खासगरी चालू वर्ष वाणिज्य बैङ्कहरुलाई कर्जा र निक्षेपमा लिने÷दिने ब्याज अन्तर (स्प्रेड) घटाउनु पर्ने दबाबले ब्याजदरमा विस्तारै घट्ने अनुमान, रेमिट्यान्स वृद्धिका कारण वित्तीय क्षेत्रमा अधिक तरलताको स्थिति, कम्पनीहरुको लाभांश घोषणा गर्ने क्रम सुरु, तत्काल सेयर लिँदा तत्कालै लाभांश पाउने अवस्थाजस्ता कारणले बजारमा सकारात्मक प्रभाव परेको अनुमान गर्न सकिन्छ ।
निरन्तर ओरालो लागेको सेयर बजार यतिबेला थामिएको अनुभूति भएको छ । चालू आर्थिक वर्षको सुरुआतदेखि झनै ओरालो लागेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दसैं नजिकिने तयारीसँगै विस्तारै सुधारको क्रममा देखिएको छ ।
बजारको यो सुधार क्षणिक हो वा दीर्घकालीन त्यो भने आगामी दिनको कारोबारबाट नै तय होला । तर, पछिल्ला केही दिनका कारोबारले भने सेयर लगानीकर्तामा एक प्रकारको उत्साह जगाएको छ । खासगरी गत आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट सूचीकृत कम्पनीले लाभांश घोषणा गर्न थालेपछि सेयर बजारमा सुधारको आश देखिएको हो ।
साउन २७ गते नेप्से परिसूचक घटेर १ हजार १ सय ६३ अङ्कमा पुगेपछि बजार विस्तारै सकारात्मक देखिएको छ र असोज २ गते मङ्गलबारसम्म नेप्से परिसूचक करिब १ सय अङ्कले बढ्दै १ हजार २ सय ५८ अङ्कमा पुगेको छ । घट्दा सामान्य अङ्कका साथ घट्ने गरेको नेप्से बढ्दा भने एकै दिन २८ अङ्कसम्मले बढेको छ । यसरी बजार बढ्दा अघिल्लो दिनको अङ्कलाई तोड्ने प्रवृत्ति पनि देखिएको छ । यद्यपि बजार बढ्न थालेपछि पनि कारोबारकै समयमा घरिघरि घट्ने सङ्केत पनि देखाइरहेको छ ।
यसअघि नै चुक्ता पुँजी पुर्याएर बसेका ठूला कम्पनीले पनि बोनस सेयर दिन थालेपछि बजार आक्रामक रुपमा बढेको छ । सूचीकृत कम्पनीले बोनस सेयर नभई नगद लाभांश मात्र दिने सोचाइमा बसेका लगानीकर्ता बोनस सेयर र नगद दुवै दिन थालेपछि हौसिएका हुन् ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले अहिले सेयर बजार ओरालो लाग्नुपर्ने कुनै कारण नभएको बताउँछन् । ‘सेयर बजारलाई आवश्यक पर्ने सम्पूर्ण सूचक यतिबेला सकारात्मक छन्,’ उनले भने, ‘बजार पटक पटक घटेर न्यून बिन्दुको दिशामा गइसकेर स्थिर देखिएकाले अब भने सुधारको सम्भावना छ ।’
खासगरी चालू वर्ष वाणिज्य बैङ्कहरुलाई कर्जा र निक्षेपमा लिने÷दिने ब्याज अन्तर (स्प्रेड) घटाउनु पर्ने दबाबले ब्याजदरमा विस्तारै घट्ने अनुमान, रेमिट्यान्स वृद्धिका कारण वित्तीय क्षेत्रमा अधिक तरलताको स्थिति, कम्पनीहरुको लाभांश घोषणा गर्ने क्रम सुरु, तत्काल सेयर लिँदा तत्कालै लाभांश पाउने अवस्थाजस्ता कारणले बजारमा सकारात्मक प्रभाव परेको अनुमान गर्न सकिन्छ ।
