पाइला टेक्नोलोजीको फड्को—  बैङ्कदेखि रेस्टुराँसम्म रोबोट

विश्वका ठूला विकसित देशमा सूचना प्रविधिले ठूलो फड्को मारिसकेको अवस्थामा नेपालमा पनि प्रविधिको युगले छोइसकेको छ । अहिले नेपालमा पाइला टेक्नोलोजी नामक कम्पनीले पनि अन्य देशमा जस्तै बोल्ने, हिँड्ने काम गर्ने प्रकारका रोबोट बनाएर प्रमाणीकरण गरिदिएको छ ।

नेपालमा पनि रोबोट बन्छ भन्दा सबैलाई अचम्म र अपत्यारिलो लाग्न सक्छ । ठूलाठूला वैज्ञानिकले मात्र यस्ता किसिमका नयाँनयाँ प्रविधि आविष्कार गर्न सक्छन् भन्ने पनि कतिपय मानिसको बुझाइ छ । तर नेपालका केही युवा जमातले यो कुरालाई सत्यमा सावित गर्दै अत्याधुनिक रोबोट बनाई सञ्चालनमा समेत ल्याइसकेको तथ्य हाम्रो सामुनै प्रमाणित गरिसकेका छन् ।

विश्वका ठूला विकसित देशमा सूचना प्रविधिले ठूलो फड्को मारिसकेको अवस्थामा नेपालमा पनि प्रविधिको युगले छोइसकेको छ । अहिले नेपालमा पाइला टेक्नोलोजी नामक कम्पनीले पनि अन्य देशमा जस्तै बोल्ने, हिँड्ने काम गर्ने प्रकारका रोबोट बनाएर प्रमाणीकरण गरिदिएको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गरेका सात जना युवा विद्यार्थीद्वारा स्थापित ‘पाइला’ले रोबोट उत्पादन गरेर स्थानीय बजारसम्म प्रयोगमा ल्याई चकित बनाएको छ । कम्पनीका अनुसार विश्वका सयौं देशका प्रतिस्पर्धीसँग पाइलाले डेनमार्कको कोपनहेगनमा नोभेम्बर २०१८ मा हुने ‘स्टार्टअप ओलम्पिक्स’ मा पनि प्रतिस्पर्धा गर्ने जनाएको छ ।

पाइला टेक्नोलोजी कम्पनीले सबैभन्दा पहिला एसबीआई बैङ्कमा आगन्तुकलाई स्वागत गर्न राखिएका परी नामक रोबोट केही समय नेपालमा मात्र नभई देशबाहिर पनि चर्चामा आयो । गत महिनामा मात्र काठमाडौंको केन्द्र मानिने दरबारमार्गमै सञ्चालनमा आएको नौलो रेष्टुराँका वेटर तथा खाना सर्भ गर्ने पाचँओटा अत्याधुनिक रोबोटले सबैको ध्यान तानिरहेका छन् । तर, पाइलाले बनाएका यी रोबोट अनुभवी एवम् दक्ष वैज्ञनिकले बनाएका होइनन् । पुल्चोक कलेजबाट इन्जिनियरिङ प्राविधिक नयाँ पुस्ताका युवाले नै गरेका हुन् ।

‘हामी सात युवाले नै आफ्नै देशमा केही गरेर देखाउनुपर्छ, प्रविधिको युगलाई अगाडि बढाउनुपर्छ भन्दै यो व्यवसायमा लागेका हौँ’, इन्जिनियर रबिन गिरिले भने । करोड भन्दा बढी नै खर्च गर्दै नयाँनयाँ रोबोट तथा आविष्कार गर्न युवा जमात लागिपरिरहेका छन् । ‘नेपालमा रोबोर्टिक्स क्षेत्रलाई ठूलो उचाइमा पु¥याउने उद्देश्यका साथ दिनरात नभनी काममा लागिपरेका छौं,’ पाइला टेक्नोलोजीका कार्यकारी निर्देशक आयुष कसजूले भने ।

पाइला टेक्नोलोजीले बनाएको रोबोट ‘परी’ नेपाल एसबीआई बैङ्कले दरबारमार्गमा आफ्नो पहिलो स्मार्ट शाखामा राखेर सेवा दिएपछि रेस्टुरेन्टमा सेवा दिने रोबोट तयार गरेको हो । ‘हामीले बैङ्किङ क्षेत्रमा प्रयोग गर्ने रोबोट तयार गरेपछि होटल, रेस्टुरेन्टमा प्रयोग गर्न मिल्ने रोबोट बनाएर रेस्टुरेन्ट नै सञ्चालन गर्ने योजना बनायौं,’ कम्पनीका मुख्य कार्यकारी अधिकारी विनय राउतले भने । अहिले नौलो रेस्टुरेन्टमा पाँचओटा जिन्जर नामक रोबोट छन् । तीन ओटाले खाना सर्ब गर्छन् भने दुई ओटाले आगन्तुकलाई पानी जुसलगायतका पेय, भाँडाकुँडा ओसारपसार गर्ने गरेको कम्पनीको भनाइ छ ।

कम्पनीका निर्देशक कसजू भन्छन्, ‘अब क्रमिक रुपमा यो कम्पनी तथा प्रविधिको चर्चा भइरहेको छ । चीन, जापान, भारतलगायत, दक्षिण एसियाका देशमा कम्पनीको चर्चा भइरहेको छ ।’ उनका अनुसार आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको प्रविधिलाई पुर्याउने तरखर गरिरहेको छ ।

अहिले कम्पनीका अध्यक्ष बिजु राउत, प्रमुख कार्यकारी अधिकारीमा विनय राउत, निर्देशकमा आयुष कसजूलगायत अन्य दीपकमल भुसाल, नीरज बस्तेत, रविन गिरि, सागर श्रेष्ठ, वासिम अक्रम खान, विवेक भण्डारी, विशाल लाखा, नारायणप्रसाद, श्याम रौनियार, भीष्म अधिकारी, अभिनव अधिकारी, अनिष श्रेष्ठ आबद्ध छन् ।

कम्पनीले अब ठूला तारे होटलका लागि समेत सामान सर्भ गर्ने किसिमको रोबोट उत्पादन गर्ने योजना बनाइरहेको छ । भएका रोबोटहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन लागिपरिसकेको छ । अहिले पाइला टेक्नोलोजी नेपालमा मात्र नभएर अन्य नेपालबाहिरका मुलुकमा पनि निकै चर्चा बटुलेको छ । नयाँनयाँ आधुनिक प्रविधियुक्त रोबोट उत्पादन गर्ने पाइला कम्पनीको शाखा बाह्य विकसित देशमा पनि विस्तार गर्ने कम्पनीको योजना छ ।