यस वर्ष पनि नहट्ने भो मलको अभाव, झन्डै दुई लाख टन रासायनिक मल अपुग

नेपालमा सामान्यतया ५ लाख मेट्रिक टन माग रहेकोमा यस वर्ष झन्डै ३ लाख टन मात्रै आयात हुन सक्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका प्रमुख नेत्र भण्डारीले जानकारी दिए ।

सरकारले मलको अभाव हुन नदिने बताइरहँदा यस वर्ष पनि रासायनिक मलको अभाव नहट्ने देखिएको छ । यस वर्ष दुई लाख मेट्रिक टनभन्दा बढी मलको अभाव हुने देखिएको हो ।

नेपालमा सामान्यतया ५ लाख मेट्रिक टन माग रहेकोमा यस वर्ष झन्डै ३ लाख टन मात्रै आयात हुन सक्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका प्रमुख नेत्र भण्डारीले जानकारी दिए । उनले यस वर्ष झन्डै दुई लाख टन मल अपुग हुने बताए । चालू आर्थिक वर्षमा झन्डै ६ अर्ब रुपैयाँ मल आयातका लागि बजेट छुट्याइए पनि विगतको बक्यौता रकमको भुक्तानी, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, सीमित परिमाण मात्रै मल आयात र समयै ढुवानी नहुँदा मल अपुग र अभाव हुने देखिएको भण्डारीले बताए ।

कृषि सामग्रीले एक लाख ४३ हजार टन मल ल्याउन टेन्डर गरी झन्डै ३० हजार टन मल ल्याउने प्रक्रिया सुरु गरिसकेको छ । त्यस्तै साल्ट्र ट्रेडिङ कर्पोरेसनले पनि ४० हजार टन मल ल्याउन टेन्डर गरिसकेको छ । अन्य बचत रकम र बजेट रकमान्तर गरेर थप ५० हजार टन मल ल्याउन सकिने कृषि मन्त्रालयले जनाएको छ । त्यसबाहेक थप मल ल्याउन बजेट छैन ।

अपुग मलका लागि अर्थ मन्त्रालयबाट थप बजेट दिने आश्वासन दिइएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए । केही बजेट रकमान्तर गर्ने, बचत भएको रकम र अर्थ मन्त्रालयले थप बजेट दिने आश्वासन दिएकाले मलको अभाव नहुने बताए । अहिले भारतलाई गत वर्षको दुई अर्ब रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । त्यो बक्यौता भुक्तानी गरेपछि मात्र भारतले थप मल दिन बाटो खुल्ने छ ।

अमेरिकी डलरको मूल्य बढेको अवस्थामा भारतले पनि सहजै मल दिने अवस्था नरहेको स्वयम् कृषि तथा पशुपक्षी विकास मन्त्रालयकै कर्मचारी बताउँछन् ।