सेजका ६ उद्योगको दर्ता खारेजीमा

प्राधिकरणले यसअघि दुई पटक सूचना जारी गर्दै सञ्चालनमा आउन आग्रह गरेपनि अटेर गर्ने उद्योगलाई हटाउने तयारी गरेको हो ।

भैरहवास्थित विशेष आर्थिक क्षेत्र विकास प्राधिकरण (सेज)मा उद्योग खोल्ने अनुमति लिएर पनि सञ्चालन प्रक्रियामा नआउने ६ ओटा उद्योगलाई प्राधिकरणले खारेज गर्ने भएको छ । प्राधिकरणले यसअघि दुई पटक सूचना जारी गर्दै सञ्चालनमा आउन आग्रह गरेपनि अटेर गर्ने उद्योगलाई हटाउने तयारी गरेको हो ।

पछिल्लो पटक सात दिनभित्र दर्ता तथा भू—बहाल सम्झौता गरी उद्योग सञ्चालन कार्य अगाडि बढाउन ताकेता गरेपनि ती उद्योगले अटेर गर्दै आएका हुन् । ७ दिनको म्याद आज सकिँदैछ । तर, अझैसम्म पनि ती उद्योग सम्पर्कमा नआएका र आउने सम्भावना टर्दै गएकाले त्यस्ता उद्योगको दर्ता खारेज गरी अन्य नयाँ उद्योगलाई अवसर दिइने विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । ‘२४ उद्योगमध्ये १९ ओटा सञ्चालन प्रक्रियामा अइसकेका छन्, बाँकी ६ ओटा उद्योगलाई म्याद थप गरी सञ्चालनमा आउन भनेका छौं,’ उनले भने, ‘अझैसम्म पनि सम्पर्कमा आएका छैनन् । आजसम्म पनि नआए दर्ता खारेज हुन्छ ।’

उद्योगीहरुले नयाँ आर्थिक विधेयक ऐनका कारण उद्योग सञ्चालनमा समस्या भएको बताएका छन् । प्राधिकरणले गत साउन ६ र भदौ १० गते दोस्रो पटक १५ दिनको म्याद थप गरी सूचना जारी गरेको थियो । सञ्चालन प्रक्रियामा नआई अटेर गर्नेमा एक्सल गार्मेन्ट प्रोसेसिङ इन्डस्ट्रिज, किरण सुज, मिनरल वाटर इन्डस्ट्रिज, एसियन थाई फुड, हर्बल सप र जगदम्बा सेन्थेटिक्स छन् ।

भैरहवा सेजमा हर्बल प्रशोधन, फुटवेयर, सेन्थेटिक प्लास्टिक, पाइप, खनिजजन्य र कृषिमा आधारित लगायतका उद्योगहरू रहने छन् । सेजमा स्थापना भएका उद्योगले आफ्नो उत्पादनको ७५ प्रतिशत अनिवार्य रुपमा विदेश निर्यात गर्नुपर्छ ।