पाँच वर्षका लागि लिजमा लिएको होटलमा हालसम्म २५ लाख रुपैयाँभन्दा बढी लगानी भएको छ । ७५ जनाको क्षमता रहेको रेस्टुराँमा प्रतिस्पर्धी टिमको खेल हुँदा ९० जनासम्म हुने गरेका छन् । लाइभ म्युजिकले पनि ग्राहकलाई तानेको छ ।
मुलुकको अर्थतन्त्र रेमिट्यान्सले चलायमान बनाएको भए पनि विदेशमा अध्ययन गरेर स्वदेश फर्कन चाहने युवा पनि कम छैनन् । तिनमा आफै केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको देखिन्छ । माइतीघरस्थित ट्रान्जिट नामक रेस्टुराँ तीन युवा, जसले इन्जिनियरिङ र सूचना प्रविधि अध्ययन गरे, तर रेस्टुराँ सञ्चालनमा आकर्षित भए ।
जेजस्तो होस् अहिले राजधानीमा रेस्टुराँ खुल्ने क्रम निकै बढेको छ । रेस्टुराँमा आकर्षित हुँदै गएको लगानीले कम्तीमा स्वदेशमै रोजगारी सिर्जना हुन पुगेको छ । प्रदीप मैनाली र श्याम केसी इन्जिनियरिङका विद्यार्थी हुन् भने सृजन सिलवाल इलेक्ट्रोनिक इन्जिनियर । यी युवाले चार महिनादेखि माइतीघर हाइटमा सेन्ट जेभियर्स कलेजसँगै रहेको ट्रान्जिट काठमाडौं नामको रेस्टुराँ सञ्चालन गर्दै आएका छन् । नयाँ बानेश्वर जाने बाटोको दायाँतर्फ माइतीघर हाइटमा रहेको ‘ट्रान्जिट काठमाडौँ’ स्पोर्ट्स बारका रुपमा स्थापित हुँदै गएको छ । चार महिनाको छोटो अवधिमै ग्राहकबाट पाएको हौसलाले तीन युवालाई थप ऊर्जा मिलेको छ । झट्ट हेर्दा सामान्य र सानो लागे पनि रेस्टुराँभित्र पस्नासाथ त्यसको सेटअप नै आकर्षित लाग्छ । त्यसमा पनि लाइभ म्युजिक र ओपन माइकले त्यहाँ जाने जोकोहीलाई पटकपटक जान प्रेरित गरिरहन्छ ।
लामो समय अस्ट्रेलिया र बेलायत बसेका रेस्टुराँका कार्यकारी निर्देशक प्रदीपले विदेशमा पब रेस्टुरेन्ट देखेका थिए । जब नेपाल फर्किए, उनले विदेशमा देखेको पब रेस्टुरेन्टको स्कोप नेपालमा पनि देखे । ‘देखेर मात्रै हुँदैन लेखेको हुनुपर्छ’ भन्ने नेपाली उखानजस्तै उनका दुई साथीले उनलाई बलियो साथ दिए । ठट्टैठट्टामा रेस्टुराँ सञ्चालन गरेका उनीहरु हाल कामबाट खुसी मात्र छैनन्, पब रेस्टुराँको स्वाद खोजिरहेका ग्राहकको इच्छा पनि पूरा गर्दै आएका छन् ।
मैनालीको जन्मदिन मनाउन उनीहरु ४ महिनाअघि सोही रेस्टुराँमा पुगेका थिए । त्यसबखत सञ्चालकले होटल लिजमा दिन लागेको बताए । मैनालीका साथी सिलवालले जोकजस्तै गरी आफूहरुलाई लिजमा दिन होटल सञ्चालकलाई भने । होटल सञ्चालक तत्काल राजी भए । सञ्चालकले होटल लिजमा दिने भनेपछि यी दुईले चलाउने मनसाय बनाए र अर्का केसीलाई पनि समावेश गराउने योजना बुने । उक्त दिनको घटनाले साँच्चिकै उनीहरुलाई रेस्टुराँ मालिक बनायो ।
सुरुमा स्पोटर््स थिमबाट चलाइएको रेस्टुराँ लेडिज नाइट्स, मिन्स नाइट्स हुँदै बियर बार बनाउन खोजिरहेको कार्यकारी निर्देशक मैनाली बताउँछन् । ‘बार र पप विथ स्पोर्ट्समा रेस्टुराँलाई विस्तार गर्दै लैजाने योजना छ,’ उनी भन्छन् । बाहिर गएर आएकालाई स्वदेशमै केही गर्न मन लाग्ने र पहिलो अप्सनका रुपमा रेस्टुराँ नै चलाउन चाहने युवा धेरै रहेको उनको बुझाइ छ । ‘यसमा प्रतिस्पर्धा छ, चुनौती पनि छ, चुनौती मोल्न मन लागेरै रेस्टुराँमा लागेको हो,’ मैनाली भन्छन्, ‘साझेदारसँग कुरा मिलेपछि काम सुरु गरियो ।’ तीन युवाले जिम्मेवारी पनि बाँडेर लिएका छन् । सिलवाल पार्टटाइम हेर्छन् भने केसी ‘फुल टाइम’ ।
