स्टक क्लियरेन्स मेलामा दसैको सामान किन्नेको भिड, सस्तोमा प्रतिस्पर्धा

दसैंमा एकै छानामुनी सामान किन्न आउनेहरुको भिड भृकुटीमण्डपस्थित स्टक क्लियरेन्स एक्स्पोमा देखिएको छ । नजिकिँदै गरेको दसैलाई लक्षित गरी सुरु गरिएको मेलामा उपभोग्य वस्तुका साथै लत्ता कपडा लगायतका वस्तुको खरिदमा आकर्षक छुट समेत पाइने भएकाले भिड बढेको हो ।

दशैंका लागि सामग्री किन्न कता जाने भन्ने योजना बनाउनेहरुलाई एक्स्पोको आयोजकले एकै स्थानमा सुपथ मूल्यमा सामान उपलब्ध गराउन मेला आयोजना गरेको हो । मेलामा पहिलो दिनदेखि नै सामान किन्न आउनेहरुको बाक्लो उपस्थिती देखिएको हो । २ दिनसम्ममा २५ हजार बढीले मेला भ्रमण गरेका छन् ।

राजधानीका साथै आसपासका उपभोक्तालाई लक्षित गर्दै स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवाका ७२ वटा प्रदर्शनी तथा बिक्री केन्द्र मेलामा राखिएको छ ।

चाडपर्वका समयमा आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहज हुने विश्वास चेम्बर अफ कमर्शले लिएको छ । दोस्रो संस्करणका रुपमा आयोजना भएको मेला ‘दशैंको बेला सस्तो मेला’ भन्ने नारा सहित आयोजना गरिएको हो ।

‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ । नेपाल, भारत तथा बंगलादेश लगायत मुलुकका व्यवसायीहरु मेलामा सहभागि छन् । मेला असोज १५ गतेसम्म चल्ने छ ।