नकुलको एलिस यात्रा : फ्यामिली रेष्टुरेन्टदेखि नेपालकै ठूलो पार्टी भेन्युसम्म

जापान घुम्न गएका शेरचनलाई जापानले नै १४ वर्ष घुमायो । त्यो १४ वर्षमा उनले जापानमा रेष्टुरेन्टका सबै लेभलका काम गरे । भाँडा माझ्नु त सामान्य भयो । उनी वेटरदेखि किचेनमा हेल्परसम्म र म्यानेजरपछि आफ्नै रेष्टुरेन्टको मालिक पनि बने ।

रेष्टुरेन्ट कल्चरमा पारिवारिक वातावरण थपेर नयाँ गति ल्याउने नकुल शेरचन सधैं केही गरौं भन्ने हुटहुटीमा हुन्छन् । त्यही हुटहुटीले उनलाई बागलुङदेखि काठमाडौं, काठमाडौंदेखि जापान पुर्याएर अहिले जापानबाट फेरि काठमाडौंमै फर्कायो ।

जापान घुम्न गएका शेरचनलाई जापानले नै १४ वर्ष घुमायो । त्यो १४ वर्षमा उनले जापानमा रेष्टुरेन्टका सबै लेभलका काम गरे । भाँडा माझ्नु त सामान्य भयो । उनी वेटरदेखि किचेनमा हेल्परसम्म र म्यानेजरपछि आफ्नै रेष्टुरेन्टको मालिक पनि बने ।

जापानमा व्यवसाय गरिरहेका शेरचन नेपाल आउने जाने गरिरहन्थे । कहिले घरायसी त कहिले व्यावसायिक कामले नेपाल ओहोर दोहोर गर्दा उनलाई लाग्यो नेपालमा राम्रो पारिवारिक वातावारणसहितको रेष्टुरेन्ट हुने हो भने उपभोक्ता आकिर्षत हुन्छन् । फास्टफुडको कल्चर बढ्दै गएको र परिवारसहित अलि लामो समय बिताउनका लागि गतिलो रेष्टुरेन्ट नभएको अवस्थालाई उनले राम्रोसँग बुझेर ६ वर्षअघि काठमाडौंको बालुवाटार र गैरीधाराबीचमा एलिस रेष्टुरेन्ट खोले । पारिवारिक वातावरण, बागलुङ, मुस्ताङ, जापानिज र कन्टिनेन्टल मेन्यु तथा बच्चाका लागि खेल्ने वातावरणले एलिसको ‘वर्ड अफ माउथ’ बढ्दै गयो । रेष्टुरेन्ट खोल्नुअघि काठमाडौंका विभिन्न रेष्टुरेन्टमा पुगेर खाना अर्डर गर्दै टेष्ट लिदैं हिँडेका उनी फरक शैलीको रेष्टुरेन्ट खोल्नुपर्छ भनेर नै एलिसलाई अगाडि बढाए ।

माउथ पब्लिसिटीले ब्रान्ड बन्दै गएपछि नकुलले २ वर्षअघि दरबारमार्गमा एलिसको अर्काे शाखा खोले । नेपालको भीआईपी फुटस्टेप हुने भेन्युमा एलिसको उपस्थिति भएपछि नकुललाई यसको ब्रान्डिङमा थप सजिलो भयो ।

मेन्युमा विविधता इन्टेरियरमा जापानी शैली र बच्चाहरुका लागि फरक मेन्युले एलिसको यात्रा उकालोतर्फ बढ्दै गयो । दुई ओटा रेष्टुरेन्ट खोलिसकेका नकुललाई अरु ठाउँमा शाखा खोल्न प्रशस्त प्रस्ताव आउन थाल्यो । फ्रेन्चाइच माग्ने त झन् कति कति । उनी शाखा बढाउने योजनामा त थिए नै । तर, भित्रभित्रै अर्काे पनि योजना बुनिरहेका थिए । पाँचतारे स्टाइलको पार्टी भेन्यु ।

