस्यलाई स्टल दिने र बाँकी रहे मात्रै अन्यलाई दिने व्यवस्था हुन्छ । यस पटक आफ्नै सदस्यबाट सबै स्टल बुक भएपछि बैङ्क तथा वित्तीय संस्थालाई स्टल नदिइएको दाहालले जानकारी दिए ।

उनका अनुसार स्टल लिएका कम्पनीले एक छेउमा बैङ्कलाई ठाउँ उपलब्ध गराएका छन् । यसअघि छुट्टै स्टल लिएर बस्ने गरेका बैङ्क तथा बिमा कम्पनीहरु यस पटक नाडाका सदस्यले लिएको ठाउँमध्ये थोरै लिएर बसेका छन् ।

नेपालमा नाडा अटो सोको महत्त्व र आकर्षण बढ्दै गएपछि ठाउँ अभाव हुँदै गएको हो । यस अघिसम्म टाटाले नाडा अटो सोमा आफ्ना ठूला गाडिका लागि स्टल लिँदै आएको थियो । तर, यो पटक टाटाले पनि ठूला गाडि राख्ने स्टल पाएन ।

एकातिर नेपालमा नयाँ कम्पनीका गाडी भित्रिने क्रम बढेको र अर्कोतिर प्रदर्शनीस्थल सानो भएकाले समस्या आएको नाडाका महासचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

‘हाम्रा लागि जति धेरै स्टल उपलब्ध गराउन सक्यो, त्यति धेरै फाइदा हुन्थ्यो,’ दुलालले भने, ‘तर, प्रदर्शनीस्थल सानो भएकाले सबैलाई समेट्न सकिएन ।’