राष्ट्रिय योजना आयोगले देशभर विद्युतीय सवारी चलाउने दीर्घकालीन लक्ष्यअनुसार विद्युतीय कार सञ्चालनमा ल्याएको छ । शुक्रबार आयोग उपाध्यक्ष स्वर्णिम वाग्ले चढ्ने प्रयोजनका लागि बीआईडी ई ६ नाम दिइएको विद्युतीय कार प्रयोगमा ल्याइएको छ । चीनको बीवाईडी कम्पनीको आधिकारिक बिक्रेता सिमेक्स इन्कले केही समयदेखि यो कार नेपाली बजारमा बिक्री गर्दै आएको छ । उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा धुलो धूवाँले प्रदूषण भई मानव स्वास्थ्यमा असर गरिरहेको र पेट्रोलियम पदार्थको बढ्दो आयातले मुलुकको अर्थतन्त्रमा गम्भिर प्रकृतिका असर देखिने थालेका बहस भइरहेका बेला सरकारले विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिएको हो । उपाध्यक्ष वाग्लेले नयाँ गाडी किन्यो भन्दा पनि विद्युतीय सवारी चलाउनुपर्छ भन्ने मान्यताले काम गरेको र नीतिगत व्यवस्था गरेर कार्यान्वयन गर्दा सबैमा नैतिक दबाब पर्ने बताए । सरकारी कार्यालयले किन्ने दुई सवारीमध्ये एउटा विद्युतीय हुनुपर्ने उनले बताए । आयोगले खरिद गरेको विद्युतीय सवारी यसअघि प्रतिनिधिसभाका सदस्यद्वय गगन थापा, रवीन्द्र अधिकारी, आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेल तथा पूर्वसचिव रामेश्वर खनाललगायतले प्रयोग गर्दै आएका थिए । करिब ५२ लाख रुपैयाँ पर्ने कार एक पटक चार्ज गरेपछि ४ सय किलोमिटर गुड्न सक्छ । उक्त अवसरमा विगत १२ वर्षदेखि विद्युतीय सवारी प्रयोग गर्दै आएका पत्रकार कुन्द दीक्षितले वातावरणमा शुद्धता ल्याउन विद्युतीय सवारीको आवश्यकतामा जोड दिए । नेपालमा १९९३ देखि विद्युतीय सवारी प्रयोगमा आए पनि प्रभावकारी हुन सकिरहेको छैन ।