किसानसामू कृषि मन्त्रीको प्रतिवद्धता ‘तपाई नमूना जिल्ला बनाउन लाग्नुहोस्, बजेट अभाव हुन दिन्न’

‘जुनारसँगै किबी र कागती लगाऔं’ खनालले भने, ‘समग्र सिन्धुलीलाई कृषिको एउटा नमुना जिल्ला बनाऔं । त्यस्का लागि सरकारले बजेटमा कुनै कमी हुन दिने छैन ।’

सिन्धुली । कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले सिन्धुलीको जुनारलाई ब्रान्डिङ गर्न पहल गर्ने बताएका छन् । विश्व बजारमा सिन्धुलीको जुनारलाई बजारीकरण र अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्ड स्थापित गराउन आफूले सकेको प्रयास गर्ने बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ४ तीनकन्यामा भएको जुनार सुपरजोनको अनुदान कार्यक्रम तथा निर्मित सिँचाई योजना उद्घाटन गर्दै मन्त्री खनालले सरकारले जुनारको उत्पादन र विस्तारमा जोड दिने उनले बताए ।

उनले जुनारको संरक्षण र प्रवद्र्धन गरी त्यसको विस्तारमा जोड दिनुपर्ने बताए । जुनारमा रोग तथा किरा लाग्ने संक्रमण देखिएको प्रति आफू चिन्तित र सशंकित भएको भन्दै उनले किरा नियन्त्रणका लागि सरकराले सक्दो पहल गर्ने बताए । आधुनिक र प्राविधिक रुपले कृषि विकास गर्नुपर्ने भन्दै मन्त्री खनालले सरकारले कृषिलाई सम्मानित र मर्यादित पेशाको रुपमा कार्यक्रम बनाउनु पर्नेमा जोड दिए ।

जुनारको व्यावसायिक उत्पादन र विस्तार गर्दै अन्य कृषि उपजको उत्पादनमा पनि जोड दिन उनले किसानलाई आग्रह गरे । ‘जुनारसँगै किबी र कागती लगाऔं’ खनालले भने, ‘समग्र सिन्धुलीलाई कृषिको एउटा नमुना जिल्ला बनाऔं । त्यस्का लागि सरकारले बजेटमा कुनै कमी हुन दिने छैन ।’ जुनार किसानले उठाएका समस्या समाधान गर्न आफू लागि परेको भन्दै मन्त्री खनालले फर्केर काठमाडौं गएपछि प्रधानमन्त्रीसँग सुपरजोनका लागि आवश्यक पर्ने बजेट थप गर्न आग्रह गर्ने उनले आश्वासन दिए ।

कार्यक्रममा पूर्वकृषि मन्त्री हरिबोल गजुरेलले सुपरजोनका लागि आएकोे बजेट अभाव नभएकाले त्यसको सदुपयोग हुन्छ कि हुदैन भन्ने कुरा महत्वपूर्ण हुने बताए । विनियोजन भएको बजेटको सदुपयोग नभए कुनै पनि परियोजनाको लक्ष्य पूरा नहुने उनको भनाई थियो । किरा नियन्त्रण नभएसम्म जुनार परियोजनाले यहाँका किसानले लिने लाभ लिन नसक्ने गजुरेलको भनाई छ ।

जुनार सुपरजोन परियोजनाका उपसंयोजक लोकबहादुर आलेले किसानको दुख बुझ्ने सरकार आएकाले आम किसानको अपेक्षा बढेको बताए । सुपरजोन परियोजनाका प्रमुख ललनकुमार सिंहले परियोजनाको आयव्यय प्रस्तुत गरेका थिए ।  उनका अनुसार ४ हजार हेक्टर क्षेत्रफलमा सिन्धुलीको तीनकन्यामा १ हजार ६ सय किसानले जुनार खेती गरिरहेका छन् । किसानले जुनार खेतीबाट प्रतिरोपनी १५ देखि २५ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्दै आएका छन् ।