इनर्जी बैङ्किङका लागि भारतले तयारी थाल्यो

नेपालमा मागभन्दा बढी भएको विद्युत् भारत पठाउने र अत्यावश्यक समय अर्थात् हिउँदमा भारतबाट विद्युत् ल्याउन सकिने ‘इनर्जी बैङ्किङ प्रणाली’ कार्यान्वयन गर्न भारतले मस्यौदा तयार गरिरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

इनर्जी बैङ्किङ प्रणाली कार्यान्वयनका लागि भारत सरकारले तयारी थालेको छ । नेपालमा मागभन्दा बढी भएको विद्युत् भारत पठाउने र अत्यावश्यक समय अर्थात् हिउँदमा भारतबाट विद्युत् ल्याउन सकिने ‘इनर्जी बैङ्किङ प्रणाली’ कार्यान्वयन गर्न भारतले मस्यौदा तयार गरिरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

इनर्जी बैङ्किङ गर्न भारतले मस्यौदा तयार गरिरहेकाले यसै वर्ष कार्यान्वयन हुने उनको तर्क छ । ‘तामाकोसी सञ्चालनमा आएपछि बर्खायाममा विद्युत् सरप्लस हुन्छ,’ उनले भने, ‘सरप्लस भएको विद्युत् भारत पठाउने र हिउँदमा आवश्यक परेका बेला ल्याउन सकिने गरी सम्झौता सम्पन्न भई तयारी भएको छ ।’ भारतले इनर्जी बैङ्किङका लागि मस्यौदा बनाइरहेको र फाइनल भई नसकेको उनले बताए । मस्यौदा फाइनल भएपछि नेपाल र भारतीय सहसचिव र सचिवस्तरीय बैठकमा सहमतिपत्रमा हस्ताक्षर हुने अधिकारीले बताए । दुवै देशका ऊर्जा सहसचिव र सचिवस्तरीय संयुक्त बैठक तिहारपछि बस्न सक्ने उनले बताए ।

अहिले ढल्केबर—मुजफ्फरपुर प्रसारण लाइनमार्फत् ढल्केबर सबस्टेसनमा २२० केभी विद्युत् चार्ज भइरहेको उनले बताए । २२० केभी विद्युत् लाइनलाई ४ सय केभीमा चार्ज गर्न सुधार एवम् स्तरोन्नतिको काम भइरहेको छ । तिहारपछि दुवै देशका ऊर्जा सहसचिव र सचिवस्तरीय बैठकअगाडि नै भारतले मस्यौदा तयार पारिसक्नुपर्ने उनको तर्क छ ।

बर्खायाममा विद्युत् उच्च हुने र हिउँदमा नदीनालाको बहाव घट्न गई विद्युत् उत्पादन घट्ने हुँदा हरेक वर्ष गुणस्तरीय विद्युत् आपूर्तिमा समस्या देखिन्छ । नेपालका नदीनालाहरु रन अफ दि रिभर (नदीप्रवाह) प्रकृतिका छन् । इनर्जी बैङ्किङको अवधारणा सकारात्मक भएको तर, विद्युत् लेनदेन पीपीए दरमा गर्ने कि युनिटमा गर्ने भन्ने आफू स्पष्ट हुन नसकेको स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपालका पूर्वअध्यक्ष खड्कबहादुर विष्टले बताए । नेपालको सन्दर्भमा विद्युत् लेनदेन हुनुपर्ने उनको तर्क छ ।