नाडा अटो सोका नयाँ मोटरसाइकल

उपभोक्ताले गाडी तथा मोटरसाइकल किन्न, व्यवसायीले नयाँ गाडी तथा मोटरसाइकल सार्वजनिक गर्ने र उपभोक्तालाई जानकारी दिने गरी नाडा अटो सो आयोजना हुँदै आएको छ ।

दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न तथा त्यस विषयमा जानकारी लिन नाडा अटो सो उपयुक्त स्थान हो । उपभोक्ताले गाडी तथा मोटरसाइकल किन्न, व्यवसायीले नयाँ गाडी तथा मोटरसाइकल सार्वजनिक गर्ने र उपभोक्तालाई जानकारी दिने गरी नाडा अटो सो आयोजना हुँदै आएको छ ।

भदौ २६ देखि नाडा अटो सोको १३औं संस्करण सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको अटो सोमा १ सय ३४ स्टल छन् । भदौ ३१ गतेसम्म मेलामा ४ पाङ्ग्रेका १९ र दुई पाङ्ग्रेका २० ओटा ब्रान्डसहित ७१ कम्पनीको सहभागिता छ ।

दुईपाङ्गे र चारपाङ्ग्रेलाई छुट्टाछुट्टै स्टलको व्यवस्था गरिएको छ । ६ दिन चल्ने मेलामा ६० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । १३औं संस्करणको नाडा अटो सोमा केही नयाँ गाडी र मोटरसाइकल सार्वजनिक भए । विभिन्न स्किम र छुटका कारण केही पहिला नै सार्वजनिक भएका गाडीमा उपभोक्ताको ध्यान गयो ।

मेलामा नयाँनयाँ विद्युतीय कारदेखि उच्च क्षमताका स्टाइलिस लुक्सका बाइक प्रदर्शनीमा राखिएको छ । यो पटकको मेलामा विद्युतीय कार तथा उच्च क्षमता भएका मोटरसाइकलले नाडा अटो सोको रौनक नै छुट्टै बनाएको छ । मेलामा यसपटक ४ ब्रान्डले नयाँ इलेक्ट्रिक कार प्रदर्शनीमा राखेका छन् ।

हुन्डाई, रेनो, टाटा र महिन्द्राले आफ्ना पछिल्ला इलेक्ट्रिक उत्पादनलाई अटो सोमा फरक ढङ्गबाट सार्वजनिक गरेका छन् । मेलामा हुन्डाईले आयोनिकलाई उतारेको छ भने रेनोले जोईलाई भव्य रुपमा सार्वजनिक गरेको छ । टाटाले टिगोर इभी ल्याउँदा महिन्द्राले इभेरिटो ल्याएको छ । यीमध्ये रेनोको जाई ह्याचब्याक कार हो भने अन्य तीनओटै कार सेडानको रुपमा लिन सकिन्छ ।

त्यस्तै नाडा अटो सोलाई छुट्टै पहिचान दिन विभिन्न कम्पनीले उच्च क्षमताको मोटरसाइकल तथा स्कुटरसमेत सार्वजिनक गरिसकेका छन् । विशेषगरी हार्ले डेभिडसन, टीभीएस अपाचे, होन्डा, सुजुकीलगायतका ब्रान्डले नयाँ आकर्षक मोटरसाइकल सार्वजनिक गरेका छन् ।

होन्डा क्रुज बाइक

होन्डाले नाडा अटो सोमा होन्डा क्रुज नामक बाइक सार्वजनिक गरेको छ । सोमा कम्पनीले नयाँ बाइक एनएम फोर मोटरसाइकल ल्याएको हो । विशेष डिजाइनको सो क्रुजर बाइकलाई क्लच प्रयोग गरेर वा नगरेर चलाउन सकिन्छ । यसको गियर चेन्ज गर्न बटन दबाए पुग्ने कम्पनीको भनाइ छ ।

होन्डाले हालै एयरपोर्टबाट सीधै अटो सो स्थलमा सो बाइक ल्याएको बताएको छ । बाइकको मूल्य पनि हाल सार्वजनिक गरिएको छैन । आटो सोमा अर्थमन्त्री डा. युवराज खतिवडाले सो बाइक अटो सो स्थलमै सार्वजनिक गरेका छन् । सो बाइकमा ७ सय ५० सीसीको इन्जिन छ भने बस्न कम्फर्टेबल सिट छ ।

अपाचे आरआर ३१०

नेपाली मोटरसाइकल बजारमा ठूलो हिस्सा ओगट्दै आएको टीभीएस अपाचे नयाँ अवतारमा नाडा अटो सोमा सार्वजनिक गरेको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नाडा अटो सोमा नयाँ विशेषताका साथ अपाचे आरआर ३१० सार्वजनिक गरेको हो ।

बजारमा विभिन्न कम्पनीका फरकफरक मोटरसाइकल भिœयाउने क्रम चलिरहँदा जगदम्बाले दिनअघि मात्र कम्पनीले टीभिएस अपाचे आरटीआर १६० ब्रान्ड पनि सार्वजनिक गरिसकेको थियो । अपाचे आरआर ३१० हेर्दा जस्तो एग्रेसिभ देखिन्छ, यसको सिटिङ पोजिसन निकै आरामदायी छ । झट्ट हेर्दा यसको ह्यान्डल केही तल भए जस्तो देखिए पनि राइडर सिटको हाइटका कारण एकदमै सहज छ ।

अपाचे आरआर ३१० को राइडिङ पोजिसनमा धेरै झुक्नु नपर्ने तथा गियर तथा ब्रेकको पोजिसन बाइकको सेन्टरमा रहेको कारण रेगुलर प्रयोगका लागि उपयुक्त छ । अपाचे आरआर ३१० मा राइडरको सिटिङ पोजिनसका साथै रियर सिटिङ पोजिसन पनि आरमदायी छ । टीभीएस अपाचे आरआर ३१० अन्य मोटरसाइकलको तुलनामा फरक तर आकर्षक छ । मोटरसाइकलमा ३१२.२ सीसीको इन्जिन छ । त्यस्तै यस बाइकले प्रतिघण्टा ३१ किलोमिटरको माइलेज दिने कम्पनीले जानकारी दिएको छ ।

३४ पीएस ९७०० आरपीएम पावर भएको सो मोटरसाइकलमा ६ ओटा गियर छन् । ट्युबलेस टायर भएकाले जस्तोसुकै सडकमा पनि सामान्य तरिकाले गुड्न सक्छ । यस्तै टीभीएसले १ सय २५ सीसीको एट्रोग पनि सार्वजनिक गरेको छ ।

हार्ले डेभिडसन

११५ वर्षको इतिहास रहेको अमेरिकी मोटरसाइकल कम्पनी हार्ले डेभिडसन पनि नाडा अटो सोमा उतारिएको छ । रेमिट्यान्स व्यवसायमा पायोनियर आईएमई गु्रपले विश्वप्रख्यात अमेरिकी मोटरसाइकल हार्ले डेभिडसन नेपालमा भित्र्याएको हो ।

गु्रपअन्तर्गतको आईएमई अटो मोटिभ्सले हार्ले डेभिडसनको आइरन ८८३ मोडल नेपालमा भित्र्याएको हो । आइरन ८८३ को घरेलु बजारमा ४५ लाख ८५ हजार मूल्य छ । नाडा अटो सोको अवसर पारेर सार्वजनिक गरिएको यो मोडलमा ८५ हजार छुट रहेको कम्पनीले जनाएको छ ।