एलिस रेष्टुरेन्टमा आउने ग्राहक उच्च–मध्यमवर्गका थिए । नेपालमा सामान्य पार्टी प्यालेसमा जान नखोज्ने तर पाँचतारेमा पार्टी गर्न नसक्नेका लागि उनले ब्याङ्केट खोल्ने योजना बुनिरहेका थिए । त्यसका लागि पर्याप्त जग्गाको खोजीमा थिए । योजना बुन्दै गर्दा गैरीधाराको एलिसपछाडि नै उनले १६ रोपनी जग्गा भेट्टाए ।

डेढ वर्षअघिदेखि त्यही जग्गामा उनले १७ करोड लगानी गरेर नेपालकै सबैभन्दा ठूलो पार्टी भेन्यु निर्माण गरेका छन् । असोज १२ गते औपचारिक रुपमा सञ्चालनमा आउने पार्टी भेन्युको शेरचनले नाम दिएका छन्,– एलिस रिसेप्सन

‘एलिस रिसेप्सन पनि उच्च–मध्ययमवर्गलाई टार्गेट गरेर बनाइएको हो,’ शेरचनले भने । पाँचतारेको मेन्यु महँगो हुने, तर सुविधा कम हुने भएकाले पनि ग्राहकले विकल्प खोजिरहेका थिए । त्यही विकल्प दिन यसमा प्रवेश गरेको उनले बताए । ‘होटलसँग नाम चलेका कारण पाँचतारेका ब्याङ्केट चलिरहेका छन्, विकल्प नहुँदा कुर्नुपर्ने अवस्था पनि थियो,’ उनले भने, ‘अब हामी पाँचतारे सुविधासहित आएका छौं ।’

एलिस रिसेप्सनमा दुई सय कार अट्ने पार्किङ क्षमता छ । वरिपरिका रुखलाई जोगाएर निर्माण गरिएको भवनका बाहिरी र भित्री सजावट कलात्मक छ । शेरचन आफैं चीन पुगेर सजावटका सामान अर्डर गरेका थिए । भवनको बाहिरी भागमा मल्लकालीन इँट प्रयोग भएको छ । त्यही जग्गामा पुरानो दरबार भएका कारण त्यो भत्काउँदा निस्केका पाँच लाख इँटलाई शेरचनले ब्याङ्केट बनाउन प्रयोग गरे । फलस्वरुप भवनको बाहिरी भाग प्राचीन शैलीको देखिएको छ ।

ब्याङ्केटमा १५ सय जनालाई एकै पटक सेवा दिन सक्ने क्षमताको हलदेखि त्यहीँभित्र कार्यक्रम गर्नेका लागि बस्ने सुविधासहितको अपार्टमेन्ट पनि छ ।
शेरचनले पूर्वाधार बनाउँदा बनाउँदै बैङ्कमा तरलता अभाव भयो । तर, उनले ऋण लिएको एनआईसी एसिया बैङ्कले उनलाई पैसा रोकेन । त्यही कारण उनले समयमै पूर्वाधार निर्माण गर्न सकेका हुन् ।

एलिसको रेष्टुरेन्ट, ब्याङ्केटमा ठूलो लगानी गरेका शेरचनले अब चेन रुपमा एलिसलाई फैलाउँदै छन् । होटलमा पनि जाने योजना बुनिरहेका छन् । नयाँ अवधारणाको रेष्टुरेन्टमा पनि हात हाल्ने सोच रहेको शेरचन बताउँछन् । एलिसको सञ्जाल फैलिँदै छ ।

एलिस रिसेप्सनको बुकिङ खुला नगर्दै अहिले नै बुकिङ आइरहेको छ । हामीसँग उनले कुराकानी गरिरहँदा पनि मङ्सिर र माघका लागि बुकिङको सोधखोज भैरहेको थियो । शेरचन ‘असोज १२ गतेपछि मात्र बुकिङ खुला हुन्छ हजुर’ भन्दै फोनमा जवाफ फर्काउँदै थिए ।