बधशालाहरुले सरसफाइमा ध्यान नदिएको, रागाँ भनेर भैसी काट्ने गरेको, अत्याधिक फोहोर ठाउँमा मासु काट्ने गरेको, यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पनि पालना नगरेको, तालिम दिएर पनि त्यो अनुसार नगरेको पाइएपछि मासु बिक्री वितरणमा रोक लगाइएको छ ।
सरकारले ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु बधशालाको मासु बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्री वितरणमा प्रतिवन्ध लगाइएको हो ।
कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले मुकेश खड्गीले सञ्चालन गरेको आर के मिट सप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिट सप तथा देव खड्गी र सुनिल खड्गीले सञ्चालन गरेको पशु बधशालाको मासु बिक्री वितरणमा प्रतिवन्ध लगाइएको हो ।
अनुगमन टोलीले लगनखेलमा सञ्चालित ५ वटा बधशालाको अनुगमन गरेको थियो । देव र सुनिलको बधशाला दर्ता पनि नभइ सञ्चालन भएको पाइएको पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलले जानकारी दिए ।
बधशालाहरुले सरसफाइमा ध्यान नदिएको, रागाँ भनेर भैसी काट्ने गरेको, अत्याधिक फोहोर ठाउँमा मासु काट्ने गरेको, यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पनि पालना नगरेको, तालिम दिएर पनि त्यो अनुसार नगरेको पाइएपछि मासु बिक्री वितरणमा रोक लगाइएको निर्मलले जानकारी दिए ।
ती बधशालाहरुमा दैनिक ३० भन्दा बढी रागाँ भैसी काट्ने गरेको पाइएको छ । उनीहरुसँग थप छलफल गर्नका लागि शुक्रबार नै विभागमा बोलाइएको छ । काटेको मासु नष्ट गर्नका लागि महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको विभागले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले मानव स्वास्थ्यका हिसावले उक्त मासु खान अयोग्य रहेकाले सुधार नगर्दासम्म बिक्री वितरणमा प्रतिवन्ध लगाइएको बताए । अनुगमनमा मन्त्रालय, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानगरपालिका र स्थानीय प्रशासनको सहभागिता थियो ।