‘एसेम्बल्ड उद्योगको प्रस्ताव ल्याउनुस्, सरकार आँखा चिम्लेर सहयोग गर्छ’–अर्थमन्त्री खतिवडा

अटोमोटिभ क्षेत्रले कुल राजस्वको १५ प्रतिशत योगदान गरेको भन्दै अर्थमन्त्री खडिवडाले यदि नेपालमै एसेम्बल्ड प्लान्ट राखेर गाडी बनाउँदा आयातमुखी अर्थतन्त्र विस्तारै पलायन हुने बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आयातभन्दा गाडी एसेम्बल्ड उद्योग स्थापना गर्ने उद्योगलाई सरकारले सहुलियत दिने बताएका छन् ।
नाडा अटो सो २०१८ को उद्घाटन गर्र्दै अर्थमन्त्री खतिवडाले एसेम्बल्ड गरेर गाडी बनाउँदा राज्यभित्र रोजगारी सिर्जना हुने र अर्थतन्त्र पनि दिगो हुने भएकाले सरकारले त्यस क्षेत्रलाई प्रोत्साहित गरेको बताए ।

अटोमोटिभ क्षेत्रले कुल राजस्वको १५ प्रतिशत योगदान गरेको भन्दै अर्थमन्त्री खडिवडाले यदि नेपालमै एसेम्बल्ड प्लान्ट राखेर गाडी बनाउँदा आयातमुखी अर्थतन्त्र विस्तारै पलायन हुने बताए ।

आयातले देशको व्यापार घाटालाई मात्रै प्रोत्साहित गर्ने र त्यो देशका लागि अत्यन्तै घातक हुने उनको भनाइ छ । ‘आयातमुखी अर्थतन्त्रबाट देशले क्षणिक लाभ त लिन्छ,’ उनले कार्यक्रममा भने, ‘तर, दीर्घकालमा यसको ठूलो असर देखिन्छ ।’

उद्योगधन्दा, कलकारखाना भनको देशको दिगो अर्थतन्त्र हो । यसले देशको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) मात्रै बढाउँदैन, रोजगारी वृद्धि गर्नुका साथै गरिबी न्यूनीकरणमा ठूलो भूमिका खेल्ने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

कार्यक्रममा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहालले अटोमोटिभ क्षेत्रले वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउँदै आए पनि सरकारले यो क्षेत्रलाई सम्मानित रुपमा हेर्न नसकेको बताए । अर्थतन्त्रको मेरुदन्डको रुपमा रहेको अटो क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने दाहाललको तर्क छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको भावना बुझ्न नसकेको बताइन् । ‘निजी क्षेत्रले अर्थतन्त्र बुझेका अर्थमन्त्रीसँग धेरै अपेक्षा पो राखे कि ?’ उनले भनिन्, ‘अपेक्षा धेरै र काम सोचेभन्दा थोरै भएको हुनसक्छ ।’
अर्थतन्त्रलाई चलायमान बनाउन नाडा आटो सोले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । महासङ्घभित्र पनि अटोमोटिभ क्षेत्र एकदमै चलायमान रहेको बताइन् ।

त्यसैगरी अध्यक्ष राणाले अर्थमन्त्रीलाई व्यङ्ग्य गर्दै भनिन्, ‘अहिलेका अर्थमन्त्रीलाई निजी क्षेत्रको समस्या भन्नै पर्दैन्, हामीले समस्या लिएर जानुपूर्व समाधान हुन्छ भन्ने सोचेको थियौं । तर, त्यो होइन रहेछ ।’

उनले हरेक अर्थमन्त्री तथा प्रधानमन्त्रीसँग पटक–पटक एउटै समस्या लिएर जानु परेको बताइन् । ‘विगत लामो समयदेखि निजी क्षेत्रका एउटै समस्या छन्, न यसअघिका सरकारले समाधान गरे, न अहिले बनेको सरकारले समाधानका लागि आवश्यक पहल नै ग¥यो,’ उनले भनिन्, ‘देशभित्र लगानी बढाउने तथा रोजगारी सिर्जना गर्ने निकाय निजी क्षेत्र नै हो ।’

नाडाका संयोजक निराकार श्रेष्ठले नाडामा विभिन्न सचेतनामूलक जानकारी गराइने बताए । नाडामा १ सय ३४ स्टल छन् । दुई पाङ्गे र चार पाङग्रेलाई छुट्टाछुट्टै स्टलको व्यवस्था गरिएको जानकारी दिए । ६ दिन चल्ने मेलामा ६० हजार अवलोकनकर्ताले अवलोकन गर्ने बताए । मेलामा गाडी बेच्ने मात्रै नभई विभिन्न जानकारी प्रदान गरिने आयोजकले बताएको छ ।