आठ लाख रुपैयाँमा ढाका बुन्न सुविधा केन्द्र

ढाका बुनेर जीविकोपार्जन गर्न सक्ने तर लगानी अभावका कारण आफैं तान राखेर ढाका बुन्न नसक्ने विपन्न समुदायका महिलाहरुलाई केन्द्रको स्थापनाले सहयोग पुग्नेछ ।

ढाका बुन्नका लागि तेह्रथुमको म्याङलुङमा १० थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ । गरिबी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोग तथा देउराली सोसाइटी तेह्रथुमको सहजीकरणमा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

केन्द्र स्थापनाका लागि आठ लाख ६ हजार १ सय खर्च भएको म्याङलुङ ढाका उत्पादक समूहका अध्यक्ष सचित्रा लिम्बूले बताइन् । ढाका बुनेर जीविकोपार्जन गर्न सक्ने तर लगानी अभावका कारण आफैं तान राखेर ढाका बुन्न नसक्ने विपन्न समुदायका महिलाहरुलाई केन्द्रको स्थापनाले सहयोग पुग्नेछ ।

हालै यहाँका १० जना महिलालाई उद्यमी बन्न प्रेरित गर्दै ढाका बुनाइ तालिमसमेत प्रदान गरिएको छ । जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका १ सय ६५ जनालाई ढाका बुनाइसम्बन्धी तालिम प्रदान गरी उद्यमी बनाइएको कार्यक्रम संयोजक प्रेमराज लिम्बूले बताए ।