सरकार र उद्योगीबीच भएको सहमतिमा भ्याटबाहेक उद्योगबाट ५७ रुपैयाँ ५० पैसामा बिक्री गर्ने र ६३ रुपैयाँसम्ममा खुद्रा व्यापार गर्ने सहमति भएको थियो ।
चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम गर्न व्यवस्थापिका संसदको लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । लेखा समितिका सदस्य हृदयश त्रिपाठीले सरकार र चिनी उद्योगीबीच भएको सहमति अनुसार नै ६३ रुपैयाँमा चिनी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको बताए ।
सरकार र उद्योगीबीच भएको सहमतिमा भ्याटबाहेक उद्योगबाट ५७ रुपैयाँ ५० पैसामा बिक्री गर्ने र ६३ रुपैयाँसम्ममा खुद्रा व्यापार गर्ने सहमति भएको थियो ।
केही समयअघि बसेको समितिको बैठकले सरकारलाई चिनीको मूल्य बजारमा आकाशिएको बताउँदै अनुगमनलाई तीव्र पार्न र मूल्य घटाउन निर्देशन दिएको थियो । समितिको निर्देशनलाई बेवास्ता गरेको भन्दै बिहीबार पुनः बैठक बसी चिनीको मूल्य निर्धारण गरेको हो ।
यस्तै चिनीको मूल्य बृद्धिको विषयमा छानबिन गर्न लेखा समितिका सदस्य लेखराज भट्टको संयोजकत्वमा ५ सदस्यीय छानबिन उपसमिति बनाइएको छ । समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने छ ।
यसैबीच सरकारले बुधबार चिनीको अधिकतम खुद्रा मूल्य ७० रुपैयाँ निर्धारण गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवसहितको बैठकले चिनीको अधिकतम मूल्य ७० रुपैयाँ निर्धारण गरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले जानकारी दिए ।