उद्योगी/व्यापारीले उपभोक्ताको ढाड सेकिने गरी बढाएको मूल्य तत्काल घटाउन माग गरेका हुन् । संसदको लेखा समितिको बैठकमा बोल्दै सभासदहरुले सरकारको लाचारीपनको कारण चिनी उद्योगीले आफूखुसी मूल्य बढाएको आरोप लगाएका छन् ।
दसैं तिहारको मुखमा उद्योगीहरुले एक्लौटी रुपमा चिनीको मूल्य वृद्धि गरेको भन्दै सांसदहरु आक्रोशित भएका छन् । उद्योगी/व्यापारीले उपभोक्ताको ढाड सेकिने गरी बढाएको मूल्य तत्काल घटाउन माग गरेका हुन् । संसदको लेखा समितिको बैठकमा बोल्दै सभासदहरुले सरकारको लाचारीपनको कारण चिनी उद्योगीले आफूखुसी मूल्य बढाएको आरोप लगाएका छन् ।
सभासद हृदयश त्रिपाठीले चिनी उद्योगीले किसानलाई पहिलादेखि नै चुना लगाएको र अहिले आएर सरकारलाई पनि धोका दिएको बताए । ‘केही महिनाअघि प्रतिकिलो ५२÷५३ रुपैयाँमा चिनी पाइने गरिएको थियो,’ सभासद त्रिपाठीले भने, ‘अहिले आएर एक्कासि ६५ रुपैयाँ कसरी पुग्यो ? यसमा बिचौलीयाको ठूलो चलखेल छ, सरकारले छानबिन गरी कार्बाही गरोस् ।’ उनले उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनप्रति लक्षित गर्दै भने, ‘बजारमा चिनीको मूल्य तपाईंले भनेजस्तो छैन, तपाईंकी श्रीमतीलाई किन्न बजार पठाउनुस्, अनि थाहा हुन्छ कति रैछ भन्ने ।’
अर्का सभासद विरोध खतिवडाले उद्योगीले नै निर्धारण गरेको मूल्यमा हामीले किन्नु पर्ने बाध्यता बनाएकोप्रति आपत्ति जनाएका छन् । उनले उद्योगलाई ३० प्रतिशत अनुदान दिँदा पनि जनताले सुपथ मूल्यमा चिनी नपाएको भन्दै प्रभावकारी अनुगमन गर्न आवश्यक रहेको बताए ।
यस्तै सभासद लेखराज भट्टले १ अर्ब ६९ करोड रुपैयाँको चलखेलमा चिनीको मूल्य बढाइएको बताएका छन् । नेपालमा कति चिनी चाहिन्छ भन्ने निश्चित डाटा नै नभएको बताउँदै उनले हचुवाका भरमा सरकार र बिचौलीयाको साँठगाँठमा बढाइएको मूल्य तत्काल घटाउनु पर्ने माग राखेका छन् । धेरै चिनी उद्योगले भारतबाट सस्तो र कमगुणस्तरको चिनी ल्याएर नेपाली उद्योगको लोगो टाँसेर बजारमा पठाउने गरेको प्रमाण आफूसँग रहेको सभासद भट्टको भनाइ छ ।
सभासद विशाल भट्टराईले चिनी उद्योगीले चिनी उत्पादन गरेको छ कि छैन भन्नेमै आशङ्का रहेको बताएका छन् । ‘अधिकांश चिनी उद्योग बोर्डरको नजिकै छन्,’ सभासद भट्टराईले भने, ‘नेपालमा उद्योग खोलेर भारतबाट गुणस्तरहीन चिनी ल्याएर बेच्ने गरेका छन्, त्यसको अनुगमन गर्न आवश्यक छ ।’
अर्का सभासद सूर्य पाठकले सरकारसँग उद्योगी व्यापारी झुक्नु पर्नेमा, उद्योगीहरुसँग सरकार झुकेर चिनीको मूल्य घटाउन बिन्ती गर्नुपर्ने अवस्था आएकोप्रति आपत्ति जनाए । उद्योगीसँग सरकार झुक्नु पर्ने बाध्यता सरकारी कर्मचारीको स्वार्थका कारण भएको बताउँदै उनले यसको अन्त्य नभएसम्म उपभोक्ताले राहत नपाउने बताए ।
यस्तै सभासद प्रेमबहादुर आलेले भारतबाट चिनी आयात रोक्न नहुने बताए । भारतबाट सरकारले आयात रोके पनि व्यापारीहरुले भित्रभित्रै चिनी ल्याएर बेच्ने गरेको उनको भनाइ छ । सरकारले एकातिर चिनीको आयात रोक्ने र अर्कोतिर व्यवसायीले मनलाग्दी तरिकाले मूल्य बढाएर जनताको ढाड सेकिरहेको बताए ।
यसैबीच वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले प्रतिकिलो ७० रुपैयाँभन्दा बढी नबढ्ने बताएका छन् । लेखा समितिमा चिनीको मूल्यवृद्धिका विषयमा जानकारी गराउँदै महानिर्देशक गौचनले उद्योगीहरुले भ्याटबाहेक ५७ रुपैयाँ ५० पैसामा बिक्री गर्ने निर्णय गरेको बताउँदै १३ प्रतिशत भ्याट जोड्दा उद्योगमै प्रतिकिलो ६४ रुपैयाँ ९७ पैसा पर्ने बताए । उद्योगबाट ढुवानी खर्चसहित समायोजन गर्दा दुर्गम क्षेत्रमा ७० रुपैयाँभन्दा बढी मूल्य नपर्ने गौचनको भनाइ छ ।