केही विकास बैङ्क, वित्त कम्पनी, लघुवित्त, सामूहिक लगानी कोष र जलविद्युत् क्षेत्रका साथै युनिलिभर नेपालले पनि लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरिसकेका कम्पनीहरुले आकर्षक बोनस सेयर तथा नगद लाभांश दिइरहेका छन् । यद्यपि वित्तीय क्षेत्रको चुक्ता पुँजी ह्वात्तै बढेका कारण लाभांशको दर भने कम देखिन्छ । चालू वर्ष युनिलिभरले पनि विगतको तुलनामा घटाएर सात सय प्रतिशत नगद लाभांशमा सीमित गरेको छ ।
त्यसैगरी बढी लाभांश दिनेहरुमा सूर्योदय लघुवित्तले ४५ प्रतिशतमध्ये ४२ दशमलव ७५ प्रतिशत बोनस सेयर, छिमेकी लघुवित्तले ४० प्रतिशतमध्ये १८ प्रतिशत बोनस सेयर, बोटलर्स नेपाल ४० प्रतिशत नगद, काबेली विकास बैङ्कले ३५ प्रतिशत बोनस सेयर र किसान माइक्रोफाइनान्सले ३० दशमलव ३३ प्रतिशतमध्ये २९ प्रतिशत बोनस सेयरलगायत छन् । मङ्गलबारसम्म ३१ सूचीकृत कम्पनीले लाभांश घोषणा गरे पनि बजारमा मुख्य हिस्सा ओगट्ने वाणिज्य बैङ्क समूहका सूचीकृत २७ वाणिज्य बैङ्कमध्ये कुनैले पनि लाभांश घोषणा गरेका छैनन् । लाभांश घोषणा गरेकामध्ये सबैभन्दा कम रिडी होइड्रोपावरको ६ प्रतिशत बोनस सेयर छ ।
वाणिज्य बैङ्कले लाभांश घोषणा नगरे पनि उनीहरुको आकर्षक लाभांश आउने आशमा लगानीकर्ता छन् । अधिकांश वाणिज्य बैङ्कहरुको चुक्ता पुँजी पुगे पनि उनीहरुले लाभांशमा बोनस सेयर दिने अनुमान धेरै लगानीकर्ताको छ । त्यसैले पनि पछिल्लो समय वाणिज्य बैङ्कहरुको सेयर मूल्यमा बढी वृद्धि देखिएको छ ।
नेपाल इन्भेष्टर्स फोरमकै उपाध्यक्ष छोटेलाल रौनियारले बजारमा केही लगानीकर्ता घटाउने मनसायका साथ सक्रिय रहे पनि उनीहरुको जोर नचल्ने बताए । अबका दिनमा बजार बढेरै छाड्ने बताउँदै रौनियारले भने, ‘एक÷दुई जना लगानीकर्ताले बजार घटाउन चाँहदैमा बजार घट्दैन ।’ नेप्सेमा सूचीकृत कम्पनीले लाभांश घोषणा गरेसँगै बजारले गति लिएको पनि रौनियारको भनाइ छ ।
सेयर बजार घटाउन अर्थमन्त्रीको हात रहेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाको व्यापक आलोचना गर्ने लगानीकर्ता भने बजार बढ्न थालेपछि शान्त देखिएका छन् । मङ्गलबार अर्थमन्त्री खतिवडाले वाणिज्य वैङ्कहरुले पनि सेयर दलालको रुपमा काम थालेपछि बजार अझ विस्तारित हुने बताएका छन् । बैङ्कहरुलाई सेयर दलालको अनुमति दिन धितोपत्र बोर्ड र राष्ट्र बैङ्कसँग छलफल भइरहेको भन्दै आगामी दिन सेयर बजारले गति लिने अर्थमन्त्रीको सकारात्मक प्रतिक्रियाले बजार अझ सुधार हुने विश्वास लगानीकर्ताको छ ।
सेयर कारोबारलाई नियाल्दा लगानीकर्ताले दैनिक जसो फरक फरक कम्पनीमा आकर्षित हुने गरेको देखिन्छ । लगानीकर्ता कहिले वाणिज्य बैङ्क त कहिले लघुवित्त त कहिले बिमा र कहिले जलविद्युतमा केन्द्रित हुने गरेको पाइन्छ ।