सुरुमा प्यानफ्राइड चिकेन र चिकेन आलाकिभको प्रवद्र्धन गर्न खाजेका थिए । तर ग्राहकले बिरयानी अति मन पराएको मैनाली बताउँछन् । ‘बिरयानी नै मेन फुडजस्तो भएको छ,’ उनी भन्छन्, ‘विभिन्न कार्यालयदेखि सामाजिक सञ्जालमा पनि ट्रान्जिटको बिरयानीको प्रमोट भइरहेको छ ।’ मटन परिकार भए पनि ग्राहकले चिकेन बढी मन पराएको उनी बताउँछन् । चिकेन, मटनका परिकार मात्रै होइन, शाकाहारीका लागि मुस्ताङको आलु सबैभन्दा बढी चलेको छ ।
७५ जनाको क्षमता रहेको रेस्टुराँमा प्रतिस्पर्धी टिमको खेल हुँदा ९० जनासम्म हुने गरेका छन् । लाइभ म्युजिकले पनि ग्राहकलाई तानेको मैनाली बताउँछन् । ‘सुरुमा लाइभ म्युजिक मात्रै थियो,’ उनी भन्छन्, ‘अहिले ओपन म्युजिक पनि छ । यसबाट ‘हिडन ट्यालेन्ट’ले प्रमोट हुने मौका पनि पाइरहेको छ ।’ लाइभ म्युजिकमा जोवन भुजु र आविष्कार आउने गरेको उनले जानकारी दिए । ट्रान्जिटका सेफको त कुरै अर्को छ । १२ वर्षदेखि किचन सम्हाल्दै आएका सेफ राजकुमार लामाले रेस्टुराँका ग्राहकलाई स्वादिष्ट र गुणस्तरीय खाना खुवाउँदै आएका छन् ।
ट्रान्जिटमा ग्राहक आउनुको मुख्य कारणमा मीठो खाने कुरा नै रहेको मैनाली बताउँछन् । ‘वास्तवमै हाम्रो ध्यान खाने कुराबाट ग्राहकलाई आकर्षित गर्नुपर्छ भन्नेमै केन्द्रित छ,’ उनी भन्छन्, ‘यस्तो स्वादका खाने कुरा सायदै अन्यत्र पाइएला ।’ हरेक शुक्रबार ओपन माइक राखिने हुनाले ग्राहकले आफ्नो प्रतिभासमेत देखाउने गरेको मैनाली बताउँछन् । खाना मीठो मात्र होइन, मूल्य पनि अफोर्डेबल छ । यी युवालाई तत्काल नाफा चाहिएको छैन, हबीको रुपमा विकास गर्दै लैजाने तिनको चाहना छ ।
पर्याप्त पार्किङ हुँदाहुँदै पनि ग्राहकलाई बुझाउन कठिन देखिन्छ । किनकि, रेस्टुराँको पछाडि पार्किङस्थल छ । ग्राहकलाई यो कुरा बुझाउन गाह्रो परेको छ । ‘२०–२५ ओटा गाडी अट्ने पार्किङ छ,’ मैनाली भन्छन्, ‘तर के गर्नु पछाडितिर भएकाले ग्राहकलाई जानकारी दिन गाह्रो परेको छ ।’ त्यति मात्र होइन ट्रान्जिटमा खान जाने ग्राहकले आफ्नो सवारीसाधन पार्किङ गर्न बबरमहलस्थित आर्ट काउन्सिलको पछाडितिरबाट माइतीघर हाइटमा जानुपर्छ । नराम्रो कसैले भनेका छैनन्, त्योभन्दा पनि ठूलो कुरा एक पटक आएका मान्छे पटकपटक आउने गरेका छन् । होटल सम्बन्धका आधारमा चल्छ भनेको सुन्थे । तर तपार्इंले दिने सेवा, गुणस्तर र मूल्यले चल्ने रहेछ, यी सबै हाम्रोमा राम्रो छ ।
पाँच वर्षका लागि लिजमा लिएको होटलमा हालसम्म २५ लाख रुपैयाँभन्दा बढी लगानी भएको छ । ‘लगानी थप्दै छिट्टै स्टार होटलको जस्तो सेवा दिने योजना छ,’ मैनाली भन्छन्, ‘हामीलाई रेस्टुराँ सञ्चालनका साथै थप प्रगति गर्न एयरपोर्ट होटलका सञ्चालक विनायक शाहले सल्लाह–सुझाव दिँदै आएका छन् ।’ रेस्टुराँलाई ‘बियर बार’ बनाउने योजना पनि उनीहरुको छ । अहिले २५ ओटा विभिन्न ब्रान्डका स्वदेशी एवम् विदेशी बियर उपलब्ध छ । छिट्टै ५० ओटा ब्रान्डको बियर राख्ने योजना रहेको उनी बताउँछन् । ग्लास समाउन होस् या प्लेट उचाल्न धेरै प्रकारले ट्रान्जिट उपयुक्त गन्तव्य हुन सक्छ ।
प्यान फ्राइड चिकेन ३९५
चिकेन आलाकिभ ३९५
चिकेन बिरयानी ३७५
ठेगाना : माइतीघर मण्डलनजिकै
फोन नं. ९८४१२९१३०१