अन्ततः नेपालकै दूध किन्ने सर्तसहित भित्रिँदै अमूल, नेपालका दुग्ध सहकारीसँग सहकार्य गर्ने

यसअघि भारतबाट दूध ल्याएर नेपालमा बजारीकरण गर्ने उद्देश्यसहित आउन लागेको अमूलको चौतर्फी विरोध भएपछि अमूलले आफ्नो रणनीति परिवर्तन गरेको हो ।

सहकारी मोडलबाट चलेर ख्याति कमाएको अमूलले नेपाली किसानले उत्पादन गरेको दूध किन्ने सर्तसहित नेपाल प्रवेश गर्ने भएको छ ।

यसअघि भारतबाट दूध ल्याएर नेपालमा बजारीकरण गर्ने उद्देश्यसहित आउन लागेको अमूलको चौतर्फी विरोध भएपछि अमूलले आफ्नो रणनीति परिवर्तन गरेको हो ।

‘किसानले उत्पादन गरेको दूध हामी हाम्रो कच्चा पदार्थका रुपमा खरिद गर्छौं,’ उद्योग मन्त्रालयमा पठाएको प्रतिवेदनमा भनिएको छ, ‘नेपालको दूधले हाम्रो माग धान्न सकेन वा दूध अभाव भएका बेला सरकारको अनुमति लिएर मात्रै भारतबाट दूध ल्याउने छौं ।’

अमूलले पेस गरेको प्रतिवेदनमा भनिएको छ,– हाम्रो पहिलो प्रथामिकता भनेको नेपालका किसान हुन् । उनीहरुले उत्पादन गरेको दूध किन्छौं, त्यति गर्दा पनि दूध अभाव भयो भने मात्रै भारतबाट दूध ल्याउने छौं ।

केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष नारायण देवकोटाले सहकारी मोडलबाट स्थापित भएको डेरी नेपालमा पनि सहकारीसँग सहकार्य गरे त्यसको स्वागत गर्ने बताए । ‘हामीसँग सहकार्य गरेर अघि बढे हामी स्वागत गर्न आतुर छौं,’ उनले भने, ‘तर, सहकारीको नाम मात्रै लिएर भारतबाट दूध ल्याउने रणनीति हो भने, त्यसमा हाम्रो विरोध हुन्छ ।’

अमूलको प्रविधि एकदमै राम्रो छ । त्यो प्रविधि नेपालमा भित्र्याउन सके नेपालका किसानको ठूलो हित हुने सङ्घले जनाएको छ । नेपाली डेरीले किसानलाई उपयुक्त मूल्य नदिने, दूध धेरै उत्पादन भएका बेला कम दूध किन्नेलगायत समस्या समाधान गर्न अमूलको आवश्यकता भएको सङ्घको बुझाइ छ ।

अहिले नेपाली किसानले सहकारीमार्फत् दैनिक ८ लाख लिटर दूध सङ्कलन गर्दै आएका छन् । उक्त परिमाणको दूध अमूलका लागि केही पनि नभएको देवकोटाले जानकारी दिए ।

अमूल जस्तो ठूलो कम्पनी नेपाल भित्रिँदा नेपालमा व्यावसायिक पशुपालन फस्टाउने किसानको भनाइ छ । डेरी उद्योगको कार्टेलिङबाट पिल्सिएका किसानलाई अमूलको प्रवेशले ठूलो राहत मिल्ने देवकोटा बताउँछन् ।