कम मूल्यमा सीधै नेपाल बैङ्कको एफपीओ बेचेको आशङ्कामा प्रत्याभूतिकर्तालाई धितोपत्र बोर्डको स्पष्टीकरण

मर्चेन्ट बैङ्करहरुले प्रतिकित्ता २ सय ८० रुपैयाँ पर्ने एफपीओ सो मूल्यभन्दा कम मूल्यमै सीधै लगानीकर्तालाई बिक्री गरेको बोर्डको अनुमान छ ।

नेपाल धितोपत्र बोर्डले नेपाल बैङ्कको थप प्राथमिक निस्कासन (एफपीओ) प्रत्याभूतिकर्ता (अन्डरराइटर)लाई एफपीओ बाँडफाँटको प्रक्रियाबारे स्पष्टीकरण सोधेको छ ।

बोर्डले नेपाल बैङ्कको एफपीओ प्रत्याभूति गरेका आठ अन्डरराइटर मर्चेन्ट बैङ्कहरुलाई स्पष्टीकरण सोधेको छ । बैङ्कको नबिकेको एफपीओ खरिद गरेका मर्चेन्ट बैङ्कहरुले तोकिएको मूल्यभन्दा कम मूल्यमा एफपीओ सीधै लगानीकर्तालाई बेचेको बोर्डको आशङ्का छ । तर, बोर्डले आफ्नो आशङ्कालाई नदेखाईकन बाँडफाँट प्रक्रिया र खरिद गरेको सेयर संरचनाबारे प्रश्न गरेको हो । स्रोतका अनुसार मर्चेन्ट बैङ्करहरुले प्रतिकित्ता २ सय ८० रुपैयाँ पर्ने एफपीओ सो मूल्यभन्दा कम मूल्यमै सीधै लगानीकर्तालाई बिक्री गरेको बोर्डको अनुमान छ ।

‘मर्चेन्ट बैंकरहरुले प्रत्याभूति गरेको सेयर आफ्नो नाममा ल्याएर मात्रै बजार पठाउन सक्छ,’ बोर्ड स्रोतले भन्यो, ‘तर, यहाँ त आफ्नो नाममा नल्याई सीधै बेचेको भन्ने आइरहेको छ ।’ बोर्डले मर्चेन्ट बैङ्कहरुलाई पत्र लेख्दै भनेको छ, ‘नेपाल बैङ्कको नबिकेको एफपीओ कसरी र कुन आधारमा बाँडफाँट गरिएको हो, त्यसको जानकारी बोर्डलाई छिटोभन्दा छिटो गराउनुहोस् ।’ नियमविपरीत कारोबार गरेको पाइए मर्चेन्ट बैंकरहरुलाई बोर्डले कारबाही गर्न सक्नेछ ।

बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नीरज गिरीले मर्चेन्ट बैङ्कले एफपीओ खरिद आधार र परिणामबारे जानकारी माग गरिएको बताए । ‘सम्पूर्ण प्रत्याभूतिकर्ताले कुन आधारमा रहेर एफपीओ बाँडफाँट गरेका छन्, त्यसको जानकारी मागिएको हो,’ उनले भने, ‘त्यसबारे बोर्डमा केही सूचनाहरु आईपुगेकाले हामीले त्यसबारे अध्ययन गरिरहेका छौं ।’

नेपाल बैङ्कले १ सय रुपैयाँ अङ्कित मूल्यमा १ सय ८० रुपैयाँ थप मूल्य (प्रिमियम) थपेर प्रतिकित्ता २ सय ८० रुपैयाँका दरले सर्वसाधारणमा १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयर बिक्री खुला गरेकोमा ९३ लाख ७५ हजार ७ सय ५० कित्ता सेयरमा मात्र सर्वसाधारणबाट आवेदन परेको थियो । त्यसैअनुरुप साउन २० गते बाँडफाँट गरेको थियो । त्यस अवसरमा सर्वसाधारणले खरिद नगरेको बाँकी सेयर प्रत्याभूतिकर्ता मर्चेन्ट बैंकहरुले लिने पूर्व सहमतिअनुरुप खरिद गरेका थिए ।

कम्पनीको नबिकेको एफपीओ ग्लोबल आइएमई क्यापिटल, एनआइबीएल एस क्यापिटल, सिभिल क्यापिटल, सीबीआईएल क्यापिटल, सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैङ्कले उठाएका थिए ।